|
फाइल फोटो

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’का विषयमा चिकित्सक डा. गोविन्द केसीसँग पुनः छलफल गर्ने निर्णय गरेको छ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले विधेयकको केही व्यवस्थामा थप स्पष्टता आवश्यक रहेको निष्कर्ष निकाल्दै डा. केसीसँग पुनः छलफल गर्ने निर्णय गरेको हो। विधेयकको केही प्रावधानमा स्पष्टता ल्याउन पनि डा. केसीसँग एक पटक पुनः छलफल गर्ने निर्णय गरिएको समितिका सदस्य एवम् कांग्रेस सांसद गगनकुमार थापाले जानकारी दिए। समितिले उक्त विधेयक सरकार र डा. केसीबीच भएको सहमतिअनुसार अघि बढाउने गरी उपसमिति बनाएर छलफल गरिरहेको छ। सोही छलफलमा उठेका केही विषयमा स्पष्ट हुन समितिले डा. केसीसँग पुनः छलफल गर्न लागेको हो।

समितिका अर्का सदस्य एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेशकुमार भट्टराईले डा. केसी र सरकारबीच भएको सहमतिअनुसार अघि बढ्दा १० वर्षसम्म नै नेपालको कुनै पनि ठाउँमा मेडिकल कलेज खुल्ने अवस्था नरहेकाले सो सम्बन्धमा सम्बन्धित पक्षसँग पुनः छलफल गर्ने निर्णय गर्नु परेको बताए। डा. केसीसँग गरिएको सहमतिमा ३५० बेडको अस्पतालले मात्रै नयाँ मेडिकल कलेज स्थापनाका लागि सम्बन्धन दिन पाउने उल्लेख गरिएको छ। उक्त प्रस्तावले नयाँ मेडिकल कलेज खोल्न १० वर्ष लाग्ने सरकार र संसदीय समितिको निष्कर्ष छ।

समितिले संघीय संसदको हिउँदे अधिवेशनको सुरुमै पारित गराउने गरी सो विधेयक संघीय संसदमा पेश गर्ने तयारी पनि गरेको छ। चिकित्सा शिक्षा विधेयक डा. केसीसँग भएको सहमतिअनुसार नै अघि बढाउने समितिको तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.