विचार

मेलमिलापको सन्देश : संविधानको परिणाममुखी कार्यान्वयन
SHARES

पुस १६, २०७५

    डिसेम्बर ३१, १९७६ अर्थात् १६ पुस २०३३ को दिन। पटनाबाट एउटा प्लेन काठमाडौंमा अवतरण हुँदै थियो र त्यसमा सवार भएका प्रमुख व्यक्तिहरूमा हुनुहुन्थ्यो- नेपाली कांग्रेसका तत्कालीन अध्यक्ष तथा २०१७ सालमा अपदस्थ प्रधानमन्त्री विपी कोइराला र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंह, जसलाई नेपाली राजनीतिमा लौह पुरुषको रूपमा समेत जानिन्थ्यो, आफ्ना अडानका कारणले। त्यो प्लेनमा उहाँहरू स्वनिर्वासनबाट आफ्नो देश फर्कँदै हुनुहुन्थ्यो। उहाँहरूले पार्टीका तर्फबाट विपीमार्फत नै एउटा लामो वक्तव्य निकालेर राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्केको स्पष्ट पारिएको थियो। वक्तव्यमा मुलुक विदेशीको कब्जामा जान लागेको र अब सबै मिलेर बचाउनुपर्ने जिरह थियो। कतिपय भारतीय नेताहरूले विपीलाई आत्महत्या गर्न जान लागको आरोप पनि लगाएका थिए रे! तर विपीको नेपाल फर्कने नीतिको सबैभन्दा ठूलो समर्थक गणेशमानजी नै हुनुभयो, जसरी कि प्रजातन्त्रका सबै प्रस्तावमा विपीको अखण्ड समर्थकका रूपमा पहिले पनि हुनुहुन्थ्यो। विपी र गणेशमानजीको नेपाल फर्कने प्रस्तावप्रति उहाँहरूकै दलका कतिपय नेताहरूको पनि सकारात्मक धारणा थिएन तर विपीलाई नेपालको अवस्थाले पिरोलेको पाइन्थ्यो। 

    एकातिर विपी र गणेशमानजीका विरुद्धमा नेपालका अदालतमा फाँसीसमेत हुने खालका मुद्दा थिए भने अर्कोतिर ती सबैको कुनै परवाह नगरी विपी राजासँग राष्ट्रियताका प्रश्नमा मेलमिलाप र प्रजातन्त्रका लागि संघर्ष गर्ने नीति लिएर नेपाल आउँदै हुनुहुन्थ्यो। मुलुकमा संविधान संशोधन भएर पंचायतलाई कठोरताका पक्षमा उभ्याइन थालेको थियो र त्यसका लागि असल पात्र भनेर डा. तुलसी गिरी प्रधानमन्त्री बनाइनुभएको थियो। मुलुक राजनीतिक बिस्फोटको संघारमा थियो कि राजनीतिक बन्देजको भुमरीमा भनेर स्पष्ट थिएन तर विपीले मुलुक राजनीतिक रूपमा बाहिरकाले नै चलाउन थालेको सम्झन थाल्नुभएको थियो। 

    पुसको माइनस तापक्रमको जाडो, डिसेम्बरको अन्तिम दिन तर काठमाडौंको सडकमा प्रहरीको ठूलो जमात यस कारणले पनि तैनाथ थियो कि पुसको पहिलो सातादेखि नै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई धरपकड सुरु भएको थियो। सुरक्षाका लागि भनेर तैनाथ प्रहरीहरूको उपस्थितिले बल्ल नेपाली जनताले थाहा पाउन थालेका थिए कि आज विपी नेपाल आउँदै हुनुहुन्छ। हुनत पुस १ गते, फागुन ७ गते वरिपरि पनि प्रजातन्त्रका पक्षमा बोल्ने युवाविरुद्ध धरपकड पहिले पनि हुन्थे। त्यस दिन पनि भएको थियो- विपीको स्वागतमा कोही पनि जान नपाऊन् भनेर होला। तर विमानस्थलमा हजारौँ नागरिक जम्मा भएका थिए तर एक प्रकारको त्रासपूर्ण वातावरणमा, जिज्ञासापूर्ण वातावरणमा। 

    फेरि विपीको त्यही नीतिको स्मरण गर्नु जरुरी छ—प्रजातन्त्रका पक्षमा कतैबाट कुनै पनि खालको व्यवधान आउन थालेमा प्रजातन्त्र जोगाउन संघर्ष गर्नुपरे पनि पछि नहट्ने तर नेपालको राष्ट्रियताका प्रश्नमा कसैसँग कुनै सम्झौता पनि नगर्ने र सबै नेपालीहरू एकभएर रक्षा गर्ने। 

