|

सिमकोटः हुम्लाका अधिकांश गाउँपालिकाका स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ। मौसम परिवर्तन भएसँगै रुघाखोकी, निमोनिया, दमलगायत रोगका विरामीहरू बढिरहेको भए पनि स्वास्थ्य चौकीहरूमा औषधि छैन। स्वास्थ्यकर्मीहरू पनि छैनन्। कार्यालय सहयोगीहरूले स्वास्थ्य संस्था संञ्चालन गरिरहेका छन्।
सरकारले तोकेका मापदण्ड अनुसार स्थानीय निकायले औषधि खरिद गर्न नसकेपछि गाउँपालिकामा रहेको स्वाथ्य चौकीमा औषधिको अभाव देखिएको हो। औषधि खरिद गर्नका लागि गाउँपालिकाले आवश्यक रकम उपलब्ध गराउन नसक्दा  वडामा रहेका स्वाथ्य चौकीमा औषधि अभाव भएको  सर्केगाढ स्वाथ्य चौकी इन्चार्ज सन्तोष धामीले बताए। 

गत आर्थिक बर्षमा ८ लाख रकम खर्चिएर ६ वटा स्वास्थ्य चौकीलाई लागि औषधि खरिद भएको उनले बताए। अहिले पनि १० लाख बढीको औषधि खरिद गरिएको तर ढुवानीमा ढिलाइ भएको बताए। 

उता सर्केगाढ गाउँपलिका वडा नं ३ कै रिप स्वाथ्य चौकी इन्चार्ज सन्तोष बमका अनुसार स्थानीय तहमा हस्तान्तरण हुनुभन्दा अघि औषधि समयमै आउने गरेको थियो र  काम गर्न पनि सजिलो भएको थियो। तर  गाउँपालिकामा आइसके पछि आफूलाई अन्योलता भएको उनले बताए।

आजभोलि रुघाखोकीदेखि दमका विरामी बढी आउने भएपनि औषधीको नाममा  सिटामोलसमेत नभएको इन्चार्ज बमले जानकारी दिए। हरेक दिन ८ देखि १० जनासम्म विभिन्न रोगका विरामी आएपनि उनीहरूलाई जाँचेर खाली हात पठाउनु परेको उनले बताए। एन्टीवायोटिकबाहेक प्रथामिक उपचारका समान पनि केही नभएको उनले बताए।

स्थानीय तहमा हस्तान्तरण भइसकेपछि सम्बन्धित गाउँपालिकाले  समस्याको जिम्मेवारी लिनुपर्ने वडा अध्यक्ष बिषे महतराले बताए। अहिले गाउँपालिका भित्रैका अध्यक्ष, कार्यकारी, प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजकले नै सबै वडाको जिम्मेवारी लिनु पर्नेमा वेवास्ता गरेको बताएका छन्। धेरैजसो स्वाथ्यकर्मी स्वाथ्य चौकीमा आउनै छोडका छन्। 

औषधि समयमा नआउँदा अधिकांश गाउँमा रहेका स्वाथ्य चौकीमा  समस्या  भएको र अन्य केही वडामा वडापालिकाकै रकमले औषधी खरिद गरेका छन्। तर स्वाथ्य चौकीमा स्वाथ्यकर्मीसमेत नहुँदा समस्या भएको स्थानीय वासिन्दा राजेन्द्र कार्कीले बताए।

सर्केगाढ गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा ४३ जना कर्मचारीमा प्रयाजसो पियनकै भरमा स्वाथ्य चौकी  संचालनमा छन्। उता नजिकै जोडिएको चंखेली गाउँपालिकामा औषधि अभाव भएको छ। गाउँपालिकाले औषधि खरिद नगरेपछि यहाँका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो ।
स्वास्थ्य संस्थामा औषधिको अभाव चुलिएको स्वास्थ्यकर्मीको भनाइ छ। जिल्लाबाट औषधि आउने हुँदा पहिले पनि औषधि अभाव हुन्थ्यो तर अहिले सबै अधिकार गाउँपालिकामै आए पनि झनै अभाव भएको मेल्छाम स्वास्थ्य चौकीका स्वाथ्यकर्मी हर्क बुढाले बताए। 

उधारोमै  सुत्केरी भत्ता
प्रसुति गृहमा बच्चा जन्माउने सुत्केरी आमालाई दिइने सुत्केरी भत्ताको बजेट अपुग भएको भन्दै त्यो पनि उधारोमा राखिएको छ। बर्थिङ सेन्टरमा बच्चा जन्माउँदा सुत्केरी आमालाई एक हजार पाँच सय रुपैयाँ सुत्केरी भत्ता दिने  सरकारले व्यवस्था गरेको छ । तर गएको साउन महिना यता हुम्लाका सुत्केरी आमाहरूले भत्ता पाएका छैनन्। 

 बजेट अपुग आएकोले सबै सुत्केरीलाई दिन नसकिएको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बताए । ‘माथि बाटै बजेट अपुग आएको हुनाले सुत्केरी भत्ता उधारो राखेका छौँ र पछि  आएपछि वितरण गर्छौं,’ धामीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.