|

सिन्धुपाल्चोक : बैशाख १२ को विनाशकारी भूकम्पपछि तातोपानी नाका बन्द छ। नेपाल र चीनको प्रमुख व्यापारिक नाका बन्द हुँदा दुवै देशको अर्थतन्त्रमा ठूलै नोक्सानि परेको छ। तर भूकम्प गएको करिव चार वर्षपछि तातोपानी नाका खुल्ने ‘ग्रिन सिग्नल’ देखिएको छ।

तीन वर्षदेखि बन्द तातोपानी नाका संचालनमा ल्याउने चिनियाँ पक्षले जनाएको छ। आगामी मे महिनाबाट नाका संचालनमा ल्याउने तयारी भइरहेको भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएपछि उक्त नाका बन्द भएको थियो। त्यसैको एक वर्षपछि २०७३ असार २१ को भोटेकोसी बाढीले सडक, भौतिक संरचना तहसनहस बनाउँदा नाका संचालनमा थप ढिलाइ हुन पुग्यो। बर्खे बाढी, पहिरोले २६ किलोमिटर बाह्रबिसे-लिपिङ-डिकखण्ड तहसनहस भयो। भौतिक संरचनासमेत ध्वस्त भएपछि नाका खुलाउनेबारे दुवै पक्षमा अन्योल सिर्जना भएको थियो।

नेपाल सरकारले तातोपानी नाकाका अतिरिक्त तिब्बतबाट सामान ढुवानी गर्ने र तिब्बततर्फ मालसामान निर्यात गर्न बझाङ, रसुवागढी, दार्चुला, ताप्लेजुङ र हुम्लातर्फका व्यापारिक नाका खोल्न पनि चीन सरकारसँग आग्रह गरेको थियो। तर अन्य नाकाभन्दा तातोपानीलाई चीन सरकारले बढी प्राथमिकतामा राखेको चिनियाँ पक्षलाई उद्धृत गर्दै अध्यक्ष पौडेलले जनाए।

भन्सारलगायत सबै सरकारी कार्यालय पनि हालसम्म बन्द छन्। सीमा सुरक्षार्थ सशस्त्र प्रहरी मानवविहीन नाका कुरेर बसेको छ। सामरिक हिसाबले सीमामा सुरक्षा बल हुने नै भयो। भोटेकोसी बाढीपछि कोदारी र लिपिङ मानवविहीन बने। तातोपानीदेखि झिर्पुसम्मका बासिन्दा विस्थापित भए। कुरूप, क्षतविक्षत भूगोल चारैतिरबाट बग्ने क्रम चलिरह्यो। मोटरेबल पुलसमेत भाँचिने र बाढीले बगाउन थालेपछि सीमाबासी आत्तिएर लाखापाखा लागे। तर अहिले नाका खुल्ने संकेत देखिन थालेका छन्। सीमाक्षेत्रमा रहेको मितेरी पुलको निर्माणसमेत तीव्र गतिमा भइरहेको छ।

सुरक्षाको चासो राख्दै नेपाल-चीन सरकारी अधिकारीबीच नौ पटक विभिन्न बैठक सम्पन्न भइसकेका छन्। दैनिक करोडौँ रुपैयाँ राजस्व संकलन हुने तातोपानी नाका चीनसँग जोडिएको सबैभन्दा ठूलो भन्सार थियो। तातोपानी भएर तिब्बतको कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीका कारण पनि यो नाका चर्चित थियो। पर्यटकको भारी बोकेरै पनि सीमाबासीले दैनिकी सहजै गुजारेका थिए।

