शिक्षकले क्याम्पसमा दिएको कामबाट व्यवसायमा प्रवेश, ६०० लाई रोजगारी

|

काठमाडौं : 'कक्षा ६ मा पढ्नका लागि सिन्धुलीको एक स्कुलमा पढ्न जाँदा दौरा-सुरुवाल लगाएर गएका कारण अपमानित हुनुपर्‍यो। केही सिकाइ त्यही दिनबाट पाएँ', युवा उद्यमी सुशील पोख्रेलले भने। उनी विगतको भोगाइ सम्झन्छन्, 'डाक्टर बन्न भन्दै काठमाडौंको डन बस्को कलेजमा साइन्स पढ्न आएको थिएँ, ल्यांग्वेज समस्याको कारण छ महिनामा पढाइ छाडेर बाबाआमा भएको ठाउँमा फर्किएँ।'

उनले पढ्ने मकवानपुर क्याम्पसले फर्निचर सप्लाइका लागि ठेकेदार खोजिरहेको थियो। उनले आफैँ शिक्षकसँग अनुरोध गरेर त्यो काम आफूलाई दिन आग्रह गरे र पाए पनि। यी तीनवटा विषयसँग पोख्रेलको जीवनकथा जोडिएको छ। व्यावसायिक रूपमा सफलताको अनुभूति गर्ने सुशील अहिले हाइड्रो पावर क्षेत्रमा जमिरहेका छन्। अबको पाँच वर्षमा ९३ मेगावाटको जलविद्युत् उनीसम्बद्ध कंपनीले निकाल्दै छ। उनको सपना भने वर्ल्ड इकोनोमिक फोरममा देशको प्रतिनिधित्व गर्दै आफ्नो उपस्थिति जनाउने रहेको छ।

उमेरले ३७ वर्ष पुगेका उनी पढाइको सिलसिलामा चारवटा जिल्ला (दोलखा, सिन्धुली, काठमाडौं र मकवानपुर) चहारेका छन्। ६५ हजार रुपैयाँको ठेक्काबाट सुरु भएको उनको काम करोड होइन, अर्ब नजिक पुगेको छ। 'कति लगानी पुग्यो, ठ्याक्कै भन्न सक्दिनँ', पोख्रेल भन्छन्, 'लगानी बढ्दै जान्छ, रोजगारी थपिँदै जान्छन्, नयाँ काममा पनि प्रवेश चलिरहन्छ।'

उनले अहिले आफूलाई युवा उद्यमीको रूपमा परिचित बनाएका छन्। उद्यमी वा व्यापारीको रूपमा पहिचान बनाउने उनी परिवारको पहिलो पुस्ता हो उनको। त्यसैले व्यवासयमा जम्न गाह्रो नहुने कुरै भएन। तर एसएलसीमा फर्स्ट डिभिजन ल्याएका कारण उनको सपना अहिले रहेको युवा उद्यमी बनेको छैन। 'एसएलसीमा फर्स्ट डिभिजन ल्याएको थिएँ, डाक्टर बन्छु भन्ने चाहना बोकेर काठमाडौं आएँ, डन बस्को कलेजमा भर्ना भएँ', पोख्रेलले भने, 'बाबाआमाले ऋणधन पैसा पनि दिनुभएको थियो, छात्रावृत्ति पनि पाएको थिएँ तर ल्या‌ंग्वेज समस्याका कारण मैले पढ्न सकिनँ। ६० हजार सकेर छ महिनामा बाबाआमा भएको स्थान मकवानपुर पुगेँ।'

त्यसपछि कमर्स पढ्नलाई क्याम्पस भर्ना भएका उनीसँगै व्यावसायिक यात्रामा पनि भाग लिन पाए तर सोही क्याम्पसबाट। वक्तृत्वकलामा तगडा रहेका उनी शिक्षकहरूसँग नजिक थिए। त्यसैले क्याम्पसको एउटा ठेक्का पाए। उनको सुरुवाती ठेक्का थियो ६५ हजार। खल्तीमा हजार रुपैयाँ नबोक्ने पोख्रेलले ६५ हजारमा ठेक्का लिएर आफैँ बस्ने कक्षामा फर्निचर सप्लाइको काम गरे र १५ हजार रुपैयाँ बचाए।

