|

कास्की : बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा पोखरामा आयोजित आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ सम्पन्न भएको छ। फेस्टिभलको चौथो अर्थात् अन्तिम दिन मंगलबार विभिन्न रोचक एवम् बौद्धिक छलफल भएका थिए। पोखराको लेकसाइड तालबाराही चोकस्थित फुटबल मैदानमा भएको फेस्टिभलमा भूपी कक्ष र अलि मियाँ कक्षमा विभिन्न सत्र संचालन भएका थिए।

फेस्टिभलअन्तर्गत चौथो दिनको पहिलो सेसन ‘वुमेन्स सेफ्टी एन्ड सेक्युरिटी इन द टाइम अफ निर्मला’मा मनीषा कोइराला र आनी छोइङसँग संवाद भएको थियो। उक्त संवादमा एसिड आक्रमणमा परेका संगीता मगर र सीमा बस्नेत पनि वक्ताका रूपमा उपस्थित थिए। उनीहरूसँग पत्रकार यज्ञशले अन्तरसंवाद गरेका थिए। यो सेसनमा कंचनपुरकी बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्त प्रकरण एवम् देशभर बढिरहेका हत्या, हिंसा र बलात्कारका विषयमाथि छलफल भएको थियो। उक्त अवसरमा अभिनेत्री मनीषा कोइरालाले बलात्कार जस्ता घटना बढ्नुमा कानुन कार्यान्वयनको पाटो फितलो हुनु कारण रहेको बताइन्। साथै घरपरिवारमा पनि छोरा र छोरीबीच गरिने भेदभाव नहटेसम्म समृद्ध एवम् विकसित नेपालको सपना देख्न नसकिने उनको भनाइ थियो। बलात्कार एवम् एसिड आक्रमण गर्नेहरू समाजमा खुलेआम हिँडिरहँदासमेत सरकारले उनीहरूलाई उचित दण्ड सजायको व्यवस्था नगर्नु लाजमर्दो विषय रहेको उनले बताइन्। यस्ता घटना घटिरहनुपर्नेमा अझ बढ्दै जाँदा त्यसले आफू जस्ता नागरिकलाई लज्जामा पारेको उनको धारणा थियो। 

उक्त सेसनमा आनी छोइङले नारीहरूलाई कम नआँक्न र उनीहरू अब सचेत एवम् जागरुक भइरहेको धारणा राखिन् साथै पीडकलाई दण्ड सजायको व्यवस्था चुस्तदुरुस्त पार्नुपर्नेमा उनको जोड थियो। समाजमा महिला हिंसाका घटनालाई देख्दा कहिलेकाहीँ आफैँले पनि महाकालीको रूप धारण गरेर त्यस्ता अपराधी एवम् कुकृत्य गर्नेलाई सजाय दिन मन लाग्ने गरेको पनि उनले बताइन्।

कार्यक्रममा एसिड प्रहारमा परेकी संगीता मगरले अझै पनि एसिड प्रहारकर्ताले जेलबाटै धम्की दिइरहेको र उसमा अलिकति पनि पश्चात्तापबोध नभएको बताइन्। त्यति मात्र नभई उसले जेलबाटै आफ्नो परिवारलाई धम्की दिइरहेको र जे पनि गर्न सक्ने आशयका धम्कीपूर्ण भनाइ दिइरहेको उनले गुनासो गरिन्। एसिड आक्रमणमा परिसकेपछि आफूलाई सर्जरी गर्नका लागि आर्थिक सहयोग नपुगेको मात्र बताइनन्, आफ्नो परिवारले दुःख गरेरै उपचार खर्च जुटाइरहेको पनि उनले बताइन्।

कार्यक्रममा सीमा बस्नेतले गायिका बन्ने लक्ष्य लिएर अघि बढेकी आफूमा एसिड आक्रमणपछि राजनीतिमा आउने र समाजमा व्याप्त विकृति उन्मूलन गर्ने काममा लागिपर्ने सोच आएको बताइन्। एसिड आक्रमणमा पर्दा आफूलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरबाट साथ सहयोग मिले पनि सरकारीस्तरबाट भने उचित सहयोग नपाएको गुनासो गरिन् । आफूले पछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई सम्बोधन गरेर लेखेको चिठीले भने तत्कालीन गृहमन्त्री वामदेव गौतम आफूलाई भेट्न आएको प्रसंग पनि कोट्याइन्। त्यसैले आफूले अब राजनीतिका माध्यमबाट समाज परिवर्तनको उद्देश्य राखेको र त्यसका लागि उच्च शिक्षा हासिल गरिरहेको सीमाले बताइन्। 

घटना अनुसन्धानमा प्रहरीको लाचारीपन, लामो समयसम्म पनि हत्यारा पक्रिन नसक्नु र घटना झनै रहस्यमय बन्दै जानु दुःखद विषय रहेको वक्ताहरूको भनाइ थियो। त्यसैले यस्ता जघन्य अपराधमा प्रहरीको भूमिकामाथि पनि उनीहरूले शंका गर्ने ठाउँ रहेको धारणा राखे। उनीहरूले आपराधिक घटनामा सरकारले पीडितलाई जतिसक्दो छिटो न्याय दिलाउन सक्नुपर्नेमा जोड दिए।