भूकम्पपछि नेपाल-चीनका सरकारी प्रतिनिधिबीच भएका थुप्रै बैठकमध्ये महावाणिज्यदूत गोविन्दबहादुर कार्कीको पहलमा पछिल्लो समय खासामा भएको बैठक सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। तिब्बतका सरकार उपप्रमुखको उपस्थिति रहेको उक्त बैठकमा चीन र नेपालका सबै तह र कार्यालयका सरकारी अधिकारी सामेल थिए। त्यति बेलैको बैठकमा तातोपानी नाका खुल्ने संकेत मिलेको थियो। तर कहिले खुल्छ, अझै निश्चित भएको भने छैन। हरेक बैठकमा चिनियाँ पक्षले पुनर्निर्माण सकेपछि बनाउनुपर्ने नयाँ सुरक्षा रणनीति र प्रतिवद्धताबारे छलफल चलाउने गरेको छ।

चीनको मुख्य चासो सीमा सुरक्षामा नेपाली प्रतिवद्धता रहेको छ। उसले ज्वाइन्ट कमाण्ड मेकानिज्म बनाउने चाहना राखेको छ तर नेपाली पक्षले बोल्न नसकेकाले उनीहरू झस्किएका छन्। नाकाबाट सुरक्षामा पर्नसक्ने खतरा चीनको मुख्य चासोको विषय हो। सीमामा हुने तस्करी र आपराधिक गतिविधिभन्दा स्वतन्त्र तिब्बतको आन्दोलनको भय चीनलाई छ। विगतमा नाका संचालन हुँदा स्वतन्त्र तिब्बत पक्षधरले सबै गतिविधि खासा भएर तिब्बतभर फैलाउने गरेको तथ्य चीनले पत्ता लगाएको थियो।

तातोपानी नाकाबाटै व्यापार चलाउने हिसाबले लार्चास्थित सुख्खा बन्दरगाहको पुनर्निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। कोदारी राजमार्ग द्रुत गतिमा बन्दै छ। सीमाको मितेरी पुलको काम पनि यही साताबाट सुरु गरिएको छ। पुनर्निर्माण कार्यमा चिनियाँसहित ४०० नेपाली कार्यरत छन्। नेलामदेखि खासासम्मको पुनर्निर्माण सकेर चीन सरकारले मितेरी पुल जोड्ने खासा-लिपिङ सडकलाई अन्तिम रूप दिँदै छ। चीनतर्फ लगभग पुनर्निर्माण सकिएकाले नेपालतर्फ सडक र सरकारी कार्यालय पुनर्निर्माणलगत्तै नाका खुल्ने निश्चित भएको छ।

नेपालतर्फ निर्माणाधीन अवस्थामा रहेको ड्राइपोर्ट र कोदारी सडक आगामी बैशाखभित्र हस्तान्तरण गर्ने चिनियाँ लक्ष्य रहेको सिआरसिसीका प्रतिनिधि मिस्टर लिउले जानकारी दिए। नाका खुल्ने वातावरण बन्दै गएपछि अन्यत्र विस्थापित सीमाबासी घर फर्कन थालेका छन्।

सन् २०१५ नोभेम्बर ५ मा काठमाडौंमा नेपाल र चीन सरकारका भन्सार अधिकारीबीच थप सात नाका संचालनमा ल्याउन सम्भाव्यता अध्ययन गर्नेलगायत २० बुँदे सहमतिमा हस्ताक्षर भएको थियो। उक्त सहमतिअनुसार मुस्ताङको यारिङ, हुम्लाको हिल्सा, ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, गोरखाको लार्के र मुगुको नाग्चेलाग्मा नाकाको सम्भाव्यता अध्ययन गर्ने सहमति भए पनि अहिलेसम्म त्यसको सम्भाव्यता अध्ययन भने भएको छैन।

नेपालको उत्तरी सीमा जोडिएको चीनसँग अहिलेसम्म संचालनमा रहेका दुई नाकामध्ये तातोपानी भूकम्पपछि बन्द छ। रसुवा-केरुङ नाका हाल संचालनमै छ। नाकालाई लक्षित गरेर पुनः सुरु भएको निर्माणाधीन बन्दरगाह ८० प्रतिशत बढी सम्पन्न भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.