|

रुकुम : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले रक्सी उद्योग सञ्चालन गरेको छ। संघीय सरकारले मदिराजन्य वस्तु उत्पादन, बिक्रीवितरण र सेवनलाई कडाइ गर्ने तयारी गरिरहेको बेला आठबिसकोट नगरपालिकाले भने वडा नं. १२ सिमचौरमा उद्योग नै सञ्चालनमा ल्याएको हो।

संघीय सरकारले ‘मदिरा उत्पादन र बिक्री वितरणको नियन्त्रण तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश २०७५’ जारी गरी कडा कानुनी प्रावधान ल्याउन लागेको छ। जसमा मदिरा उद्योगमा सरकारीले प्रोत्साहन नगर्नेदेखि नयाँ मदिरा उद्योग सञ्चालनका लागि अनुमति नदिने र अनुमति लिई ५० प्रतिशतसम्म पूर्वाधार बनाएका उद्योगहरुको समेत इजाजतपत्र खारेज गर्ने व्यवस्था समेटिएको बताइएको छ। 

गृह मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको उक्त मस्यौदा जारी भएपछि कार्यन्यवनमा आउने छ। तर आठबिसकोट नगरपालिका र निजी क्षेत्रको सहकार्यमा सञ्चालन हुन लागेको मदिरा उद्योगको काम भने धमाधम भैरहेको छ। कोटकिङ डिस्टलरी प्रालिको नामबाट सञ्चालित उक्त उद्योगबाट उत्पादित मदिरा नौ महिनाभित्रै बजारमा आउने जनाइएको छ। रक्सी उद्योगमा हाल फलफुट कुहाउने काम भैरहेको बताइएको छ।

कम्पनीको दाबी

यस उद्योगले उत्पादन गर्ने रक्सी फलफूलको हुन कोटकिङ डिस्टलरी प्रालिका अध्यक्ष दलबहादुर शाहले बताए। उनका अनुसार पहिलो पटक उद्योगमा त्यस क्षेत्रमा उत्पादन हुुने डिम्मुर फलबाट वाइन उत्पादन गरिने छ भने दोस्रो चरणमा चिउरीको फलबाट उत्पादन हुने बताइएको छ। डिम्मुर त्यस क्षेत्रको जंगलमा पाइने एक प्रकारको फल हो। यसअघि उक्त फल जंगलमा त्यसै खेर गैरहेको थियो।

‘अन्य बजारमा पाइने वाइनजस्तो हामी उत्पादन गर्दैनौं, हामीले उत्पादन गर्ने वाइन फलफूलको हो,’ अध्यक्ष शाहले भने, ‘सायद विश्वमै पहिलोपटक हामी डिम्मुरबाट वाइन उत्पादन गर्दैछौं।’ वाइन उत्पादनका लागि करिब ३०० क्लिन्टलभन्द्या बढी डिम्मुर जंगलबाट टिपेर उद्योगमा ल्याइएको छ।

प्रतिकिलो १५ देखि ३० रुपैयाँमा स्थानीयबाट खरिद गरिएको डिम्मुरको मूल्य मात्र करिब ३० लाख रुपैयाँभन्दा बढीे भैसकेको छ। ‘करिब ४० लाखको डिम्मुर खरिद गर्ने हाम्रो लक्ष्य हो, ३०÷३२ लाख जतिको त स्थानीयबाट खरिद नै गरिसकेका छौं,’ अध्यक्ष शाहले भने, ‘डिम्मुर हाम्रो नगरपालिकाको जंगलका साथै डोल्पा, जाजरकोट र रोल्पाका बिभिन्न ठाउँहरुबाट समेत संकलन गरेर स्थानीयहरुले बेच्ने गरेका छन्।’

नगरपालिकाको प्रष्टोक्ति

आठबिसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई संघीय सरकारले मदिराजन्य वस्तुको उत्पादन, बिक्री र सेवनमा कडाइ गरिरहेका बेला नगरपालिकाले किन मदिरा उद्योग सञ्चालन गरेको भनी प्रश्न राख्दा नगरमा मदिरा सेवन कडाइ गर्ने बताए। तर, यहाँ उत्पादित वाइन विदेशमा बेच्ने योजना रहेको प्रतिक्रिया दिए। 

‘हामीले उत्पादन गर्ने वाइन फलफूलबाट उत्पादन हुने वाइन हो, जसमा अल्कोहलको मात्र निकै कम हुन्छ’ प्रमुख प्रशासकीय अधिकृत केसीले दावी गरे, ‘हामीले यहाँ वाईन मात्र होइन, विभिन्न जुस पनि उत्पादन गर्छाैं, यहाँ उत्पादन भएको वाइन जिल्लामा भन्दा विदेशमा निर्यात गर्छौं।’ देश तथा विदेशमा मदिरा उत्पादन भैरहेको भन्दै आठबिसकोट नगरपालिकाले पनि वाइन उद्योग सञ्चालन गर्नु कुनै अनौठो नभएको जिकिर गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.