|

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको वाइडबडी विमान खरिद प्रकरणमा संलग्नताबारे छानबिनपछि मात्रै थाहा हुने बताएका छन्।

सरकारका काममा असन्तुष्टि जनाउन सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार एक पत्रकार सम्मेलन गर्दै नेता पौडेलले वाइडबडी खरिद प्रकरणमा देउवाको संलग्नताबारे छानबिनपछि मात्रै जानकारी हुने बताए। उनले यसबारेमा थप जान्न छानबिन समिति र सरकारलाई सोध्न माग गरेका छन्। ‘मैले थाहा पाउने कुरा भएन, हेर्ने मान्छेहरूलाई नै सोध्नुहोला’, उनले भने, ‘सरकारले वाइडबडी लगायत धेरै काण्ड मच्चाइरहेको छ।’

वाइडबडी विमान खरिद प्रकरणमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलगायत सरकारका वरिष्ठ अधिकारीहरूलाई संसदको लेखा समितिले कारबाहीको सिफारिस गरेको छ।

समितिको सिफारिस सार्वजनिक भएपछि शेरबहादुर देउवाले उक्त मन्त्रालयको नेतृत्व सम्हालेका बखत ८ अर्ब विमान खरिदका लागि निकासा भएको सार्वजनिक भएको थियो। जसका कारण देउवालाई पनि उक्त प्रकरणमा जोडिएको छ।

सरकार विनाशको बाटोमा लाग्यो

नेता पौडेलले सरकार विकास नभई विनाशको बाटोमा अघि बढिरहेको दाबी गरेका छन्। कांग्रेसले अब यस्तो अवस्था टुलुटुलु हेरेर नबस्ने पनि उनले चेतावनी दिएका छन्।

मुलुकको शान्ति सुरक्षा, सुशासन र विकास तीन वटै काममा सरकार पूर्णतः असफल भएको वरिष्ठ नेता पौडेलको आरोप थियो। उनले तनहुँको दुलेगौडामा स्थापना गरिएको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेस्थित सुशील कोइराला मेमोरियल क्यान्सर अस्पताल विघटन गर्ने तयारीमा सरकार रहेको उल्लेख गर्दै त्यसो गरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने पनि बताए।

वरिष्ठ नेता पौडेलले कंचनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा ठूलै मान्छेको संलग्नता रहेकाले सरकारले दोषीलाई संरक्षण गरिरहेको आरोप लगाए। कसको संलग्नता रहेको भन्ने प्रष्ट नपारे पनि उनले सरकार अपराधका दोषीलाई लुकाउन लागिपरहेको अभिव्यक्ति दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.