    तर पुसको जाडोमा राजनीति भने तातेको थियो। खासगरी भर्खरै जस्तो एकदलीय व्यवस्थालाई व्यवस्थित गर्न भनेर निर्दलीयता बचाउन ब्युँझिएको गाउँ फर्क राष्ट्रिय अभियानको चकचकी थियो। विपी र गणेशमानजीलाई सरकारले के गर्ला भन्ने  एकातिर जिज्ञासा थियो भने अर्कोतिर राज्य विप्लवको दोषमा आरोपित नेताहरू जो खोजेर पक्रनु पर्ने थियो, ती मानिस नेपालमा नै आफैँ जानाजान सिंहको खोरमा आउँछ भने फाँसी पनि हुन्छ भन्ने हल्ला चलाउन थालिएको थियो। पंंचहरूमा तर राजाको विश्वास नभएको जस्तो गरी राजाको नाममा आफ्ना आफ्ना दुनो सोझ्याउने काम सुरु भएको थियो। न राजाले नै बोलाएका पो हुन् कि भन्ने र इन्दिरा गान्धीको अपमानले विपी बरु नेपालमा नै मर्ने भनेर आउनुभएको भन्ने पनि हल्ला पंंचहरूले नै चलाएका थिए। त्यस बेला पंंचहरू कोही पनि उदार र अनुदार थिएनन् तर त्यस्तो विभाजन भने देखाइन्थ्यो। 

    त्यो बेलामा विपीको स्वागतार्थ विमानस्थलमा भेला भएका हजारौँ कांग्रेस मात्र थिएनन्, ती कांग्रेसलाई चिनीचिनी पक्रनका लागि थुप्रै सादा पोसाकका सुरक्षाकर्मीहरू पनि तैनाथ थिए। सरकार किन डराएको थियो, थाहा भएन। विपीलाई स्वागत गर्न भनेर भूमिगत बस्नुभएका युवा नेता रामचन्द्र पौडेललाई बचाउन कार्यकर्ताहरूलाई हम्मेहम्मे भएको थियो। प्रायशः नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू हिरासतमा राखिएका थिए तर पनि प्रजातन्त्रप्रतिको आस्थालाई देखाउन पनि त्यो जाडो र त्रासपूर्ण वातावरणमा पनि हजारौँ मानिसहरू जम्मा हुनु आफैँमा नयाँ अनुभव थियो। 

    विपी र गणेशमानजीलाई लिएर आएको प्लेन विस्तारै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो र एउटा अर्को प्लेनको पछिल्तिर लगेर उभ्याइयो, जसलाई हामी विमानस्थलको माथिल्लो भागको सिसाबाट हेर्नेहरूले देख्ने ठाउँमा थिएन। पछि थाहा भयो, त्यो प्लेनबाट विपी र गणेशमानजीलाई हिरासतमा लिइयो र सायद सुन्दरी जेल नै लगिने अनुमान गरियो। 

    लाग्थ्यो, त्यो दिन कुनै युद्ध हुँदै छ जस्तो गरी एम्बुलेन्स, वारुण यन्त्र, प्रहरी र सेनाका भ्यानहरू विमानस्थलभित्रै भरिएका देखिन्थे। सेना र प्रहरी बाहिरै पनि र भित्रै पनि थिए। त्यो दिन वास्तवमा दुई जना नेपाली कांग्रेसका ठूला नेताहरूसँगै अरू युवा नेताहरू पनि आएका थिए र तिनले देशमा मेलमिलापको वातावरण ल्याएर प्रजातन्त्रको पुनर्बहाली गर्ने कुरा भनेका थिए। त्यो राजासँग मेलमिलाप गर्ने कुरा गरिएको  थियो, जसले १६ वर्षअघि मात्र प्रजातन्त्रको हत्या गरेर त्यसको शवमाथि एउटा स्वैरकल्पनाको निर्दलीय व्यवस्थाको सूत्रपात गरेका थिए, जसले मुलुकको विकास गर्न सकिरहेको थिएन किनभने राजाको एक मात्र ध्येय प्रजातन्त्रको विकल्प सक्रिय राजतन्त्र पनि हुन्छ भनेर विश्वलाई देखाउनु थियो तर आफूले स्थापना गरेको व्यवस्थालाई प्रजातान्त्रिक नै देखाएर। निरंकुश राजतन्त्रविरोधी विचारप्रति असहिष्णुता र प्रजातन्त्रप्रतिको ओठे भक्ति जस्ता विरोधाभाषपूर्ण व्यवहारले स्वयं पंंचहरू पनि वाक्क भएको अवस्था थियो र पनि पंंचहरूमा राजासँग  सिधा केही भन्ने आँट थिएन। 

