|

काठमाडौं : नेपाल र भारतका युवा उद्यमीको सहभागितामा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ शनिबारदेखि काठमाडौँमा भएको छ।

भारतीय दूतावास र क्लक बि विजनेश इन्नोभेसनद्वारा संयुक्त रुपमा आयोजित उक्त सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले युवाशक्ति देश विकासको इञ्जिन भएको बताए।

प्रविधिको प्रयोगमा समेत युवा शक्ति अगाडि रहेकाले उनीहरुसँग साझेदारी गर्न सरकार तयार रहेको उल्लेख गर्दै उहाँले समाजको आवश्यकताअनुसार चल्न सकेन भने विकास सम्भव नहुने धारणा व्यक्त गरे। ‍'समाज विकासका लागि नयाँ खोज र योजना जरुरी हुन्छ', सल्लाहकार रिमालले भने, 'त्यो क्षमता युवामा हुन्छ, उसले सरकारलाई समेत गाईड गर्न सक्छ।'

उनले भाडामा यात्रु ओसार्नका लागि प्रयोगमा आएको मोबाइल एप्लिकेशन ‘टुटल’ र ‘पठाओ’को उदाहरण दिँदै मान्छेले के चाहन्छ र सरकारले के गरिरहेको छ भन्ने कुरा यसैबाट प्रष्ट बताए।

नेपालमा भएका ९१ लाख युवालाई ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा सहभागी गराउने सरकारको योजना रहेको पनि सल्लाहकार रिमालले बताए।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले युवासँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै कार्यक्रममा सहभागी जनशक्ति सम्भावनायुक्त रहेको बताए। उनले नेपाली जनता विदेशमा गएर काम गर्ने मात्रै नभई स्वदेशमै श्रम लगानी गरेर शिक्षा, प्रविधिसँगै आर्थिक विकासमा सघाउन सक्ने क्षमताका रहेको बताए।

राजदूत पुरीले विश्वव्यापीकरणको वर्तमान युगमा नेपाल र भारत फाइदा लिने चरणमा रहेको उल्लेख गर्दै सम्मेलन युवा उद्यमीका लागि महत्वपूर्ण अवसर भएको विश्वास व्यक्त गरे। पछिल्लो ३०/४० वर्षमा सूचना र प्रविधिको तीव्रतर विकास भएकाले यसबाट फाइदा लिने बेला आएको बताए।

सम्मेलनमा नेपाल र भारतका ५०० भन्दा बढी युवा उद्यमी, लगानीकर्ता, व्यापारी, सरकारी प्रतिनिधि, विश्वविद्यालयका प्रतिनिधि र उद्यमशीलता सम्बन्धि जानकार सहभागी छन्।

नेपाल र भारतका युवा उद्यमी, लगानीकर्ताबीच अनुभव आदानप्रदान हुने र उद्यमशीलताका विषयमा गहन छलफल हुने भएकाले आपसी सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास रहेको आयोजक क्लाक बि विजनेश इन्नोभेसनका निर्देशक डिल्लीराज जोशीले जानकारी दिए। ‍

सम्मेलनका लागि सामाजिक सञ्जालमार्फत विभिन्न विषयमा नयाँ खोज र योजनासहितको १०० आवेदन संकलन गरिएका र त्यसमध्ये उत्कृष्ट २१ योजना छनोट गरिएको छ। यसरी छनोट गरिएका कम्पनीमा एयर लिफ्ट टेक्नोलोजी, स्वदेशी इनोभेसन, अफरिङ्ग ह्याप्पीनेस, मेकर भ्याली, अन स्कूल र वाकमेन ग्रिन क्वीन रहेको जनाइएको छ।

सम्मेलनमा विषयविज्ञ आदित्य घोष, हेमराज ढकाल, रञ्जीत आचार्य, नरोत्तम अर्याल, सुशील पोखरेल, कपिलध्वज प्रताप सिंह, कुवेर चालिसेलगायत १८ जना प्रमुख वक्ताले आफ्ना अनुभवसहित उद्यमशीलताको विकास र सम्भावनाका विषयमा प्रस्तुतीकरण दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.