अन्तर्राष्ट्रिय उडान गर्न उद्योगीको दबाब

|

विराटनगर : मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा शुक्रबारदेखि विराट ट्रेड एक्स्पो सुरु भएको छ। शुक्रबार एक्स्पोको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरे।

विराटनगर २ स्थित शंकरपुरमा रहेको खाली जग्गामा आयोजित एक्स्पोको उद्घाटन समारोहमा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक्स्पोले प्रदेशको आर्थिक समृद्धिमा योगदान गर्ने बताए। उनले कृषि, पर्यटन, उद्योग र व्यापारको क्षेत्रमा सकारात्मक ढंगले अगाडि बढ्न एक्स्पोले मद्दत गर्ने पनि बताए। मुख्यमन्त्री राईले प्रदेशको समृद्धिका लागि विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने, प्रदर्शनी स्थल निर्माणका लागि काम अगाडि बढाउने पनि जानकारी दिए।

उद्घाटन समारोहमा बोल्दै मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले प्रदेशको विकासका लागि विराटगरबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनुपर्नेमा जोड दिए। यस्तै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले प्रदेशको विकासका लागि प्रदेश सरकारले भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री शेरधन राईलाई लक्षित गर्दै उनले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रण आजैबाट गर्नुपर्नेमा जोड दिए।

एक्स्पोको उद्घाटन समारोहमा प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, पर्यटनमन्त्री जगदिश कुसियैत, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, संघीय सांसद तथा उद्योगी मोति दुगर्ड लगायतको उपस्थिति थियो। ९ दिनसम्म चल्ने एक्स्पो १ नम्बर प्रदेशकै नमूना हुने आयोजकको दाबी छ। एक्स्पोमा २५० वटा स्टल रहेका छन्।

एक्स्पोमा दुई लाख बढीले अवलोकन गर्ने र २० करोड बराबरको कारोबार हुने अपेक्षा आयोजकको छ। एक्पोमा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.