|

भोजपुर : राम्रो आम्दानी हुन थालेपछि भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न क्षेत्रका किसानहरुले खाद्यान्न बालीको खेती छाडेर व्यावसायिक रुपमा किवी खेती गर्न थालेका छन्। एकपटक रोपेपछि वर्षौसम्म आम्दानी लिन सकिने भएपछि किवी खेती गर्न सुरु गरेको टेम्केमैयुङ–४ नागीका सुरज राईले बताए।

सुरुमा रहरले किवी खेती गर्न सुरु गरे पनि बजार मूल्य पनि राम्रो र एक पटक रोपेपछि वर्षौसम्म आम्दानी दिने भएकाले व्यावसायिक रुपमै खेती थाले उनले बताए। उनले चार वर्षअघि १३ रोपनी जग्गामा लगाएको किवीले उत्पादन दिन थालेको छ। ‘रोपेको २ वर्षबाट केही उत्पादन दिन थाल्यो। यस वर्षबाट भने उत्पादन दोब्बर भएको छ,’ राईले भने, ‘गत साल पाँच लाख रुपैयाँ जति आम्दानी भयो।’

उत्पादित किबी स्थानीय बजारमा प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्म किनबेच हुने गरेको छ। राम्रो उत्पादन दिन थालेपछि गाउँका अन्य किसानले पनि किबी खेतीप्रति आकर्षित भएका छन्। किवी खेतीको सम्भावना राम्रो देखिएपछि आफूले पनि खेती लगाएको स्थानीय सपराज राईले बताए। उनले भने, ‘चार वर्षअघि खेती सुरु गरेको देख्दा हुन्छ कि हुँदैन जस्तो लागेको थियो। तर मज्जाले फस्टाउने रहेछ। आम्दानी पनि गज्जबको हुने रहेछ।’

टेम्के मैयुङ गाउँपालिकाका कृषि प्राविधिक सहायक रामयतन यादवले गाउँपालिकाको धेरै क्षेत्रमा व्यवसायिक रुपमा किवी खेतीको सम्भावना रहेकाले आगामी आर्थिक वर्षमा खेती विस्तारका लागि बजेट विनियोजन गर्ने योजना रहेको बताए। अहिले भोजपुर नगरपालिकाका पोखरे, टेम्के मैयुङ गाउँपालिकाका नागी, खावा लगायतका क्षेत्रमा व्यवसायिक रुपमा किवी खेती भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.