|

जनकपुरधाम : विवाह पञ्चमीको अन्तिम दिन बिहीबार जानकी मन्दिरको प्रांगणमा विशेष भण्डारा (भोज)को आयोजना गरिएको छ। पौराणिक मान्यताअनुसार रामकलेवामा विवाहमा जन्तीका रूपमा आएका पाहुनालाई विभिन्न परिकार तथा मिष्ठान भोजन गराउने गरिन्छ। भोजनपश्चात् साधुसन्त तथा महन्तलाई उपहारस्वरूप कम्बल तथा दक्षिणाको रूपमा नगद दिएर विधिवत रूपमा बिदाई गरिएको छ।

‘खुब खाऊ यौ दुलहा

खुब मोटाऊ यौ दुलहा

अप्पन चोकटल चोकटल

गालके फुलाऊ यौ दुलहा...’

यसको अर्थ हुन्छ (राम्ररी खानु अनि मोटाउनु सँगै आफ्नो चेप्टिएको गाला फुलाउनु)। यस्तै सुमधुर लोक गीत संगीतबीच प्रत्येक वर्ष जनकपुरमा मनाइने राम-जानकी विवाह पञ्चमीअन्तर्गत रामकलेवासँगै विधिवत रूपमा महोत्सव सम्पन्न भएको छ। ऐतिहासिक, धार्मिक, समाजिक तथा सांस्कृतिक महत्त्व बोकेको सप्ताहव्यापी रामजानकी विवाह पञ्चमी महोत्सवमा रामकलेवामा जन्तीसँगै आएका साधु सन्त तथा महन्तलाई मिथिला भोजन तथा दान र दक्षिणा दिएपछि विधिवत रूपमा सम्पन्न भएको हो।

यसरी साताव्यापी राम-जानकी विवाह पञ्चमी महोत्सवमार्फत मिथिलाको वैवाहिक विधि विधानलाई पनि उद्घाटित गर्न गरिएको संस्कृतिका जानकार तथा राजनीतिज्ञ रामचन्द्र झा बताउँछन्। विवाहको क्रममा हुने जनकपुर नगर दर्शन, तिलकोत्सव, मटकोर, जन्ती स्वयंम्वर र मरजादको भोजको आयोजनाले यस धार्मिक महोत्सवलाई सांस्कृतिक स्वरूप प्रदान गरेको झाको भनाइ छ। उनले भने, ‘यस महोत्सवले लोपोन्मुख विवाह गीतलाई समेत संरक्षण गरेको छ। यति मात्र नभई नेपाल र भारतबीचको सम्बन्धलाई प्रगाढसमेत बनाएको छ। यो पर्वले दुई देशलाई धार्मिक तथा सांस्कृतिक रूपमा जोड्ने काम गर्छ।’

जानकी मन्दिरको प्रांगणमा बेहुली (बधू) पक्षलाई बेहुला (वर) पक्षलाई भोजन गराउने चलनलाई रामकलेवा भनिन्छ। यस वर्ष मंसिर २१ गते देखि सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव आज २७ गते रामकलेवा भएसँगै समाप्त भएको सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिए। रामकलेवामा मिथिलाको पहिचान झल्किने संस्कृति गीतनाद प्रस्तुत गरी हाँस्यव्यंग्य शैलीमा मनोरञ्जन प्रदान गरिएको छ।

रामकलेवा हेर्नसमेत दर्शनार्थीको घुइँचो लागेको थियो। 

हेर्नुहोस् फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.