|

तेह्रथुम : तेह्रथुमका विभिन्न क्षेत्रमा शुक्रबार दिउँसो भारी हिमपात भएको छ। केही दिन यता तेह्रथुममा अत्यधिक चिसो बढेका कारण पनि आज जिल्लाका धेरै स्थानहरूमा पानी पर्नुका साथै हिउँ परेको हो।

तेह्रथुमका साथै संखुवासभा, धनकुटा र ताप्लेजुङका विभिन्न ठाउँमा पानीसँगै हिउँ पेरेको छ। तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती पर्यटकीय क्षेत्र तीनजुरे, मिल्के, जलजले क्षेत्रमा पनि हिउँ परेको छ। हिउँ परेपछि चिसोका कारण जिल्लाबासीको जनजीवन भने कष्टकर बन्दै गएको छ। टिएमजे क्षेत्रको चौकीबजार, गुफापोखरी, मंगलबारे, लामपोखरी, सुकेपोखरी र मिल्के जलजले क्षेत्रमा यो वर्ष पहिलो पटक व्यापक हिमपात भएको छ।

गतवर्ष माघको तेस्रो साताबाट हिमपात सुरु भएको यस क्षेत्रमा यो वर्ष भने पुसको दोस्रो सातामा नै हिउँ पर्न सुरु गरेको छ। गुफापोखरी क्षेत्रमा करिब आधा फिट हिउँ परेको स्थानीयबासीले बताएका छन्। तेह्रथुमको बसन्तपुर, लसुने, जिरिखिम्ती, मोराहाङ, श्रीजुङ क्षेत्रका साथै संखुवासभा र ताप्लेजुङका केही उच्च स्थानमा समेत हिउँ परेको बुझिएको छ।

जिल्लाका वसन्तपुर, लसुने, जिरिखिम्ती, औंशीडाडा, मेन्छ्यायेम लगायत थुप्रै स्थानमा पानीसँगै निकै बाक्लो हिउँ परेको छ। यी स्थानहरूमा धेरै लामो समयपछि हिउँ परेको म्याङलुङ ४, पिप्लेका प्रेम शंकरले बताए। यस क्षेत्रमा तेह्रथुमलगायत धनकुटा, धरान, इटहरी, विराटनगरका साथै पूर्वका थुप्रै स्थानहरूबाट घुम्न तथा हिउँ खेल्न आउने गर्दछन्।

चिसो महसुस भए पनि हिउँ परेको हेर्न आउनेको भीड लागेको स्थानीयबासीले बताएका छन्। चिसो ठाउँमा हिउँ खेल्न रमाइलो भएसँगै केही फरक आनन्द हुने अनुभव बताउँदै हिउँ खेलेर मजा लिनको लागि चिसो भए पनि हिउँ खेल्न आएको म्याङलुङका विजय श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.