|

कास्की : यतिखेर पोखरामा साहित्यको कुम्भमेला भइरहेको छ। ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ  पुस ७ देखि १० सम्म संचालन हुने सातौँ संस्करणको फेस्टिभलमा देशका विभिन्न क्षेत्रमा आवद्द बौद्धिक व्यक्तिहरूले विभिन्न सेसनमा विभिन्न विषयमा वक्ताको रूपमा उपस्थिति जनाउँदै छन्। सुन्दरताले भरिपूर्ण पोखरालाई साहित्य र कलामार्फत् आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न लागिएको महोत्सवका निर्देशक अजित बरालले जानकारी दिए। यसअघिका साहित्य महोत्सवहरू भन्दा फरक बनाउन विदेशी लेखकको उपस्थिति पनि बाक्लो रहेको छ यस पटक। साहित्य महोत्सवमा आधारित रहेर थाहाखबरकर्मी राजु पौडेलले महोत्सव निर्देशक अजित बरालसँग गरेको कुराकानी प्रस्तुत छ।

काठमाडौंपछि लगातार पोखरामा कार्यक्रम गरिरहनुभएको छ। पोखराप्रति लगाव बढ्नुको कारण?

पोखरामा यो कार्यक्रम गर्नुका मुख्य केही कारण छन्। फेस्टिभल सुरु गरेको केही संस्करणदेखि नै हाम्रा शुभेच्छुकहरूले यस किसिमका साहित्यिक गतिविधि काठमाडौंमा भइरहेको र अन्यत्र गर्दा अझ गजब हुने कुरा गरिरहनुभएको थियो। अधिकांश लेखकहरू काठमाडौंमा हुने भएकाले पनि यस्ता कार्यक्रम फेरि त्यही ठाउँमा गर्दा ‘मोनोटोनस’ हुनेरहेछ। अर्को कुरा भूकम्पपश्चात पोखरामा पर्यटन व्यवसाय एकदम खस्केको अवस्था थियो। हामीले पोखरालाई अन्तर्राष्ट्रिय त नभनौँ तर आन्तरिक पर्यटक भित्र्याएर पोखराको खस्केको पर्यटनलाई उकास्न हामीले पोखरामा ल्याएका हौँ।

पोखराको मनोरम दृश्यले जो कोहीको मन लोभ्याउँछ। हरेक लेखकले पनि साहित्य महोत्सव पोखरामा नै गर्दा राम्रो हुने सल्लाह दिएको हुनाले पनि हामी यता आकर्षित भएका हौँ। तेस्रो कुरा सरुभक्त दाइ, तीर्थ (श्रेष्ठ) दाइहरूले पोखरालाई सौन्दर्यको राजधानीमा मात्र नभई साहित्य, कला, संस्कृतिको राजधानी बनाउने भनेर पहल गरिरहनुभएको छ। हामीले यस्ता महोत्सव यहाँ गर्दा उहाँहरूको लामो समयदेखि गरिरहनुभएको पहललाई केही टेवा पुग्छ कि भन्ने विश्वासले गर्दा हामी पोखरासँग नजिक भएका हौँ।

मोफसलमा कार्यक्रम गर्दाको असहजता?

हरेक कुराले अप्ठ्यारो नै छ। आर्थिक हिसाबले पनि धेरै खर्चिलो छ। व्यवस्थापकीय हिसाबले पनि जटिल नै रहेको छ। केहीबाहेक अधिकांश लेखकहरू काठमाडौंमा नै हुनुहुन्छ। काठमाडौंमा हुँदा फलानो दिन र समयमा तपाईंको सेसन छ भनिदियो, पुग्थ्यो। गास, बासको पनि कुनै आवश्यकता पर्दैन थियो। पोखरामा गर्दा हरेक लेखकको जिम्मेवारी आयोजकले लिनुपर्छ। विदेशी पाहुनाको हकमा झन एकदम गाह्रो हो। तर असहजता र अप्ठ्यारोलाई चिर्ने कोसिस भने जारी नै छ।

फेस्टिभलको उद्देश्यअनुरूपको उपलब्धि होला?

