|

जनकपुरधाम : जनकपुरधामको रत्नसागर मन्दिरका महन्त बैकुण्ठ दास वैष्णव धरौटीमा रिहा भएका छन्। जनकपुरधामस्थित जनकहजारी विद्यापीठको २ बिघा ११ कट्ठा जग्गाको कागज किर्ते गरी अशोक शर्माको नाममा मोही कायम गरेर बेचबिखन गरेको अभियोगमा पक्राउ परेका महन्त बैकुण्ठ दास १५ लाख धरौटीमा रिहा भएका हुन्।

सरकारी कागज किर्ते र ठगी मुद्दाका अभियुक्त बैष्णवलाई जिल्ला अदालत धनुषाले १५ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो। सोही मुद्दामा उनीसँगै सरकारी कागज किर्ते र ठगी मुद्दाका अर्का अभियुक्त अशोक शर्मालाई भने पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

जिल्ला अदालत धनुषाका न्यायाधीश राजेश कट्वालको एक इजलासले धरौटीमा थुनामुक्त गर्न आदेश गरे लगत्तै अदालतमा धरौटी जम्मा गरेपछि बैकुण्ठलाई प्रहरीले थुनामुक्त गरेको थियो। जनकपुरधामको संस्कृत विद्यालयअन्तर्गत हजारी जनक विद्यापीठ भोग चलनमा गुठी नाममा रहेको जग्गा किर्ते जालसाजी गरेर बेचेको आरोपमा मंसिर १५ गते उनलाई प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको थियो।

जनकपुरधाम ८ स्थित गुठीको जग्गाको नक्कली जग्गा धनी श्रेस्ता बनाई अशोक शर्माको नाममा मोही कायम गरेर बेचबिखन गरेको अभियोगमा उनलाई अदालतले पक्राउ गर्न आदेश दिएपछि उनी फरार रहेकोमा काठमाडाैंस्थित बागबजारको होटेल तिरुपतिबाट पक्राउ गरिएको थियो।

जनकपुरधाम उप–महानगरपालिका  ८ को सिट नं. १३५४–१४ किता नं.६२ को क्षेत्रफल ०–२–११ र सिट नं. १३५४–१५ किता नं. २८ को क्षेत्रफल २–८–१४ भएको जग्गाको स्वामित्व ग्रहण गर्ने तथा सरकारी छाप दस्तखत किर्ते कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.