|

पर्वत : पर्वतको कुश्मा नगरपालिका-२ खुरकोटको कालिका माध्यमिक विद्यालयका विद्यार्थीहरू दिउँसोको घाममा चौरमा नै बसेर अध्ययन गर्दै थिए। केही कक्षाकोठा खाली देखिन्थे। कारण हो मध्यपुसको जाडो अनि डाँडामा रहेको विद्यालयमा हावा चल्नु।

चिसोका कारण विद्यार्थीहरू कक्षाकोठामा लुगलुग काँप्नु र हात कठ्यांग्रिँदा लेख्न नै नसक्ने भएका कारण घाम लागेको बेलामा चौरमा राख्दा राहत हुने भएकोले पालोअनुसार हरेक कक्षाका विद्यार्थीलाई घाममा निकाल्ने गरिएको विद्यालयका प्रधानाध्यापक बाबुराम शर्माले बताए। ‘चिसो धेरै छ, बिहान बेलुका पानी छुन सक्ने जस्तो पनि हुँदैन ससाना बालबालिकाहरूलाई चिसोले असर नगरोस् भनेर पालोअनुसार चौरमा राखेर घाममा बस्ने अवसर दिनुपरेको छ’ शर्माले भने।

पर्वतको मोदी गाउँपालिकामा रहेको लेस्पार र क्याङ कहिलेकाहीँ सामान्य हिउँसमेत पर्ने ठाउँ हुन्। ती ठाउँका विद्यालयहरूले पनि विद्यार्थीहरूलाई चौरमा नै राखेर पढाउने गरेका छन्। क्याङको बाजुङ आधारभूत विद्यालयका प्रधानाध्यापक घनश्याम पोखरेल भन्छन्, ‘बालबालिकालाई दिउँसो घाममा नराख्ने हो भने, घाम तापेर घरमै बसीदिन्छन्। विद्यालय नै आउँदैनन्।’ बिहान अबेरसम्म तुवाँलो लाग्ने गरेका कारण केही घण्टा मात्र घाम देखिने भएका कारण विद्यार्थीहरूलाई चिसोबाट जोगाउन खुला चौरमा राखेर पढाउनुपर्ने बाध्यता भएको उनको भनाइ छ।

जिल्लाका अग्ला पहाडहरू भएका ठाउँमा रहेका विद्यालयहरू त्रिभुवन मावि शंकरपोखरी, थापाठाना मावि थापाठाना, जननेत्र मावि देउपुर, शारदा मावि कुर्घा लगायतका अन्य धेरै ठाउँका विद्यालयका विद्यार्थीहरू चिसोबाट प्रभावित भएका छन्। खोँचमा रहेका तथा डाँडाले छेकेर विद्यालयमा घामको झुल्को नै नपार्ने कतिपय ठाउँका विद्यालयका विद्यार्थीहरू त घामको खोजीमा खेतको गरो र बारीका डिलहरूसम्म पुग्ने गरेको शिक्षकहरू बताउँछन्। कतिपय ठाउँका विद्यार्थीहरूले जम्मा भएको फोहोर जलाएर आगो ताप्दै शरीर न्यानो पार्ने प्रयास गरिरहेका छन्।

पहाडैपहाड रहेको पर्वत जिल्लमा देशभर जस्तै चिसो धेरै भएका कारण विद्यार्थीहरू कक्षाकोठामा नराखी घाममा राखेर पढाउनुपर्ने बाध्यता भएको हो। जिल्लाको बेसीमा रहेका सदरमुकाम कुश्माबजार, कटुवाचौपारी, फलेवास लगायतका क्षेत्र बाहेकका ठाउँका अधिकांश विद्यार्थीहरू कक्षाकोठाबाहिर चौरमा पनि अध्ययन गरिरहेको देख्न पाइन्छ।  केही सातायता चिसो ह्वात्तै बढेपछि किसान, कर्मचारी, व्यापारी, मजदुर सबैलाई असर परेको छ। यसमा पनि बिहान १० बजेदेखि अपराह्‍न ४ बजेसम्म ६ घण्टा निरन्तर चिसो कक्षाकोठामा बस्नुपर्दा विद्यार्थीहरूलाई कठिन भएको छ। हिमाली जिल्लाहरूमा जाडो याममा विद्यालय बन्द गरिने भए पनि पहाडी जिल्लामा भने असार र साउनमा बर्खे बिदा हुने भएका कारण जाडो बिदा हुँदैन।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.