|

झापामा एउटा संस्था छ- क्रिएटिभ नेप्लिज युथ। नामअनुसारको काम गर्न कहिल्यै पछि पर्दैन। हुन त यो संस्था दर्ता प्रक्रियामा छ। तर, छोटो समयमा संस्थाले ख्याती कमाउन कुनै कसर बाँकी राखेन।

कसैलाई आपत् आइलाग्दा सहारा बनेर पुगिदिन्छ यो संस्था। अनाथ बालबालिकालाई आफ्नै भाइबहिनी सम्झिएर स्वयम्सेवामा खटिन्छन्, संस्थाका सदस्य। गरीब तथा असहायलाई कुनै रोगले समात्यो भने संस्थालाई सूचना आइहाल्छ। संस्थाका सम्पूर्ण सदस्य क्रियाशील छन्। उनीहरु कहिले बाढीपीडितका लागि सहयोग जुटाउन पसल-पसल कुद्छन्, कहिले क्यान्सर पीडितलाई नयाँ जीवन दिन अर्थ सङ्कलनमा व्यस्त हुन्छन्। स्थापना भएयता क्रिएटिभ नेप्लिज युथ कहिल्यै चुपचाप बसेको छैन। यस संस्थाका संयोजक हुन्, रञ्जन।

टीकाराम धमला (रञ्जन) कुनैबेला खुब मीग चलाउँथे। च्याटमा रमाउने एकप्रकारको सञ्जाल नै हो यो। उनी पनि यसैमा हराउँथे। जान्नेले मीगबाट पैसा पनि कमाउँछन्। रञ्जनले पनि पैसा कमाए, मीगबाट। मीग आइडीमा रञ्जन नाम राखेपछि उनी टीकारामबाट एकाएक रञ्जन बनेका हुन्। तर, मीगले पढाइमा असर गर्ने बुझेपछि उनले यसलाई चटक्कै छाडिदिए। बिर्ता हाइयरबाट विज्ञान सङ्कायमा प्लस टु पढेका उनले कनकाईबाट फेरि कमर्स पढे। अहिले कनकाईमै उनी ब्याचलर तेस्रो वर्षमा अध्ययनरत छन्। 

२३ वर्षे यी युवा सानैदेखि समाजप्रति चासो राख्थे। गाउँघरमा केही गतिविधि आयोजना हुँदैछ भने त्यसलाई राम्रो बनाउन उनी हरसम्भव प्रयत्न गर्थे। मीग छोडेपछि केही फरक काम गरेर दिउँसोको समय सदुपयोग गर्ने सोचमा थिए उनी। त्यहीबेला भूकम्प आयो, ०७२ वैशाख १२ गते। भूकम्पपछि केही नयाँ काम सुरु गर्न उनलाई आँट मिल्यो।

विनिता अर्याल झापाली चेली हुन्। काठमाडौंमा उनी ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ नामक संस्था स्थापना गरेर २० जनाभन्दा बढी अनाथ बालबालिकालाई संरक्षण गर्दै आएकी छन्। भूकम्पपछि उनी २२ जना बालबालिका लिएर बिर्तामोड आइन्। त्यतिबेला रञ्जनले उनलाई सहयोग गरे। युथ एक्सन झापाका संयोजक दीपक दासको नेतृत्वमा उनी राहत सङ्कलनमा हिँडे। ती बालबालिकालाई चामल, चाउचाउ, साबुन, ब्रस प्रदान गरे। विनिताले बालबालिकालाई केही महिना झापामै राखिन्। रञ्जन स्वयम्सेवकका रुपमा खटिरहे, बिनितालाई सघाइरहे। बालबालिकाको रेखदेख गरिरहे। 

त्यतिञ्जेलसम्ममा रञ्जनले सामाजिक गतिविधिकै लागि आफू संयोजक रहेर ‘क्रिएटिभ नेप्लिज युथ’ गठन गरिसकेका थिए। समाज सुधार, विकृति विसङ्गतिको अन्त्य, व्यक्तित्व विकास, खेलकुद लगायत कार्यक्रमका लागि गठित संस्थाले हालसम्म यस्तै कार्यक्रम गर्दै आएको छ। ‘लगत्तै हामीले अनाथका लागि पौडी भन्ने पहिलो कार्यक्रम ल्यायौँ,’ रञ्जन भन्छन्- ‘कनकाई स्वीमिङमा एक दिन पौडी खेलेवापत सङ्कलन भएको रकम भूकम्पपीडित बालबालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम थियो, एकैदिनमा ३० हजार रुपैयाँ सङ्कलन भएको थियो।’