अनि आफ्ना कमजोरीको पहिचान गरे। ल्यांग्वेज र कम्प्युटर पढ्न सुरु गरे। त्यति मात्रै होइन, उनले ल्यांग्वेज र कम्प्युटर इन्ष्टिच्युट पनि सुरु गरे। राम्रै प्रतिफल भयो तर उनी त्यो प्रतिफलमा रमेनन्। आफ्नो अर्को कला प्रस्तुत गर्ने काममा केन्द्रित भयो। त्यो थियो- रेडियोबाट श्रोतासँग आफ्नो आवाज पठाउने। उनी ३० दिनसम्म रेडियो धाए र जागिरेको रूपमा रेडियोमा काम गर्ने भए। केही समय काम गरेपछि आफ्नै रेडियोको कल्पना गरे। अनि रेडियो टेक्नोलोजीमा काम गर्न सुरु गरे।

नी एउटै कोठालाई राती डेरा मान्थे, दिउँसो अफिस। दिउँसोको सोफा रातमा पलङको रूपमा काम गर्थ्यो

त्यसपछि उनी पढ्न नसकेको भनेर फर्किएको जिल्ला अर्थात् देशको राजधानी काठमाडौंमा आए। केहीँ लगानी गर्न सक्ने गरी काठमाडौं प्रवेश गरेका उनले एक लाख ५० हजार रुपैयाँमा सुस्मित इन्टरनेसनल कम्पनी खडा गरे र रेडियो टेक्नोलिजीसम्बन्धी काम गरे। उनी एउटै कोठालाई राती डेरा मान्थे, दिउँसो अफिस। दिउँसोको सोफा रातमा पलङको रूपमा काम गर्थ्यो। उनी भन्छन्, 'त्यसरी सुरु गरेको आफ्नो अफिसले रेडियो टेक्नोलोजीमा ६५ प्रतिशत बजार होल्ड गर्‍यो।'

तर ६५ प्रतिशत बजार हिस्सा ओगटे पनि व्यवसायमा भने लोडसेडिङका कारण समस्या परिरहेको थियो। अनि आफैँ लागे लोडसेडिङ अन्त्यका लागि जलविद्युत् अन्त्यतर्फ। जलविद्युतमा लगानी गर्न आकर्षित भए। '१५ हजारबाट इन्ष्टिच्युटतर्फ लागेँ, एक लाख जम्मा भएपछि काठमाडौं आएँ, अबको ठूलो व्यवसाय गर्छु, देशको प्राथमिकतामा पनि जलविद्युत् नै प्राथमकिता हो भनेँ अनि जलविद्युत्तर्फ आकर्षित भएँ। हाइड्रो पावर भिलेज कम्पनी खडा गरेँ।'

उनको सपना

सन् २०१४ बाट जलविद्युत् क्षेत्रमा केन्द्रित भएका उनले अहिले ९७ मेगावाटका जलविद्युत् आयोजना सुरु गरेका छन्। म्याग्दी जिल्लामा हाइड्रो भिलेज कम्पनी २०१४ मा ५७.३ मेगावटको जलविद्युत आयोजना निर्माण प्रक्रिया सुरु गरेका उनले म्याग्दीमा २०१६ मा दुईवटा आयोजना गरी सुस्मित इनर्जीबाट ४० मेगावाटको आयोजनाको निर्माण प्रक्रिया अघि बढाएका छन्।

आफ्नो मात्र नभई देशको आर्थिक विकास गर्ने पनि गतिलो माध्यम जलविद्युत भएको उनी बताउँछन्। 'यो क्षेत्रमा प्रवेश गरेर वर्ल्ड इकोनोमिक फोरममा जाने मेरो सपना छ। हामी रिनोभर अर्थात् ग्रिन इनर्जीमा लागेका छौँ। ग्रिन इनर्जीको प्रतिनिधित्व गरेर सन् २०२० सम्ममा वर्ल्ड इकोनोमिक फोरममा नेपालबाट प्रतिनिधित्व गर्ने सपना छ', पोख्रेलले भने।

उनले स्वरोजगारबाट व्यवासय सुरु गरेकोमा आजको अवस्थामा १०० जनालाई रोजगारी दिएका छन्। ९७ मेगावाटको जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ खर्चनुपर्ने र पाँच वर्ष निरन्तर ६०० जनालाई रोजगारी दिनुपर्ने उनले बताए। त्यसपछि पनि ३०० दक्ष कामदारलाई रोजगारी हुने उनको भनाइ छ। बढी इनर्जी विश्वका देशले खपत गरेका कारण त्यसको घाटा नेपालले पाएको भन्दै भोलिका दिनमा ग्रिन इनर्जी उत्पादन गर्ने नेपालको तर्फबाट वकालत गर्दै विश्‍वले नेपाललाई क्षतिपूर्ति तिर्ने वातावरण बनाउने रहर रहेको उनी बताउँछन्।

विगतमा सुरु गरेका सबै व्यवसायलाई त्यागेर ग्रिन इनर्जीमा लागेका उनले अब भने यही क्षेत्रमा रम्ने प्रतिबद्धता लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.