|

काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण अझै रहस्यमै रहेको छ। हत्या प्रकणकरणको सुरुवातमै प्रहरीले अनुसन्धानमा गरेको गम्भीर कमजोरीका कारण यो अवस्था सिर्जना भएको हो।  

केही प्रहरीले गरेको कमजोरीका कारण प्रहरी संगठन नै बदनाम हुन पुगेको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीको भनाइ छ। यसअघि हत्या प्रकरणमा तत्कालीन कञ्चनपुर प्रहरी  प्रमुख एसपी दिल्लीराज विष्टले अनुसन्धानमा लापरबाही गरेको भन्दै विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्तगीमा परिसकेका छन्।

गृह मन्त्रलायका सहसचिव हरि मैनाली नेतृत्वको छानबिन समितिका क्रममा प्रहरीको कमजोरी देखिएपछि उनीहरू बर्खास्तगीमा परेका हुन्। अन्य एक दर्जन प्रहरी निलम्बनमा परेका थिए।

त्यसलगत्तै प्रहरीको भूमिकाबारे अनुसन्धान गर्न गठिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धीरु बस्न्यातको टोलीले समेत प्रहरीको कमजोरी ‍औल्याउँदै ५ सय ३२ पृष्ठ लामाे प्रतिवेदन गत सोमबार प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई बुझाएको छ। चार महिना लगाएर गरेको अनुसन्धान प्रतिवेदनमा समेत प्रहरीकै कमजोरीका  कारण अपराधी उम्कन सफल भएकाे प्रतिवेदनमा उल्लेख छ।

बस्न्यात नेतृत्वको समितिले कञ्चनपुर प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीमाथि अनुसन्धान गरेको थियो। ३७ जना प्रहरीमाथि गरेको अनुसन्धानका क्रममा एसपी विष्ट र निरीक्षक भट्टलगायत थप १८ जनाले निर्मला हत्या अनुसन्धानमा कमजोरी गरेको उल्लेख गरिएको छ। जसमध्ये सातजना निलम्बित प्रहरीसमेत रहेका छन्।

निलम्बनमा पर्ने प्रहरीमा सिआइबीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसी, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठ्ठी प्रहरी निरीक्षकहरू एकेन्द्र खड्का र गणेश सापकोटा रहेका छन्। त्यसैगरी प्रहरी नायव निरीक्षक (सई) रामसिंह धामी र बासुदेव अवस्थीसहित चारजनाको नाम सिफारिस गरेको छ, भने तीनजना प्रहरी  हवल्दार र पाँचजना जवान छन्।

उनीहरूमध्ये केही बर्खास्तगीमा पर्ने सम्भावनासमेत रहेको प्रहरी प्रधान कार्यलय स्रोतको भनाइ छ। निर्मलाकाे हत्यारा अभियुक्तबारे भने समितिको प्रतिवेदनमा केही उल्लेख भएको छैन्। गत भदौ ३१ गते एआइजी बस्न्यातको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो।

बस्न्यातको समितिले यातनासहितको बयान लिएको पीडित प्रहरीको गुनासो

धीरु बस्न्यात नेतृत्वको समितिले छानबिनमा तानिएका प्रहरी माथि यातनासहितको बयान लिएको पीडित प्रहरीहरूको भनाइ छ। आफूहरूलाई तीन महिनादेखि बिनाकारण यातानासहितको बयान लिएको कञ्चनपुरबाट छानबिनका लागि काठमाडौं आएका एक जुनिएर प्रहरी अधिकारी बताए। 

‘तीन महिनादेखि हामीलाई छानबिन गर्ने भन्दै प्रहरीको तालिम केन्द्रमा राखिएको छ। प्रतिवेदन प्रधान कार्यालय पुग्दासमेत काममा फर्किने वतावरण छैन। न हामी घटनास्थलमा गयौँ न हामीले हत्या प्रकरणमा कसैको बयान लियौँ हामीलाई अनाहकमा समितिले दु:ख दियो,’ एक जुनियर प्रहरी अधिकारीले भने,’ एक जना प्रहरी जवान त तालिम केन्द्रभित्र आत्महत्याको बाटोसम्म पुगेका थिए पछि कसरी बाँचे।’ अनुसन्धान समितिले छानबिनका लागि काठमाडौं बोलाएका प्रहरीहरू अझै प्रहरीको तालिम केन्द्रमै राखिएको छ। 

अनुसन्धान गर्न कञ्चनपुरबाट बोलाएका प्रहरी कर्मचारीमाथि आवश्यक अनुसन्धान भइसकेकोले उनीहरूको कसुर बराबरको कारबाहीपछि फर्काउने तयारी भएको प्रहरी प्रधान कार्यलको भनाइ छ।

