|

काभ्रे : इँटा भट्टाको पर्खाल भत्किएर पुरिदा दुई बालबालिकाको मृत्यु भएको छ भने एक बालिकासहित दुई जना घाइते भएका छन्। इँटा भट्टामा बालबालिका प्रयोग धेरै भइरहेको भन्ने चर्चा चलिरहेको वेला काभ्रेको पाँचखाल नगरपालिका-७ श्रीरामपाटीस्थित हनुमान इँटा भट्टामा यस्तो घटना भएको हो।

रोल्पा जिल्ला गंगादेवी गाउँपालिका १ का ज्ञानबहादुर परियारको ११ महिने बालक निर्माण परियार र उनकै ३ वर्षीया छोरी जेनिशा परियारको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रवीराज खड्काले जानकारी दिए।

रोल्पाको पारी गाउँपालिका ३ का बाबुराम घर्तीकी ३ वर्षीया छोरी झरना घर्ती र ३५ वर्षीया सीतादेवी पासवान घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी गराएका छन्। घाइते दुई जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

सानु कोजुलगायतको लगानीमा संचालित उद्योग दुर्घटना दुर्घटनाको विषयमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे धुलिखेलबाट प्रहरी निरीक्षक दिपक रायको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

उक्त घटनामा अन्य मजदुरहरू पनि पुरिएको हुन सक्ने आशंका स्थानीयले गरेका छन्। एक साताअघि पनि पाँचखालकै इँट्टा भट्टाको पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.