|

तेह्रथुम : सरकारको जनता आवास कार्यक्रमअन्तर्गत तेह्रथुम जिल्लाका विभिन्न सीमान्तकृत तथा दलित वस्तीमा ४३ वटा घर निर्माण अन्तिम चरणमा पुगेका छन्। कार्यक्रमअन्तर्गत घर निर्माणका लागि छनाेट भएका परिवारले प्रतिपरिवार तीनलाख ५० हजार रुपैयाँ अनुदान पाएपछि घर निर्माण गरेका हुन्।

जिल्लाका छ वटै स्थानीय तहमा रहेका आर्थिक रुपले बिपन्न दलित समुदायका लागि तेह्रथुममा धमाधम घर निर्माण भइरहेका हुन्। आफ्नो घर नभएर छाप्रो र टहरामा बस्दै आएका दलित परिवारलाई सरकारले घर बनाई दिएपछि आफूहरूलाई छाप्रोबाट घरसम्म पुर्‍याएको भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन्। 

जिल्ला समन्वय समितिले घर बनाउनका लागि गत आर्थिक वर्षमा नै सबै स्थानीय तहमा एकएक वटा बस्ती छनौट गरे पनि बजेट पूरा नआएका कारण सबै घरहरू निर्माणमा ढिलाई भएको थियो। घर निर्माणका लागि हालसम्ममा मन्त्रालयले पहिलो र दोस्रो किस्ता बापतको रकम उपलब्ध गराई सकेको छ।

धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जिल्लामा भवन निर्माण डिभिजन कार्यालय धनकुटाले जनता आवास कार्यक्रम सञ्चालन गरिरहेको छ। यस कार्यक्रमअन्तर्गत आठराई गाउँपालिकाको छाते ढुंगाको माझी बस्तीमा २ घर, फेदाप गाउँपालिका ३, जलजलको दलित बस्तीमा ४ घर, मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ निंलेखु टोलमा ८ घर, म्याङलुङ नगरपालिकाको पिप्ले दलित बस्तीका ८ घर, लालीगुराँस नगरपालिकाको सोल्मामा १२ घर र छथर गाउँपालिका हमरजुङको दलित बस्तीमा ९ घर निर्माण भएका छन्।

छाप्रोमै बित्न लागेको आफूहरूको जीवनमा नयाँ घरमा बस्न पाउँदा स्वर्गको आभाष भएको फेदाप ३, जलजलेका कुमार धौलाकोटीले बताए। आर्थिक रुपमा अति बिपन्न परिवार भएपछि ज्याला मजदुरी गरेर दुईछाक टार्दैै आएका दलितहरू सरकारमार्फत् नयाँ घर पाएसँगै हर्षित् भएका छन्। बास बस्ने आफ्नो घर नभएर बारीमा चिमले बारेर बसेका दलित परिवारहरुमा यो कार्यक्रमले खुसीयालीको बहार नै ल्याएको छ। आफ्नो जीवनभरमा पनि पूरा नहुने सपना सरकारले पूरा गरी दिएको म्याङलुङ ४ पिप्लेकी बिमला सार्कीले बताइन्।

 मजदुरी गरेर दुःखले कटेरो जस्तो घर बनाउन नसकेकाहरूका लागि जनता आवास कार्यक्रम साँच्चिकै नै उदाहरणीय भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.