    राजा वीरेन्द्रलाई उदारवादी राजाको रूपमा नदेखाउन पनि संविधानमा अनुदारपन थपिएको हल्लासँग विपी नेपाल आउँदा जमेको पोखरीमा ढुंगा हानेजस्तो भएको थियो र नेपालमा अचानक राजनीति तातेर मुलुक प्रजातन्त्र र अप्रजातन्त्रका पक्षमा सिधै चिरा परेको भान हुन्थ्यो। विपीको धारणा राजाले प्रजातन्त्रको हत्या गरेकाले राजाले स्वेच्छाले प्रजातन्त्र फिर्ता गरून् भन्ने पनि लाक्षणिक अर्थ लगाउनेहरू पनि थिए तर विपीले आफ्नो मेलमिलापको नीतिलाई प्रजातन्त्रका पक्षमा संघर्ष र राष्ट्रियताका पक्षमा सहयोगको नीति हो भनेर स्पष्ट भन्नुभएको थियो। वास्तवमा नेतृत्वको पहिचान नै त्यही रहेछ, जेलमा विभिन्न मुद्दा खपेर बसेका कांग्रेसी कार्यकर्ताहरूमा पनि मेलमिलापले मात्र नेपालको राजनीतिले निकास पाउने कुरामा विश्वस्त देखिन्थे। 

    आज राजा स्वयं सडकमा मेलमिलापको नारा लगाइरहेका छन् र राजाले सिद्ध्याएँ भनेका शक्तिहरू शासनमा छन्। हाम्रो तर नीति भनेको जनताको पक्षमा सबै दलहरू आपसमा बसेर योजना गर्ने खालको आदर्श मेलमिलाप गर्न सक्षम हुने सन्देश देओस् सत्तापक्ष र प्रमुख प्रतिपक्षलाई यो मेलमिलाप दिवसले भन्ने कामना गरौँ र आपसमा मेलमिलापले मात्र राज्यको प्रगति सम्भव छ भनेर आजभन्दा ४२ वर्ष अघि राखेको प्रस्तावलाई आज पनि मनन गरौँ। 

    राजा र विपीका बीचमा तगारो हाल्ने काम पनि भयो तर तरङ्गित राजनीतिले एउटा स्वरूप ग्रहण गर्दै गएर पंंचायत र बहुदलका बीचको जनमतसंग्रह, जनमतसंग्रहमा बहुदलको प्राविधिक पराजय, पंंचायतविरुद्धको संयुक्त आन्दोलन र प्रजातन्त्रको पुनर्स्थापना जस्ता घटनाहरू सिनेमाका दृश्य परिदृश्य जस्तै गरी भए। त्यही क्रमको पछिल्लो कडीको रूपमा आजको गणतन्त्रात्मक अवस्थाको विकास भएको मान्नुपर्ने हुन्छ। 

    नेपालको राजनीतिमा विपीको त्यो दुस्साहस नै भन्ने खालको राष्ट्रिय मेलमिलापको व्यावहारिक नीतिले विभिन्न चरण पार गरी आजको वर्तमानमा नेपालको राजनीति प्रवेश गरेको छ। प्रजातान्त्रिक परिपाटीमा विश्वास गर्दै र निर्वाचनको माध्यमबाट आफूलाई कम्युनिस्ट मान्नेहरू दुई तिहाईको बहुमतका साथ सरकारमा छन्। फेरि विपीको त्यही नीतिको स्मरण गर्नु जरुरी छ- प्रजातन्त्रका पक्षमा कतैबाट कुनै पनि खालको व्यवधान आउन थालेमा प्रजातन्त्र जोगाउन संघर्ष गर्नुपरे पनि पछि नहट्ने तर नेपालको राष्ट्रियताका प्रश्नमा कसैसँग कुनै सम्झौता पनि नगर्ने र सबै नेपालीहरू एक भएर रक्षा गर्ने। 

    विपीलाई आजको समयसँग दाँजेर हेर्दा पनि राजनीतिक, सामाजिक तथा आर्थिक रूपान्तरणको चेतना, जुन उहाँले देखाएर र नेतृत्व दिएर जानुभएको थियो, अझै पनि सामयिक छ। सूचना र प्रविधिको विकाससँगै उहाँका राजनीतिक तथा सामाजिक रूपान्तरणका सूत्रहरू सबैका हुन् र कांग्रेसका अझ बढी हुन्।  त्यसलाई कांग्रेसले पालना गरोस् वा व्यावहारिक बनाओस् या कोही अरूले, तिनले नेपालकै हित गर्ने हुन्। 

