|

रुकुम : हात नहुनु वा हातले काम नदिने भएर जिन्दगी आधा भयो र सिर्जना रोकिन्छ भन्ने केही छैन। इच्छा र हिम्मत भए हात नभए पनि गोडाकै भरमा लेख्नेलगायतका दैनिक आइपर्ने विभिन्न काम गर्न सकिँदोरहेछ। त्यसको गतिलो उदाहरण साहित्यकार झमककुमारी घिमिरे नै छन्। चर्चित साहित्यकार बन्न सफल झमकले खुट्टाले नै लेखेको पुस्तक 'जीवन काँडा कि फूल'ले मदन पुरस्कारसम्म हात पारिसकेको छ। 

रुकुम पश्चिम मुसिकोट नगरपालिका- १० साउनेपानीकी देविका कठायत पनि रुकुमेली झमक बन्न चाहन्छिन्। उनले पनि खुट्टाले लेख्नेदेखि अन्य विभिन्न काम गर्छिन्। जन्मजात बोल्न नसक्ने तथा हात खुट्टा नचल्ने २७ वर्षीया देविकाले बच्चैदेखि खुट्टाले नै लेख्ने गरेकी छन्। एक दिन पनि स्कुलको मुख नदेखेकी देविकालाई अक्षर चिन्न पनि कसैले सिकाएको होइन, न त उनलाई लेख्ने अभ्यास नै कसैले गरायो। तर उनी अक्षर चिन्न तथा खुट्टैले मजाले लेख्न सक्छिन्। अलिअलि कान सुन्ने देविकाले भाइबहिनी तथा दिदीदाइले लेखेको देखेरै खुट्टाले लेख्ने प्रयास गरिन् र अहिले उनी किताब पढ्ने तथा खुट्टाले विभिन्न लेख रचनाहरू लेख्ने गर्छिन्।

पाँच भाइ छोरा र पाँच बहिनी छोरीमध्ये साइँली छोरी देविका जन्मजात शारीरिक अशक्त भएपछि परिवारको ध्यान उनीमाथि खासै गएन। बोल्न र हिँडडुल गर्नसमेत नसक्ने भएपछि देविकाले २७ वर्षसम्म घरबाहिरको संसार देखिकी छैनन्। 

‘बोल्न तथा हिँडडुल नै गर्न नसक्ने भएपछि छोरीलाई स्कुल पठाउने कुरै भएन। ‘स्कुलै नगएर अक्षर चिन्ने मात्र नभई खुट्टाले लेख्न थालेपछि हामी सबै छक्क पर्‍यौँ’, उनका बुबा हुकुमबहादुर कठायतले भने, ‘छोरीले अनेकौँ रचनाहरू लेखेकी छे। दिनभर केही न केही लेखेरै बसिरहेकी हुन्छे।’ भोक लागेको बेला इसारा गरेर खाना माग्ने र खाना खाएर फेरि लेख्न बस्ने उनको बानी छ। देविकाले खाना पनि खुट्टाले नै खानुका साथै ब्रस गर्ने र आफ्ना कपडासमेत खुट्टाले नै धुन्छिन्। उनलाई शौचालय भने परिवारका सदस्यले लैजाने गरेका छन्। 

साहित्यमा निकै रुचि

खुट्टाले अन्य अक्षरहरू लेखेर अभ्यास गर्नुका साथै सबैभन्दा उनले साहित्यिक कृतिहरू कोर्ने गरेकी छन्। उनले गीत, गजल, मुक्तक, कथा, भावनाहरू र आफ्नो मनकाे पीडा खुट्टाकै सहारामा कापीमा उतार्ने गरेकी छन्। यस्तो छ उनको एउटा साहित्यिक लेखनी। 

दुःख पीडा भए पनि हाँसेकी मान्छे
मनैदेखि डाक्टरले जाँचेकी मान्छे
संसारभरी उज्यालोमा बाँच्नेहरू जीवन
हरेक दुःख पीडा सानैदेखि गाँसेकी मान्छे।

नहोस् मलाई केही पनि
राम्रो हुने यो मनमा बाँचेकी मान्छे
भगवान भए राम्रो बनाऊँ भन्ने आशमा
दुःख पीडा भए पनि हाँसेकी मान्छे।

सफल होस् भनी सफलताको कामना गर्ने
भविष्यमा कडा जीवन साँचेकी मान्छे
मबाट के कुराको कमी छ र आज
सर्वसारा देशको नाम राखेकी मान्छे।

देविकालाई लेखनमा शारीरिक अशक्तताले रोकेको छैन। भलै उनी हिँडडुल गर्न, बोल्न तथा अरू सामान्य नागरिक जस्ती नभए पनि उनको क्षमता भने सामान्य मान्छेको भन्दा कम छैन। झमककुमारीको जीवनसँग उनका धेरै कुराले मेल खान्छन्। उनको रहर पनि झमककुमारी जस्तै प्रख्यात हुने छ। उनै साहित्यकार झमककुमारीको मदन पुरस्कार जितेको 'जीवन काँडा कि फूल' किताब लिएर घरमा पुगेका वडा सदस्य धनबहादुर खड्का ‘वसन्त’सँग उनले यस्तै भाव पोखिन्।

नचिनेका मान्छे आउनेवित्तिकै लाजले भुतुक्क हुने देविका विस्तारै खुलिन्। वसन्तले केही कुरा भनेपछि उनलाई केही सहज भयो। 'तिमी जस्तै झमककुमारीले यो किताब खुट्टाले लेखेकी हुन्' भन्दै वसन्तले किताब देखाएपछि उनको अनुहारमा छुट्टै भाव देखियो। उनी मनमनै खुसीले दंग भएको भाव उनको मुहारमा प्रष्टै देखिन्थ्यो। त्यसपछि उनले नजिकै रहेको कलम खुट्टामा चेपिन् र छेउमै रहेको कापीमा केही लेखिन्।

आर्थिक अभावले सिर्जना ओइलिए

देविकाको परिवार आर्थिक रूपमा विपन्न परिवार हो। दाइ, दिदीहरू आआफ्नो ठाउँमा लागेपछि उनी आमाबुबासँग छन्। देविकाले धेरै साहित्यिक रचनाहरू लेखे पनि उक्त रचनाहरू प्रकाशनका लागि भने परिवारसँग क्षमता नभएको बुबा हुकुमबहादुरले बताए। ‘छोरीले धेरै राम्राराम्रा रचनाहरू तयार पारेकी छे', उनले भने, ‘तर उक्त रचनाहरू प्रकाशन गरेर धेरैका माझमा पुर्‍याउन भने सकिएको छैन।’

देविकाको क्षमता देखेपछि लोभिएका वडा सदस्य वसन्तले उनका लेख रचना प्रकाशन गर्न सहयोगका लागि सबैलाई आह्वान गरिएको बताए। उनको दैनिकीलाई समेत थप सहज बनाउने र उनलाई सबै माझ चिनाउने उद्देश्यले रचना प्रकाशनका लागि सहयोगको आह्वान गरिएको उनी बताउँछन्। ‘ऊ हाम्रो समाजको गहना हो। यस्तो विशेष क्षमता भएका मान्छे कमै हुन्छन्', उनले भने, ‘यस्ता क्षमतालाई बचाइराख्नु हामी सबैको दायित्व हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.