|

मनाङ : यस वर्ष अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको संख्या बढेको छ। यस पदमार्गमा आउने पर्यटकको तथ्यांक लिन थालिएको २२ वर्षको अवधिमा सबैभन्दा बढी पर्यटक सन् २०१८ मा मनाङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ। 

यस वर्ष २८ हजार ५३४ जना विदेशी पर्यटक भित्रिएका तथ्यांक छ। यस वर्ष दैनिक ३६० भन्दा बढी पर्यटक भित्रिएको थिए। सन् २०१७ मा २७ हजार ६८ जना पर्यटकले चक्रीय अन्नपर्ण पदमार्गको भ्रमण गरेका थिए। यस वर्षको जाडोको सिजन सुरु हँुदा समेत दैनिक ४० देखि ६० जना पर्यटक भित्रिएको धारापानी चेकपोष्टले जनाएको छ। चिसोले पर्यटक घट्दै गए पनि अझै एक हजार पर्यटक आगमन हुने अन्नपूर्ण संरक्षण क्षेत्रको आँकलन छ।

अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका कर्मचारी प्रशान्त गुरुङका अनुसार यस वर्ष सबैभन्दा बढी पर्यटक अक्टोबरमा आएका छन्। यस महिना सात हजार १६३ जना भित्रिएका थिए। नोभेम्बरमा चार हजार ३८० र सेप्टेम्बरमा दुई हजार ८५६ जना पर्यटक भित्रिएका छन्। गत वर्षको अक्टोबरमा छ हजार ६७४ जना, नोभेम्बरमा चार हजार ३३८ जना र सेप्टेम्बरमा दुई हजार ६२० जना पर्यटक भित्रिएका थिए।

गत वर्ष डिसेम्बरबाहेक ११ महिनामा २६ हजार २०५ जना विदेशी पर्यटक भित्रिएका थिए। गत वर्षको तुलनामा यस वर्षको ११ महिनामा दुई हजार ३२९ जना बढी पर्यटक आएका छन्। यस क्षेत्रको भ्रमणका लागि सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, मार्च, अप्रिल र मे महिना सिजनको रुपमा  लिइन्छ। 

यस पदमार्ग लमजुङको बेंशीसहर हुँदै मनाङतर्फत जाने पर्यटकको रेकर्ड एक्यापले  राख्ने गरेको छ। काठमाडांै, पोखरा र बेंशीसहरबाट अनुमति लिएर गएका विदेशी पर्यटकले मनाङको नांसो धारापानी चेकपोष्टमा आफ्नो विवरण अनिवार्य बुझानुपर्छ। अन्नपूर्ण पदमार्गको गन्तव्य संसारकै अग्लो हिमाली भञ्ज्याङ पाँच हजार ४१६ मिटरमा पर्ने थोराङ्ला र सर्वाधिक अग्लो स्थानमा रहेको तिलीचो ताल हो। पदमार्ग भएर जानुपर्ने ठाउँमा मोटर बाटो पुगेपछि यस पदमार्ग विश्वकै उत्कृष्ट १० को सूचीबाट हटिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.