|

काठमाडौं : नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार असफल भएको दाबी गरेको छ। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले नक्कली हत्यारा खडा गरेर वास्तविक अपराधीलाई लुकाउन खोजेको आरोप लगाएको हो।

‘गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारालाई सरकारले उन्मुक्ति दिन खोज्दैछ’, संघकी महासचिव तथा राष्ट्रियसभा सदस्य धना खतिवडाले भनिन्,‘पटक-पटक नक्कली अभियुक्त खडा गरेर सरकारले असली हत्यारालाई जोगाउन लागेको छ। यस्तो घृणित र खेदजनक कार्यप्रति नेपाल महिला संघ घोर भत्सना गर्दछ।’

निर्मलाको  हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा समेत मागिन्। निर्मला पन्तको हत्या सामान्य खानदानको व्यक्तिले नगरेको पनि उनको दाबी छ।

‘निर्मलाको हत्या सामान्य खानदानको मान्छेले गरेको होइन भन्ने कुरा आम नागरिकले महसुस गरिसकेका छन्’, खतिवडाले भनिन्, ‘अहिले खडा गरिएका अभियुक्तका बयान र निर्मला पन्तको पोष्टमार्टम रिपोर्टले फरक सत्य बताएको छ। यस्तो नाटक गरेर जनता र गरिबमाथि दुई/तिहाई नेकपाको सरकारले खेलबाड गरिहेको छ। के यसरी समृद्ध र सुखी नेपाली बन्छन्?’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.