हामीले निदृष्ट उद्देश्य लिएर कार्यक्रम गरेका होइनौँ। सन् २०११ मा फेस्टिभल सुरु गर्दा हाम्रो उद्देश्य भनेको एउटा यस्तो फोरम होस्, जहाँ साहित्यको विभिन्न आयाम मात्र नभई राजनीतिक, आर्थिक, सामाजिक तथा वैचारिक विषयमा बहस गर्ने थलोको रूपमा विकास गरौँ भन्ने लक्ष्य थियो। त्यो लक्ष्यअनुरूप नै हामीले कार्यक्रम निरन्तर अगाडि बढाइरहेका छौँ। हामीले फ्रि डेमोक्रेटिक एउटा मंच तयार पारेर फरक फरक विचार, सोच, आइडियोलोजी भएका व्यक्तिलाई एउटै मंचमा बहस गराउँदा एकआपसका बुझाइहरूलाई परिष्कार गर्ने र हाम्रो ज्ञानको दायरा फराकिलो बनाएका छौँ जस्तो लागेको छ। पठन संस्कृतिको विकास गर्न हामीले यो महोत्सवबाट केही भूमिका खेलेका छौँ जस्तो लाग्छ। यसलाई सन्तुष्टि नै मान्नुपर्छ।

अघिल्ला संस्करणमा जस्तै अहिले पनि तपाईंको प्रकाशनगृह फाइन प्रिन्टमा आवद्ध लेखकहरूको बाहुल्य हुने र दोहोरिने गरेको आरोप छ नि! एउटै लेखकका कुरा सुन्दासुन्दै दर्शक/श्रोता दिक्क भए भन्ने लाग्दैन? लेखकको विविधतामा चुक्नुभएको हो?

हामीमाथि सधैँ लाग्ने आरोपमध्येको एक यो हो नै। तर बुझ्नुपर्ने कुरा के भने यो फाइन प्रिन्टले आयोजना गरेको महोत्सव होइन। यो बुक होम फाउण्डेशनको आयोजनामा हुने महोत्सव हो। यहाँ हामी भएका कारणले हामीमाथि आरोप लाग्ने गरेको हो। कार्यक्रम तालिका सरसर्ती हेर्दा नै थाहा हुन्छ, को कति लेखक परे भन्ने कुरा। हाम्रो उद्देश्य सधैँ वैचारिक हिसाबले स्पष्ट मत राख्न सक्ने लेखकहरू र जो अलिकति पपुलर छन्, उनीहरू प्राथमिकतामा राखौँ भन्ने हो। संयोगले नेपालका केही ख्यातिप्राप्त लेखकहरू फाइन प्रिन्टसँग आवद्ध हुनुभएकाले उहाँहरूको चान्स बढी हुने भइहाल्यो तर  हामीले हाम्रा लेखकलाई मात्र स्थान दिँदैनौँ। वैचारिक हिसाबले सबल हरेक लेखकले हाम्रा लागि उस्तै महत्त्व राख्छन्।

हरेक वर्ग वा समुदायले राजनीतिमा पहिचान र अस्तित्वको बहस गरिरहँदा अहिलेको साहित्य सम्मेलनमा त्यसबारे बहस राख्न जरुरी ठान्नुभएन है?

हामीले यसअघि यो बहस नचलाएका होइनौँ। पहिचानको मुद्दामाथि बहस गरिरहेका थियौँ। अहिले ठ्याक्कै पहिचान शब्द प्रयोग गरेर नगरे पनि ‘संघीय नेपालमा आंचलिक स्वर’ भनेर गरेका छौँ। यसले पनि पहिचानको मुद्दालाई एड्रेस गर्छ भन्ने मलाई लाग्छ। ‘संघिय नेपालमा आंचलिक स्वर’मा पोखराबाट हनिफ मिया, धरानबाट कुन्ता शर्मा, पश्चिमबाट अशोक थारू बोल्दै हुनुहुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.