    विपीका धारणाहरूलाई पुँजीका रूपमा कांग्रेसले नै बढी प्रयोग गर्दा स्वाभाविक हुन्छ तर राजनीतिमा जसले पनि त्यसलाई नगदीकरण गर्न सक्छ। सार्वकालिक नीति सबैको हुन्छ। राष्ट्रिय मेलमिलाप भनेको अब विपीको मात्र धारणा रहेन, यो त सबैले सबैसँग मिलेर राष्ट्र जोगाउने सूत्र बनेको छ। पहिले सबै दलहरूमा देखिएको व्यक्तिगत अहम् तुष्टिलाई व्यवस्थापन गर्नका लागि पनि मेलमिलाप चाहियो, सरकार र विपक्षका बीचमा देखिने सैद्धान्तिक र व्यावहारिक विवादमा समाधानको बाटो पनि मेलमिलापले नै व्यवस्थापन गर्न सकिन्छ। मेलमिलाप अर्थात् संवादको नीति। आपसमा, अन्तरदलीय, अन्तरप्रदेशीय, अन्तर्राष्ट्रिय जुनसुकै अवस्थामा पनि संयमित रूपमा तर्कपूर्ण स्वरूपमा गरिने संवादको एउटा सूत्र। 

    मानिसहरू भन्छन्- विपीको मेलमिलाप त राजासँग थियो, अब राजतन्त्र गयो, यो नीति पनि सिद्धियो। तर विपीले त अन्तरविरोधको सही परिणाम निकाल्नका लागि चाल्नुभएको तत्कालीन रणनीति थियो, जुन जहिले पनि जसलाई पनि सूत्रको काम दिन्छ र राष्ट्रिय मेलमिलापको नीतिको रूपमा विचारणीय रहिरहनेछ। यसलाई यसरी बुझ्दा राम्रो हुन्छ। 

    दुई तिहाईको सरकार थियो विपीको तर एउटा अदृश्य तागतले समयानुकूल शक्तिको प्रयोग गरेर राजालाई निमित्त नायक बनायो। आज राजा स्वयं सडकमा मेलमिलापको नारा लगाइरहेका छन् र राजाले सिद्ध्याएँ भनेका शक्तिहरू शासनमा छन्। हाम्रो तर नीति भनेको जनताको पक्षमा सबै दलहरू आपसमा बसेर योजना गर्ने खालको आदर्श मेलमिलाप गर्न सक्षम हुने सन्देश देओस् सत्तापक्ष र प्रमुख प्रतिपक्षलाई यो मेलमिलाप दिवसले भन्ने कामना गरौँ र आपसमा मेलमिलापले मात्र राज्यको प्रगति सम्भव छ भनेर आजभन्दा ४२ वर्षअघि राखेको प्रस्तावलाई आज पनि मनन् गरौँ। 

    विपीको विरासत मान्ने नेपाली कांग्रेस पनि सक्रिय राजनीतिमा छ र संसदमा प्रमुख प्रतिपक्ष भएर रहेको छ र विपीको सिद्धान्तलाई कार्यान्वयन गर्ने संसदीय प्रजातान्त्रिक पद्धति नै संवैधानिक व्यवस्थाको रूपमा अहिले विद्यमान छ। 

    संसदीय पद्धतिलाई नै नेपालको राजनीतिमा विकसित गर्दै लैजाने हो भने र संविधानवादलाई नै जीवित गराइराख्ने हो भने यसको पहल त नेपाली कांग्रेसले नै गर्नु जरुरी छ। सरकारमा को कहिले त को कहिले हुने परम्परा नै संसदीय परम्परा हो। तर संविधानवाद र संसदीय व्यवस्थालाई नै अनवरत गराइराख्न पनि विपीको राष्ट्रिय मेलमिलापलाई कार्यरूप दिने कामको अग्रसरता नेपाली कांग्रेसले नै गर्नुपर्छ। प्रजातन्त्र पुनर्स्थापनादेखि संविधान निर्माण र त्यसको कार्यान्वयनसम्मको अग्रसरता लिने कांग्रेसले नै मेलमिलापको संस्कृतिलाई उच्चतम विन्दुमा लैजाने काम गर्नुपर्छ। पुस १६ को सन्देश सायद यही हो। 

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]