पहिलो कार्यक्रममा हौसला मिलेपछि क्रिएटिभ नेप्लिज युथले पछाडि फर्किनु परेन। संस्थालाई चलायमान बनाउन सीपालु छन्, संयोजक रञ्जन। समाजका लागि उनी रातदिन खट्छन्। ‘क्रिएटिभ नेप्लिज युथका सबै मेम्बर एक्टिभ हुनुहुन्छ,’ उनी भन्छन्- ‘आँटेको काम सबै पूरा भएकै छ।’ 

०७२ सालभरी क्रिएटिभ नेप्लिज युथले दर्जनौँ कार्यक्रम गर्‍यो। ‘सडक, बजार बन्द गर्नुभन्दा बन्दको विकल्प खोजौँ’, भन्दै हस्ताक्षर अभियानमा जुटे उनीहरु। १५ सय वटा हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमा बुझाए। 

धाइजनकी ६५ वर्षीया एक महिला पाठेघरको क्यानसरले थलिएकी थिइन्। रञ्जनको नेतृत्वमा क्यान्सर पीडितका लागि कनकाई क्याम्पस बिर्तामोडबाटै १० हजार १ रुपैयाँ सङ्कलन भयो। ‘अहिले उहाँ (क्यानसर पीडित)लाई राम्रै छ,’ मुसुक्क हाँस्दै रञ्जनले भने। रगतको अभाव हुँदा क्रिएटिभ नेप्लिज युथले रक्तदान कार्यक्रम आयोजना गर्‍यो। युवालाई नेतृत्व विकास क्षमता प्रदान गर्‍यो। गणतन्त्र दिवसमा द्वीप प्रज्वलन गर्‍यो। युवा दिवसमा विभिन्न संघसंस्थासँगको सहकार्यमा वृक्षारोपरण, बालदिवसमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्‍यो। 

अहिले पनि क्रिएटिभ युथ नेप्लिजका प्रतिनिधिलाई फुर्सद छैन। ‘क्रिएटिभ युथ नेप्लिज’ लेखेको टि-सर्टमा प्रत्येक शनिबार उनीहरु बिर्तामोड सरसफाइमा भेटिन्छन्। ‘विवेकशील दलले पहिलेदेखि नै बिर्तामोड सरसफाई गर्दै आएको थियो, हामीले ८ औँ हप्ताबाट यस कार्यक्रममा सहभागिता जनाएका हौँ,’ रञ्जन भन्छन्- ‘अहिले त दर्जनौँ संघसंस्थाले बिर्तामोड सरसफाइ अभियानमा भाग लिएका छन्, सागर अजनभीज्यू अभियानको संयोजक हुनुहुन्छ।’

क्रिएटिभ युथ नेप्लिजमा बिर्तामोड, शनिश्चरे, चारआली, चन्द्रगढी र काठमाडौँका गरी १२० जना युवा सदस्य छन्। ५ महिला र ६ पुरुष गरी कार्यसमितिमा ११ जना छन्। सबैजना १६ देखि २५ वर्षसम्मका छन्। ‘युवा पुस्ता भएकाले संस्थाको नेतृत्व गर्न सहज नै छ,’ संयोजक रञ्जन भन्छन्- ‘समाजमा अलिक नौलो तरिकाले प्रस्तुत हुनका लागि संस्थाको नाम क्रिएटिभ युथ नेप्लिज राखिएको हो।’ 

केही काम गर्नुपरे संयोजकले जिम्मेवारी बाँडफाँड गर्छन्। साथीभाईबाट र स्पोन्सरबाट पैसा सङ्कलन गर्छन्। कार्यक्रम स्तरीय आयोजना भएका छन्, अहिलेसम्म। ‘स्तरीय भयो कार्यक्रम भनेर प्रशंसा पाउँदा खुशी लाग्दो रहेछ,’ रञ्जन भन्छन्- ‘भविष्यमा सामाजिक अभियन्ता भएरै चिनिन मन छ।’ सबै राजनीतिक दलले सहयोग गरेको बताउँछन् रञ्जन। शैक्षिक कन्सल्टेन्सीसँग पनि उनको उत्तिकै राम्रो सम्बन्ध छ। 

क्रिएटिभ युथ नेप्लिजको बैठक पनि नियमित हुन्छ। अब भने खेलकुदलाई प्राथमिकता दिने संयोजक रञ्जन बताउँछन्। ‘हाम्रो राष्ट्रिय खेल डण्डिबियो हराइसक्यो, सबैले बिर्सिसके,’ उनी भन्छन्- ‘त्यसैले अब हामी खुला डण्डिबियो प्रतियोगिता आयोजना गर्दैछौँ।’ 

सडक नाकट र स्वीमिङ पनि आयोजना गरिने उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.