|

तेह्रथुम : विगत चार वर्षदेखि दुबईको जेलमा रहेका फेदाप गाउँपालिका–२, ओयाक्जुङ्गका खड्कबहादुर जोगीलाई स्वदेश फर्काउन यतिबेला देश विदेशबाट सहयोगी हातहरू जुटिरहेका छन्। 

जोगीलाई नेपाल फर्काउन आवश्यक व्लड मनी ६० लाखमध्ये हालसम्म ५५ लाख बढी रकम संकलन भएको जोगी बचाऊ अभियान समिति, तेह्रथुमले जनाएको छ।घरमा बुढी आमा, श्रीमती र छोराछोरी छन्। काम गर्ने जवान छोरो ४ वर्षदेखि विदेशको जेलमा रहेको भन्दै घर फर्काइदिन पीडितकी ८० वर्षीय आमा ईन्द्रमाया जोगीले अनुरोध गरिरहेकै छिन्।

मानवीय धर्म सम्झिएर सबैलाई सहयोग गर्न अनुरोध गरेको र सबैले आफ्नो पीडा बुझी सहयोग गरेको पीडितकी श्रीमती डम्माकुमारी जोगीले बताइन्। जोगीलाई स्वदेश फर्काउन सहयोगी हातहरु जुटिरहेको बेला जोगी परिवार भने यतिबेला केही आशावादी देखिएको छ।

विगत ५ वर्षअघि आफ्नो परिवारको सुन्दर भविष्यको कल्पना गर्दै २०७० सालमा परदेशिएका जोगी दुबईको अलगर्फ डेभलपमेन्ट प्रोजेक्ट कम्पनीमा कार्यरत थिए। उनी सवार गाडीबाट सोही कम्पनीमा कार्यरत सहकर्मी फिलिपिनो नागरिक खसेको र कम्पनीको निर्देशनमा निजलाई उठाई हस्पिटल पुर्‍याउँदा मृत्यु भएकोमा मानव हत्याको झुट्टो अभियोग लागि अदालतले पाँच वर्ष कारागार सजाय र दुई लाख दिराम जरिवाना तोकेको थियो। 

अदालतले पाँच वर्ष कारागार सजाय र ६० लाख नेपाली रुपैँया ब्लड मनी तोकेको र उक्त रकम बुझाउन तोकिएको समय मार्च २३, २०१९ अर्थात् विक्रम संम्वत् २०७५ चैत्र ९ गतेभित्र जम्मा गर्नु पर्नेछ। सो समयावधिमा उक्त रकम बुझाउन नसक्दा उनलाई फाँसीको सजाय हुन सक्ने भन्दै बचाइदिन परिवारजनले अनुरोध गरेपछि सहयोगी हातहरुबाट यतिको रकम जुटेको हो। 

खड्गबहादुर जोगी बचाऊ समितिको नाममा रहेको नेपाल बैंक लिमिटेड तेह्रथुमको खातामा ५४ लाख र पीडितकी श्रीमती डम्माकुमारी जोगीको नाममा रहेको एनआइसी एसिया बैंकमा १ लाख जम्मा भएको साथै देश विदेशमा संकलन भएको रकम आउने क्रममा रहेकोले जोगीलाई नेपाल फर्काउन आवश्यक रकम जम्मा हुनेमा विस्वस्त रहेको खड्गबहादुर जोगी बचाऊ अभियानका अध्यक्ष डिल्ली गिरीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.