दोस्रो सेसनमा भूपी कक्ष र अलि मियाँ कक्ष दुवैतिर अन्तरसंवाद भयो। भूपी कक्षमा ‘संघीय नेपालमा आंचलिक स्वर’ शीर्षकमा केदार शर्माले कुन्ता शर्मा, अशोक थारू र हनिफ मियासँग संवाद गरे। उक्त अवसरमा उनीहरूले संघीयतामा गएको नेपालमा आंचलिकताको प्रभाव एवम् यसको प्रयोग सन्दर्भका विविध पक्षमाथि विश्लेषण गरेका हुन्। साथै साहित्यको विविधीकरणका विषयमा पनि उनीहरूले आआफ्ना धारणा राखे। त्यसैगरी अलि मियाँ कक्षमा ‘म किन राष्ट्रवादी होइन?’मा खगेन्द्र संग्रौला र ‘ह्वाई आन्ट यु अ फेमिनिस्ट’ शीर्षकमा अर्चना थापाले सम्बद्ध विषयमाथि प्रकाश पारे।

चौथो दिनको तेस्रो सेसन थियो, ‘अबको नेतृत्व : कसको, कस्तो ?’ यो सेसनमा गुणराज लुइँटेलले नेकपा नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता गगन थापा र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रसँग अन्तर्वार्ता गरेका थिए। उक्त अवसरमा पछिल्लो समय नेतृत्व वर्गमा देखिएका गुण/अवगुणबारे त छलफल भयो नै, सँगै नेपालको राजनीतिक क्षेत्रले अब लिनुपर्ने बाटोका विविध पक्षमाथि पनि विचार विमर्श भएको थियो। नेतृत्वको कमजोरी एवम् स्वार्थी चरित्रका कारण नेपालले विकासको मूल बाटो पहिचान गर्न नसकेको पनि उनीहरूले भन्न छाडेनन्।

कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले आफूहरूले नेकपामा आन्तरिक परिवर्तनको काम थालेको र त्यो कार्यान्वयनको चरणमा रहेको धारणा राखेका थिए। पार्टीमा रहेका विभिन्न संघसंगठन हटाउने पक्षमा रहेको उनको भनाइ थियो। त्यसअघि नेता रवीन्द्र मिश्रले कांग्रेस, नेकपा जस्ता ठूला पार्टीमा भ्रष्टाचार मौलाएको र नेता, मन्त्री एवम् सांसदले सरकारबाट एउटै शीर्षकमा दोहोरो सुविधा लिइरहेकोमा असन्तुष्टि जनाएका थिए। उनले जबसम्म नेतृत्ववर्गबाटै भ्रष्टाचार उन्मूलन हुँदैन, त्यति बेलासम्म विकास एवम् समृद्धि सम्भव नहुने बताए। कांग्रेस युवा नेता गगन थापाले भने नेतृत्ववर्गमा आफू मात्र अघि आउने प्रवृत्तिले विकासमा बाधा पुर्‍याएको दाबी गरे। यस्तो प्रवृत्तिमा सुधार नभएसम्म सही नेतृत्व नआउने उनको भनाइ थियो।

चौथो सेसनमा पनि भूपी कक्ष र अलि मियाँ कक्षमा अन्तरसंवाद चले। भूपी कक्षमा ‘गणतन्त्रपछिको नेपाली समाज’ शीर्षकमा राधेश्याम अधिकारी, सुरेश ढकाल र दुर्गा सोबसँग किरण नेपालले अन्तरसंवाद गरे। यो सेसनमा गणतन्त्र प्राप्तिपछि नेपाली समाजले लिएको बाटो, यहाँका अव्यवस्था, कुरीति, कुसंस्कार एवम् अब लिनुपर्ने दिशाबारे रोचक छलफल भयो। अलि मियाँ कक्षमा भने ‘द बेवार्ड डटर : अ काठमान्डू स्टोरी’ शीर्षकमा संवाद भयो। संवादमा मुना गुरुङ र श्रद्धा घलेले विचार विमर्श गरे। 

‘साहित्यमा सेन्सरसीप’ शीर्षकमा पाँचौँ सेसन चल्यो । यो सेसनमा युग पाठक, सरस्वती प्रतीक्षा, महेशविक्रम शाहसँग बहसिए, नयनराज पाण्डे। उनीहरूले साहित्यमा सेन्सरसीपको अवस्थासँगै लेख्न हुने, नहुने आदि विषयवस्तुबारे छलफल गरे। सोही समयमा अलि मियाँ कक्षमा ‘चार्ल्स शोभराज : इन्साइड द हार्ट अफ द बिकिनी किलर’ नामक पुस्तक विमोचन भयो। विमोचनसँगै पुस्तकका लेखक रामेश कोइरालासँग ब्रजेशले कुराकानी गरेका थिए। यो सेसनमा पुस्तक लेख्नुका कारणसँगै यहाँ समेटिएका अन्य पक्षबारे पनि उनीहरूले छलफल गरे।

फेस्टिभलअन्तर्गत चौथो दिनको छैटौँ सेसन थियो, ‘दन्त्यकथा।’ यो शीर्षकमा प्रदीप गिरिले आफ्ना अभिव्यक्ति दिए। उनले दन्त्यकथासँगै मिथकबारे पनि प्रवचन दिएका थिए। मंगलबारको अन्तिम सेसन ‘कविता वाचन’मा विभिन्न ११ जना कविले कविता वाचन गरे। समसामयिक, राजनीतिक, आर्थिक आदि विविध विषयवस्तुमा आधारित रहेर लेखिएका कवितामा फेस्टिभलका सहभागीहरू उत्साहित मात्र भएनन्, कतिपय लेखकका कवितामा वान्स मोरको आग्रह पनि आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.