|

हेटौँडा :  बारा निजगढका ६४ वर्षीय जमानसिं लामाले दुवै आँखा नेदेखेको एक वर्षभन्दा बढी भइसकेको थियो। २०५० सालको बाढीले सिन्धुलीमा भएको सवै सम्पत्ति बगाएपछि उनको परिवार विस्थापित भएर बारा जिल्लामा बसोबास गर्दै आइरहेको थियो। उक्त बाढीले उनको सम्पत्ति मात्र बगाएन पत्नीसँग पनि विछोड गरायो।

लागूऔषध बेचबिखन गरेको आरोपमा एक छोरी जेल जीवन विताइरहेकी छन् भने एक छोरा कहाँ छ अत्तोपत्तो छैन। छोरी जेल पर्नु अगाडिसम्म उनले दिएको खर्चबाट दैनिकी चलाउँदै आएका लामा त्यसपछि भने समस्यामा परे।  लामो समयदेखि मागेर आफ्नो दैनिकी चलाइरहेका उनले गतवर्ष मंसिरबाट दुवै आँखा देख्न छाडे। देब्रे आँखा नदेखेको दुई वर्ष भइसकेको थियो। दायाँ आँखा पनि बन्द भएपछि उनले दैनिक झन कष्टकर बन्यो।

आँखा नदेखेपछि उनीमाथि अर्को बज्रपात थपियो। आँखा नदेखेपनि लौरो भरमा माग्न हिँड्दा उनलाई गाडीले ठक्कर दियो। गाडीको ठक्करबाट शरीर राम्रोसँग चलाउन नसक्ने भएका लामालाई स्थानीय संघसंस्थाले व्हिलचेयरको व्यवस्था गरिदिएका छन्। उनी व्हिलचेयरमा बसेरै दिनभर सडकको छेउमा माग्ने काम गर्थे। गाउँलेहरुले समय समयमा उपलब्ध गराइदिएको खानेकुरा खाएर उनले निकै तनावका वीच करिब एकवर्ष कटाएका उनी सोमबारदेखि खुशी देखिएका छन्।

रोटरी क्लब अफ मकवानपुर र रोटरी क्लब अफ मिड टाउन काठमाडौंको आयोजनामा बाराको निजगढमा भएको आँखा परीक्षण स्वास्थ्य शिविरमा मोतियाविन्दु भएको पाइएपछि उनको निःशुल्क अप्रेशन गरिएको छ। निःशुल्क अप्रेशन भएपछि आँखा देखिएसँगै उनी ज्यादै हर्षित भएका छन्। ‘अब मागेर खान सक्ने भएँ। सबैले माया गरेर दिन्छन् पनि।’ मंगलबार विहान सामुदायिक आँखा अस्पतालमा कालो चस्मा लगाएर घाम तापिरहेको अवस्थामा भेटिएका लामाले स्थानीयको सहयोगमा आफ्नो आँखाको अप्रेशन भएको र फेरि संसार देख्न पाएको भन्दै खुशी व्यक्त गरे। ‘एउटा मात्र देख्छ। एउटा देख्दैन भनेको छ डाक्टरले । दुवै आँखाले हेरेको जस्तो हुँदैन रैछ,’ उनले भने।

क्लबले उनीजस्तै दुईसय ५० जनाको निःशुल्क आँखाको मोतियोविन्दुको निःशुल्क अप्रेशन गरिदिएको छ। सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा क्लबले वर्षेनी विभिन्न जिल्लामा आँखा परीक्षण शिविर आयोजना गर्ने गरेको छ। आँखा शिविरमा भेटिएका मोतियाविन्दुका विरामीहरुको निःशुल्क अप्रेशन समेत गराउने गरेको छ।

‘एकजनाको अप्रेशन गराउँदा करिब आठहजार रुपैयाँ खर्च हुन्छ। हामीले ल्याउने लैजाने, खाजा, खाना, आवासीय व्यवस्था, चस्मा तथा अप्रेशनसको सवै खर्च अस्पतालसँग समन्वय गरेर व्यहोर्ने गरेका छौं’ रोटरी क्लबका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले भने। क्लबले गतहप्ता मकवानपुरको गढीगाउँपालिका, बकैया गाउँपालिका, बाराको निजगढ र पका तथा पर्साको जैतापुरमा शिविर राखेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.