|

'हिपहिप हुर्रे! ५० को माल जिन्दावाद! यो जीत कसको आधुनिक शाहज्यादीको, महान् क्रान्तिकारी श्रमिक नेताको, यताको खाएर उताको सुन्ने सेवक लोकतन्त्रका हिमायतीको! सम्पूर्ण खाइदेउवाला विशिष्टको! यो हार कसको? कतारमा लास हराएको रत्ने माइलाको, सिरियामा लुटिएकी सुन्तलीको, मुगुकी देवाको, धर्ती छोडिसकेका चित्र वाग्लेको, नामर्द युवानेताको, नालायक नागरिकको!' चर्का-आवाजहरू मेरो कानमा ठोकिए।

लाखौँको आशाको केन्द्र भनिएका तिमीलाई धिक्कार छ यो जुनीमा! तिमी मन्त्री भएको दिन जुन विश्वास, आशा र भरोसा थियो हामीमा, तिमीले कुनै पनि मूल्यमा मन्त्रीको, आफ्नो, दलको मान, इज्जत, प्रतिष्ठामा दाग लाग्न दिने छैनौ, आफू नजाने पनि अग्रजबाट गुरुमन्त्र सिक्ने छौ भन्ने तर तिम्रा चर्तिकलाबाट आज आफैँलाई लोप्पा खुवाउँदैछौँ हामी। तिमीले हामी युवाको नाकमा कालो मात्र पोतेनौ, पार्टीले आर्जन गरेको इज्जत खल्यातखुलुत सिध्यायौ, माटोमै मिलायौ! कुन दिनमा कहाँबाट मन्त्री बन्न पुगेछौ, त्यो पनि स्वास्थ्य मन्त्री!

तिमीलाई पाप-धर्म र पुण्य-पापको हल्का पनि ज्ञान रहेनछ। तिमीलाई तिम्रा बाआमा र गुरु-गुरुमाहरूले कहिल्यै सिकाएनन्, पाप-धर्मका कुरा! दानवीर हुनुपर्छ, सहयोगी भावनाले ओतप्रोत हुनुपर्छ! एकबारको जुनीमा सकेको सहयोग गरी टन्न पुण्य कमाउनुपर्छ भनेर कसैले भनेन! यति सामान्य ज्ञान तिम्रो दिमागमा त्यत्तिकै घुसपैठ गर्नुपर्ने हो, यति नाथे कुरा पनि नघुस्ने तिम्रो 'हार्ड डिस्क'मा कतै गोबरै गोबरको बास त छैन! शङ्का लागिसकेको छ।

तिमी साँच्चिकै मन्त्री थियौ भने किन उट्पट्याङ खेतीमा लाग्यौ? ताइ न तुइका गोविन्द केसीका माग पूरा गर्न तिमीलाई किन खसखस! बिनाबित्थामा सरकारी अस्पताल परिसरभित्र औषधि पसल खोल्ने लेठो किन? त्यसको लागि फोगटमा सुको छुट्याउन तिमीलाई कसले सन्कायो? बेफ्वाँकमा किन बाठो हुनुपर्‍यो? यति नीच कार्य गर्न अर्ति दिने त्यो ल्वाँठ गुरु को हो! मिर्गौला रोगीको लागि निःशुल्क डायलासिस व्यवस्था गर्नू भनी आदेश दिने तिमी कतै कसैका कुसुले त होइनौ? स्वास्थ्य बीमा योजनाको व्यापार गर्न तिमीलाई लाज लागेन! तिम्रो त्यो कलिलो बुद्धिमा खिया परेको देख्दा दया उम्लेर आउँछ। 

तिमीले कुन नैतिकताले मजदुर नेताले तन्नम तुलसी गुरुलाई टक्य्राउन लागेको उपचार खर्चमा धावा बोल्यौ र रोकेरै छाड्यौ! उनी कुबेर हुन् भन्ने कुरा तिमीलाई ख्याल भएन? त्यहीँमाथि क्रान्तिकारी मन भएका राष्ट्रनायककै दिल पग्लिएपछि तिमीलाई कठोर बन्न रत्तिभर लाजशरम लागेन? टन्न भएकी हरितन्नम राष्ट्रप्रेमी दिदीलाई जाबो ५० लाखको बिटो भाग लगाउँदा धारे हात लगाउन तिमीलाई कुन नैतिकताले दियो?

