|

उदयपुर : सरकारले कृषि उत्पादनमा जोड दिन प्रधानमन्त्री कृषि आधुनिकीकरणको नारामा पकेट, ब्लक,  जोन र सुपर जोन परियोजना सुरु गरेको छ। उत्पादनको हिसाबले जुन क्षेत्रमा जुन कृषिजन्य वस्तुको बढी मात्रामा उत्पादन हुन्छ, त्यही क्षेत्रलाई पकेट, ब्लक, जोन र सुपर जोन परियोजना सञ्चालन गर्दै आएको छ। 

तर, उदयपुरमा त्यसको ठीक उल्टो भएको छ। यहाँ अदुवा/बेसार बढी उत्पादन हुने कटारी नगरपालिका र ताप्ली गाउँपालिकालाई छाडेर स्थानीय तहलाई परियोजना सञ्चालन गरिएको छ। नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा कार्यन्वयमा ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण अदुवा/बेसार जोन परियोजना उत्पादन हुनेलाई छाडेर अर्कै क्षेत्रमा सञ्चालनमा ल्याइएको हो।

उत्पादन हुने क्षेत्र 

कटारी नगरपालिकाको महाभारत क्षेत्रमा पर्ने मयाँखु, लेखानी, हर्देनी, बसेरी, सोरुङ, लिम्पाटार, सिरिसे र ताप्ली गाउँपालिाको ओख्ले, ठानागाउँ, इनामे, लेखागाउँलगायतका क्षेत्रमा अदुवाको व्यवसायिक खेती हुँदै आएको छ। ‘जहाँ अदुवाको मात्र खेती गरिन्छ, त्यहाँ अदुवा जोन हुनु पर्ने हो, त्यो छैन,’ हर्देनीका अगुवा कृषक शंकर राउत भन्छन, ‘जहाँ अदुवा खेती कम मात्रामा गरिन्छ, त्यस क्षेत्रलाई जोनको रुपमा घोषणा गरिएको छ।’

जिल्लामा उत्पादन हुने ९० प्रशित अदुवा/बेसारको क्षेत्रलाई छुट्याएर जोन घोषणा गरिएको कृषक गुनासो छ। जुन क्षेत्रलाई पहिलेदेखि अदुवा, बेसारको पकेट क्षेत्र मानिन्थ्यो, त्यो क्षेत्रमा अदुव बेसार फल्दैन भन्ने पुष्टि गर्न खोजिएको राष्ट्रिय कृषक समूह महासंघ उदयपुरका अध्यक्ष कुशल राउतले बताए। उनले भने, ‘कटारी नगरपाकिलाका र ताप्ली गाउँपालिकामा व्यवसायिक खेती हुने क्षेत्रलाई जोनबाट हटाउनु राम्रो होइन, यस्तो जोनको औचित्य छैन।’

अनभिज्ञ जोन प्रमुख

अदुवा बेसार जोन कार्यान्वयन इकाइको कार्यालय जिल्ला कृषि ज्ञान केन्द्र गाईघाटको सानो कोठामा स्थापना गरिएको छ। कार्यालय प्रमुख रहेका वरिष्ठ कृषि विकास अधिकृत उदयनारायण शर्माले अदुवा बेसार जोन घोषा उल्टो भएको स्वीकारे।

‘हाम्रो नजरमा पनि उत्पादन हुने क्षेत्र कटारी र ताप्ली नै हो,’ उनले भने, ‘जोन घोषणा गरेर कार्यान्वयनमा ल्याउनुभन्दा पहिला भएका छलफलहरु पनि जनप्रतिनिधिहरुले किन त्यता भनेनन् थाहा छैन। तर, उत्पादन जहाँ बढी हुन्थ्यो, त्यहाँ अदुवा वेसार जोनले समेटिएको छैन।’

सरकारले घोषणा गरेको जोनमा धानलगायतका खाद्यान्न बालीका लागि उपयुक्त क्षेत्र भए पनि अदुवा बेसार जोन घोषा गरिएको प्रति अधिकृत शर्माले आश्चर्य प्रकट गरे। उनले भने, ‘त्यहाँ एउटा चक्ला जमिनमा पनि अदुवा बेसार खेती गर्ने जमिन छैन।’

यी हुन् घोषणा गरिएका क्षेत्र

बेलाका नगरपालिकाको शिरमाडी, बबला, मैनामैनी, चौदण्डी नगरपालिाकाको चौदण्डीगढी, सिद्धिपुर, त्रियुगा नगरपालिकाको साउने, खाँबु, जल्पा चिलाउने र रौतामाई गाँउपालिकाको भुटार, लाफागाँउ, पोखरी सल्ले, आँपटार, रौतापोखरी, रसुवा, पुवाँरे भन्ज्याङलाई अदुवा बेसार जोन घोषण गरिएको छ।

यस्तै, उदयपुरगढी गाउँपालिकाको बर्रे, जरुवा, डुम्रे, उदयपुरगढी, नेपालटार क्षेत्र गरिएको छ। तर, यस क्षेत्रमा अत्याधिक मात्रमा धान उत्पादन हुने गरेको छ। हाडेवास, चुरुम्फा, लिम्चुङबुङ गाउँपालिकाको बाँसबोटे, ताम्लिछा, बाराहा, बलम्ता, जाँते लगायतका अदुवा बेसार जोन हो। तर, यी क्षेत्र पनि धान, दलहन बालीका लागि उपयुक्त मानिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.