|

तेह्रथुम : फेदाप गाउँपालिकाको कार्यालय निर्माणका लागि स्थानीयहरुले ४५ लाख रुपैयाँ बराबरको २६ रोपनी जग्गा दान गरेका छन्। 

हाल भाडाको घरमा सञ्चालित गाउँपालिका कार्यालयको भवन निर्माणका लागि जग्गा वडा नम्बर १, सिम्लेका पाँच जना दाताहरुले छ रोपनी र खेलमैदान निर्माणका लागि २० रोपनी जग्गा दान गरेका हुन्।

जग्गा दाताहरुमा होमप्रसाद कोइराला, जयप्रसाद निङ्लेखु, अमृत निङलेखु, गंगाबहादुर राई र शेरबहादुर थापा रहका छन्। उनीहरुले १५ लाख रुपैयाँ बराबरको ६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुने। उक्त जग्गामा गाउँपालिका कार्यालय भवन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने गाउँपालिकाका अध्यक्ष हरि चोङबाङले जानकारी दिए।

खेलमैदान निर्माणका लागि ३० लाख बराबर मूल्यको २० रोपनी जग्गा आठ जनाले निःशुल्क प्रदान गरेको छन्। वडा नम्बर २, ओयाक्जुङका देवीप्रसाद गुरागाई, ओमनाथ गुरागाई, दीर्घकुमारी जोगी, जयबहादुर जोगी, यामबहादुर जोगी, किरण मादेम्बा, डिकबहादुर मादेम्बा र कृति मादेम्बाले जग्गा प्रदान गरेको गाउँपालिका कार्यालयले जानकारी दिएको छ।

उक्त जग्गा मंगलबार फेदाप गाउँपालिकाको नाममा दर्ता पास भएको गाउँपालिकाका कम्प्युटर अपरेटर रुद्र खनालले जानकारी दिए। जग्गा दाताहरुले आफ्नो गाउँठाउँको विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले जग्गा उपलब्ध गराएको बताएका छन्।

गाउँपालिकाले कार्यालय सञ्चालनका लागि अहिले वार्षिक पाँच लाख रुपैयाँमा २२ वटा कोठा कार्यालय प्रयोजनका लागि भाडामा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङदेनले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.