पर्सा : पाँचथरमा त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै सोमबार रूस्लान दसौँ फाल्गुनन्द गोल्डकपको उपाधि उचालेको झापा ११ ले मंगलबार पर्साको वीरगंजमा चलिरहेको दोस्रो विशाल मेमोरियल गोल्डकप प्रतियोगितामा पनि सेमिफाइनलको यात्रा पक्का गरेको हो।
झापा ११ ले भारतको रोयल एफ सी सिलगुडीलाई वीरगंजको नारायणी रंगशालामा भएको प्रतियोगितामा २ का बिरुद्ध ४ गोल गर्दै विजयी बनेर सेमिफाइनलको यात्रा पक्का गरेको हो। पहिलो हाफको ७ औं मिनेटमा झापाका जर्सी नम्बर १७ का राजकुमार कन्दङवाले पहिलो गोल गरी टिमलाई अग्रता दिलाए। पहिलो हाफको अन्तिम समयमा सिलगुडीका जसी नम्बर १९ का खेलाडीले झापाका जर्सी नम्बर १० का संदिप राईलाई डिबक्स एरियामा लडाएपछि प्यानल्टी पाएको झापाले त्यो मौकालाई पनि सदुपयोग गरी पहिलो हाफमा नै २ गोल गर्न सफल भयो।
वीरगंजको नारायणी रंगशालाका भइरहेको प्रतियोगितामा सिलगुडीका खेलाडीले दोस्रो हाफको १५ मिनेटमा १ गोल फर्काए पछि निकै रोचक बनेको प्रतियोगितामा फेरि झापाका जसी नम्बर १० का संदिप राईले अर्को गोल गरी टिमलाई पुनः ३-१ को अग्रतामा पुर्याए। १० मिनेटको अन्तरमा फेरि सिलगुडीलेका खेलाडीले १ गोल गरेपछि ३-२ भएको खेलमा अन्तिम समयमा पनि झापाका खेलाडीले अर्को गोल थपेपछि ४-२ गोलले झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो।
प्रतियोगिताको सेमिफाइनलका खेलहरू बुधबारदेखि हुने आयोजक विशाल मेमोरियल फाउन्डेशनले जनाएको छ। सेमिफाइनलको पहिलो खेल वीरगंज ११ र काठमाडाैंको हिमालयन शेर्पाका बीच हुने फाउन्डेशनका अध्यक्ष अनिलप्रसाद कलवारले बताए। नेपाल र भारतका ८ वटा टिम सहभागी प्रतियोगिताको विजेताले नगद पाँचलाख ५५ हजार र उपविजेताले दुई लाख ७७ हजार नगद पुरस्कार र शिल्ड प्राप्त गर्ने आयोजकले जनाएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।