तिमी त पुँजीवादी पार्टीका डफेदार हौ। साम्यवादी/जनताका नायक काका त यति उदार छन्, दिलदार छन् कि विशिष्टहरूलाई किलकिलेसम्म आउने गरी उपचारको लागि सुको दान गर्छन्। कति कमलो मन छ उनको, लोभलालच रत्तिभर छैन, मन फुकाएर दिन्छन्। तिम्रो जस्तो माखाको चित्त गर्दैनन्! हिजो पूर्व विशिष्टलाई पनि गरेनन्, अब झन् कसरी गर्न सक्छन्? उनी देशलाई सम्पन्न बनाउन र गरिबी लखेट्न ध्यानमग्न भएर लागिपरेका छन्। त्यही भएर स्वदेशी अस्पताल र गरिबीको बेथा देख्न सक्दैनन्, भक्कानिइहाल्छन्, निमिट्यान्नै पार्न लागिपरेका छन्।

मैले बुझेको तिम्रो पार्टी गरिबी चट पारी सबैलाई धनीमानी बनाउने र विद्यमान धनीमानीको स्तर-उन्नति गर्ने ध्येय बोकेको छ। गरिबको समाप्ति नभई गरिबीको निधन असम्भव छ! जब स्वास्थ्य सेवामा छिर्ने ढोका सहज रूपमा सदार्सवदा खुला रहिरहन्छ, उनीहरू छिरिरहन्छन्। उम्रिने ठाउँ मलिलो भएपछि कहाँबाट कसरी मासिन्छन् गरिब अनि कसरी नासिन्छ गरिबी? तिमीलाई अलिकति पार्टीको सिद्धान्तप्रति दया पलाएन?

तिमीले इतिहास कहिल्यै पढेनौ कि पढेर पनि बुझेनौ अथवा बुझ पचायौ? कोइराला बा, यादव र ओली काका आदिको त्यत्रो चर्चाको पत्तो पाएनौ कि! नत्र यति जाबो कुरा पनि किन तिम्रो दिमागले टिप्न भ्याएन? ठूलाको ताल ठूलै हुन्छ, तीमाथि नेता, पूर्व-विशिष्ट, तिनको त्यो बहुमूल्य ज्यान यस्ता स्वदेशी झुत्रेझात्रे अस्पतालमा गर्न सुहाउँछ? त्यसमा पनि यत्रा नक्कलीहरूको बिगबिगी छ, थोडी यो रत्ने माइलो जस्तो निर्धनको ज्यान हो र! यति नाथे ज्ञान पनि त नहुनेले कसरी गरी खान्छौ? यो तिम्रो मात्र होइन, धनीमानी, हुनेखाने र तल्तिर पल्किने बानी परेको तिम्रै स्वदेशी पार्टीको इज्जत, शानशौकातसँग जोडिएको सवाल हो।

तिमीलाई उपमा दिँदा यति भन्नै पर्छ, नत्र तिमी र तिमी जस्तामाथि सरासर अन्याय हुन्छ- वास्तबमा तिमी धर्मछाडा हौ, धोकेबाज हौ, विश्वासघाती हौ, अझ भनौँ गतिछाडा हौ! हामीलाई लागेको थियो, तिमी चानचुने र भारेभुरे मन्त्री होइनौ, तर अहिले वास्तविक बह्मज्ञानको बारेमा ज्ञान भयो। हामी ठूलै नै लम्फू रहेछौँ, यति मसिनो कुरा पनि बुझ्न नसक्ने, तिमीलाई चिन्न नसक्ने, हाम्रा सोचाइप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु!

अन्त्यमा, म तिमीप्रति बिन्ती बिसाउँछु- अझै पनि पूरै बिग्रिहालेको छैन, समय छ। आफूले गरेका कामप्रति पश्चाताप गर, सार्वजनिक रूपमा माफी माग र कसम खाँदै भन- इतिहास जे भयो, बिर्सौँ। अब म पूरापुर सुध्रिन्छु। हिजो मेरो अक्कल पुगेनछ, भोलिका दिनमा मबाट यस्ता अगतिला, तुच्छ काम हुने छैनन्!

होइन, अब पनि समयलाई बेलैमा चिन्न सकिएन भने समयले नराम्ररी लोप्पा खुवाउने छ। इतिहास साक्षी छ, कस्ता-कस्ता मै हुँ भन्ने, संसारै पल्टाउँछु भन्ने, दिनभर खुला मञ्चमा कुर्लदै दक्षिणतिर धारे हात लगाउने अनि साँझमा लैनचोर छिर्ने महान् क्रान्तिकारीहरू त सुध्रिएर लम्पसारको कित्ताको नेता बनिसके, तन्नम वर्गबाट धन्नम वर्गमा उक्लेर वर्ग नै फेरिसके! जो आज तिमीलाई पछि लगाएर अघि  हिँडिरहेका छन्।

अब जोरी नखोज, धर्म, पुण्यको खेती सपार्न लाग। सकेसम्म सोरपटार सबैलाई नेता बनाउन थालेपछि यस्ता समस्या आफैँ बिलाउँछन्। सुजाता मैयासहित त्यो वर्गका कसैको पनि खोइरो नखन! यस्ता पाङ्दुरे काम नगरी खाको पच्दैन, बानी सुधार्न सक्दैनौ भने तिमी कुर्सीमा बस्न लायक छैनौ, पार्टीको लागि पनि, विशिष्टको लागि पनि नालायक हौ! यी र यस्तालाई धोका दिन र विश्वासघात गर्न तिमीलाई कुर्सीमा पठा'को पनि होइन! खुरुक्क राजीनामा गर अनि आफ्नो बाटो तताऊ!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.