|
प्रतीकात्मक तस्बिर

पर्सा : भारतको रामगढवास्थित एक आर्केष्ट्रामा काम गर्न पुगेका ४ नेपाली किशोरीको उद्धार गरिएको छ। काठमाडाैंकी एक किशोरीलाई खोजी गर्न पुगेको नेपाल प्रहरी, माइती नेपाल र भारतीय प्रहरीको संयुक्त टोलीले चारजना नेपाली किशोरीको उद्धार गरेको हो। 

काठमाडाैंकी एक किशोरीलाई खोजी गर्दै त्यहाँ पुगेको उद्धार टोलीले एकै ठाउँमा भेटिएका अरु पनि ३ किशोरीको उद्धार गरेको माइती नेपाल पर्साकी प्रमुख संगीता पुरीले बताइन्। उद्धार गरिएका किशोरी मध्ये एकजना काठमाडाैं र ३ जना मोरङका रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए।

उद्धार गरिएका सबै किशोरीलाई नेपाल ल्याई अहिले माइती नेपाल वीरगन्जमा राखिएको छ। उनीहरूसँगै सर्लाही घर बताउने एक होचो कदका पुरुष र अर्को एकजना गरी दुईजना पुरुषलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए। उद्धार गरिएका किशोरीका विषयमा थप अनुसन्धान भइरहेकोले तत्काल नाम र ठेगाना सार्वजनिक नगर्ने निष्कर्षमा पुगेको माइती नेपाल पर्साकी प्रमुख पुरीले बताइन्। उचाई र शारीरिक हिसाबले उमेर पुगेका जस्तो देखिने सबै किशोरीहरू १८ वर्ष मुनिका रहेको उद्धार टोलीले जनाएको छ।

खोजी गर्ने टोली पुग्दा उद्धार गरिएका चारैजना किशोरी र होचो कदका पुरुष सबै एउटै कोठामा फेला परेकोले किशोरीसहित पहिले पनि एकपटक पक्राउ परेका राजेश नामका पुरुषलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.