|

धनकुटा : धनकुटा नगरपालिका–४ मा रहेको मार्गेश्वरी प्राथमिक विद्यालयमा  रहेका मानसिक तथा बौद्धिक अपांगता भएका विद्यार्थीहरूलाई कक्षा सञ्चालनमा समस्या हुँदै आएको छ। विभिन्न रुपमा अपाङ्गता भएका विद्यार्थीहरुलाई एकै ठाउँमा अध्यापन गराउनुपर्ने भएकोले एक रुपतामा पढाउन समस्या हुने गरेको हो। श्रवणशक्ति कम भएका विद्यार्थीहरुबीच फरक–फरक क्षमता हुने भएकोले एकै तरिकाले पढाउन असहझ हुने गरेको विद्यालयका प्रधानाध्यापक श्रवण राईले बताए।

उनका अनुसार सबै विद्यार्थीको क्षमता एकै किसिमको नहुने भएकाले एकै पटक बुझाउन समस्या हुने गरेको छ। सामान्य विद्यार्थीहरुलाई धेरै जनालाइ एकै ठाँउमा पढाउन सकिन्छ तर फरक क्षमता भएका विद्यार्थीलाई बुझाउन समस्या हुन गरेको छ। अपाङ्गता भएका विद्यार्थीहरुलाई अध्यापन गराउन १० जना बराबर १ जना शिक्षकको आवश्यकपर्ने हुन्छ तर यस विद्यालयमा साङकेतिक भाषाबाट पढाउन सक्ने शिक्षक नभएको कारण सबै विद्यार्थीहरुलाई एकै जना शिक्षकले पढाउनु पर्ने अवस्था रहेको छ।

विद्यालयमा धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, सुनसरी र मोरङ्ग लगायत जिल्लाका अपाङ्गता भएका २७ जना बालबालिकाहरु अध्ययन रत छन। सो विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीलाई सरकारले पढाई खर्चमा सहयोग गर्दै आएको र अन्य विद्यार्थीहरुको पढाइको लागि विभिन्न संघ सस्थाहरुको सहयोगबाट पढाइ खर्च संकलन गर्दै आएको विद्यालयले जनाएको छ। अपाङ्गता भएका विद्यार्थीहरुलाई पढाउनको लागि विशेष तालिम लिएको शिक्षक शिक्षीकाको आवश्यक पर्ने भएकोले विशेष तालिम लिएका शिक्षक नभएका कारण पनि शिक्षकको अभाव रहेको छ।

राष्ट्रिय बहिरा अपाङ्ग संघबाट ६ महिने तालिम र अपाङ्ग सेवा संघबाट १० महिने तालिम प्राप्त गरेका राईले २० वर्षदेखि अपाङ्गता भएका विद्यार्थीहरुलाई अध्यापन गराउँदै आउनु भएको छन। हाल पढाइमा नयाँ शब्द प्रयोग हुन थालेकोले नयाँ शब्द सिकाउन तालिमको आवश्यक रहेको राईले बताए। समस्यालाई परिपूर्ती गर्न यसै विद्यालयमा अध्यापन गरेका एक शिक्षकले अध्यापनमा सहगोग गर्दै आएको राईले बताए।

२०५३ सालमा स्थापना भएको विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरिँदै आएको छ। कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा सामान्य विद्यार्थीहरु पनि पढने गरेका छन्। ३१ जना अपाङ्गता भएका विद्यार्थीहरुको व्यवस्थापनको लागि सरकारले २१ जनाको लागि मात्र व्यवस्थापन गर्दै आएको र दाताहरुको सहयोगमा १० जना विद्यार्थीहरुलाई व्यवस्थापन गर्दे आइरहकोमा अहिले विभिन्न जिल्लाबाट विद्यार्थी थपिने क्रम बढिरहेको राईले बताए।

जिल्लाको अन्य ठाउँमा अपाङ्गता भएका विद्यार्थी पढाइने भएता पनि यो विद्यालय अपाङ्गता भएका विद्यार्थीहरुको लागि सहज वातावरण भएकोले पनि अभिभावकले मन पराउने गरेका छन्। यातायातको सुविधा रहेको तर मुख्य सडकभन्दा टाढा रहेको र बजारको हल्लाभन्दा अलग रमणीय ठाउँमा रहेकोले पनि अपाङ्गता भएका विद्यार्थीलाई पढाइमा सहजता रहेकोले विद्यार्थी थपिने क्रम बढिरहेको भए पनि व्यवस्थापनमा समस्या रहेको विद्यालयको भनाइ छ। हाल २१ जना विद्यार्थीको लागि सरकारले एकजना बराबर मासिक चार हजार रुपैयाँ दिने गरेको छ। विद्यार्थीहरुको लागि खाने, बस्ने, स्वास्थ्य उपचार लत्ताकपडा लगायतको व्यवस्थापन साथै यसैबाट एक जना शिक्षक र सहयोगीलाई समेत वयवस्थापन गर्नु पर्ने विद्यालयको बाध्यता रहेको छ। जाडो समयमा विद्यार्थीहरुको लागि न्यानो कपडाको आवश्यक पर्ने भएकोले मौसमअनुसार कपडा दिन पनि आर्थिक समस्या रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.