|

काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी निर्मला पन्त हत्या प्रकरणमा गम्भीर र संवेदनशील भएको बताएका छन् ।

सामुदायिक सेवा केन्द्र गोङ्गबुको १३ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले निर्मला पन्त हत्याले नेपाल प्रहरीलाई सबैभन्दा दुःखित बनाएको बताए । 'निर्मला पन्तको हत्यारा कुनै न कुनै दिन प्रहरी खोरभित्र पुग्छन्', उनले भने ।

उनले आर्थिक वर्ष ०७४-०७५ मा प्रहरीमा बलात्कारसम्बन्धी एक हजार ८८० मुद्दा दायर भएकोमा र एक हजार ३६६ मुद्दाको प्रहरीले सफल अनुसन्धान गरी दोषीलाई कारवाही गरेको जानकारी दिए।

काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले सामुदायिक सेवा केन्द्रलाई राजनीतिक गर्ने थलोभन्दा समाजसेवा गर्ने थलोको रूपमा विकास गर्नुपर्ने बताए। टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपालले समाजमा हुने अपराध नियन्त्रणका लागि समुदाय र प्रहरी सँगसँगै अगाडि बढ्नुपर्ने विचार राखे।

केन्द्रका पूर्वअध्यक्ष रामकृष्ण सेढाईं, केन्द्रका सल्लाहकार कल्पना शर्मा, केन्द्रका उपाध्यक्ष लक्ष्मण न्यौपानेलगायतले प्रहरीले भर्खरै शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई केन्द्रले साझेदारी गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

विसं २०५८ मा स्थापना भएको सामुदायिक सेवा केन्द्रले गोङ्गबु क्षेत्रभित्र रहेको आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सिसीक्यामरा जडान, विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको केन्द्रका कार्यवाहक अध्यक्ष शैलेश कार्कीले जानकारी दिए।

सोही कार्यक्रममा सामुदायिक सेवा केन्द्र गोङ्गबुमा कार्यरत प्रहरी हवल्दार पुरुषोत्तम अधिकारी र प्रहरी जवान चमेली कँडेललाई सम्मान गरिएको थियो। साधारणसभाका अवसरमा आजै सामुदायिक सेवा केन्द्रले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.