प्रदीप रावलमाथि बयान जारी

प्रहरी प्रधान कार्यलका एक उच्च प्रहरी अधिकारीका अनुसार निर्मला हत्यामा प्रदीपले दिएको बयानका आधारमा उनी सजिलै छुट्ने अवस्था छैन। ‘प्रदीपले निर्मला हत्या आफूले नै गरेको साविति बयान दिएका छन्। उनले बयानमा निर्मलाको बलात्कार गर्ने बेला आफ्नो ‘स्पम’ नझरेको र बलात्कारपछि हत्या आफैँले गरेको स्वीकार गरेका छन् उनी कसरी यति सजिलै छुट्छन् हामी उनको बयान अझै लिइरहेका छौँ,’ प्रहरी प्रधान कार्यालयका एक उच्च प्रहरी अधिकारीले भने, ‘अनुसन्धानका अन्य विधि पनि छन् सबै प्रमाण हेर्दै छौँ डिएनए मात्र सबै होइन,’ उनले भने।

यद्यपि, प्रहरी स्रोतकै अनुसार प्रदीप रावल र विशाल चौधरीको डिएनए परीक्षण नेगेटिभ आएको छ। निर्मलाको योनिबाट निकालिएको भेजिनल ‘स्वाब’सँग उनीहरूको डिएनए परीक्षण गरेको थियो। डिएनए रिपोर्ट भने सार्वजनिक गरिएको छैन।

प्रदीपलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंसिर २० मा काठमाडौंमा पक्राउ गरेको थियो भने विशाललाई मंसिर २१ मा कञ्चनपुरबाट पक्राउपछि काठमाडौं ल्याइएको थियो। प्रदीप र विशाल निर्मला हत्याका दिन कुखुरा चोरीको आरोपमा प्रहरी थुनामा रहेको कारण निर्दोष भएको भन्दै स्थानीयले विरोधसमेत गरेका छन्।

प्रहरीले हालसम्म निर्मला हत्या अनुसन्धानका क्रममा कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टसहित १५ जना बढीको डिएनए परीक्षण गरिसकेको छ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृत नै पक्राउ पर्ने संकेत

निर्मला हत्या प्रकरणमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारी नै पक्राउ पर्ने संकेत देखिएको प्रहरी प्रधान कार्यालयको भनाइ छ। निर्मला हत्या अनुसन्धानमा गम्भीर कमजोरी गरेका नक्कली अभियुक्त खडा गर्न विभिन्न प्रमाण जुटाएका प्रहरी अधिकारी सिआइबीका डिएसपी अंगुर जिसी बर्खास्तीमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट प्रहरी निरीक्षक जगदीश भट्ट र निलम्बनमा परेका प्रहरी निरीक्षकहरू ज्ञानबहादुर सेठ्ठी, एकेन्द्र खड्का र गणेश सापकोटा पक्राउ पर्ने संकेत देखिको छ।

धीरु बस्न्यात नेतृत्वको समितिले गरेको अनुसन्धानमा निर्मला हत्याको २५ दिनपछि निर्मला हत्याका अभियुक्त भन्दै सार्वजिनक गरेका कञ्चनपुरका दिलीपसिंह विष्टलाई सार्वजनिक गर्नुअघि उनलाई फसाउन फर्जी प्रमाण जुटाएको समेत पुष्टि भएको छ।

सिआइबीका डिएसपी अंगुर जिसीसहितले दिलीपलाई अपराधी प्रमाणित गर्न उनको घरबाट सर्टको टुक्रा च्यातेर लाएको बयान कञ्चनपुरका मुद्दा फाँटका सई वासुदेव अवस्थीले दिएपछि नक्कली प्रमाण जुटाएको पुष्टि भएको हो।

'डिएसपी अंगुर जिसीले नै दिलीपसिहं विष्टको घरबाट सर्टको टुक्रा ल्याएर घटनास्थलमा राखेका हुन्। त्यसलगत्तै उनले एसपी दिल्लीराज विष्टलाई समेत भेटेका थिए उनीहरूले पछि के के कुरा मिलाए मलाई थाहा छैन,' धीरु बस्न्यातको समितिको बयानमा अवस्थीले भनेका छन्।

उता निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलीपसिंह विष्टका दाइ खड्ग विष्टले निर्मला हत्यकाण्डमा प्रमाण नष्ट गर्ने प्रहरी र निर्मला हत्या प्रकरण अनुसन्धानका क्रममा निर्दोषलाई यातना दिएर फसाउने प्रहरीलाई पक्राउ माग गर्दै जाहेरी दिइसकेका छन्। उनीहरूले धीरु बस्न्यातको समितिले प्रतिवेदन बुझाएको एक दिनपछि मंगलबार कञ्चनपुर प्रहरी कार्यालयमा जाहेरी दिएका हुन्। अपराध संहिता २०७४ ले प्रमाण नष्ट गर्ने, गलत प्रमाण जुटाउने अधिकारीमाथिसमेत कारबाही हुने व्यवस्था गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.