|
File Photo

काठमाडौं : सरकारले विशिष्ट श्रेणीका ५६ जना सचिवको समायोजन गरेको छ। ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार विशिष्ट श्रेणीका ती सचिवको संघमा समायोजन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिएकि छन्।

निरौलाका अनुसार ज्येष्ठताका आधारमा सचिवहरुलाई मुख्यसचिव लोकदर्शन रेग्मीले समायोजनको पत्र दिएका हुन्। संघीय स‌ंरचना कार्यान्वयनका सिलसिलामा प्रथम श्रेणी तथा सो भन्दा माथिका कर्मचारीलाई संघीय सरकार अन्तरगत र राजपत्राङ्कित दोश्रो र साे भन्दा तलका कर्मचारीलाई प्रदेश सरकार मातहत रहने प्रबन्ध भए अनुसार केही दिनअघि मात्र मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई समायोजन रोजेका सचिवको पत्र स्वीकृतिका लागि पठाएको थियो। मन्त्रालयले पठाएको आधारमा मन्त्रिपरिषद्ले ती सचिवको समायोजन पत्र स्वीकृत गरी समायोजन गरेको हो।

यसैगरी मन्त्रालयले तीनै तहमा सहसचिवको समायोजनका लागि पत्र तयार पारेको छ। उनका अनुसार समायोजन रोजेका करीब ६ सय भन्दाबढीको संख्यामा रहेका सहसचिवको समायोजन स्वीकृत गर्न मन्त्रिपरिषद् कार्यालयमा पत्र पठाउन लागिएको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि ती सहसचिवलाई मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले समायोजनको पत्र दिनेछन्।

कर्मचारीले गत पुस ११ देखि माघ २ गतेसम्म तीनै तहमा समायोजन रोज्न अनलाइन फाराम भरेका थिए। यसैगरी संघमा मात्र सेवा समूह रहेकाको समायोजनको प्रक्रियासमेत शुरु गरिएको उपसचिव निरौलाले बताइन। उनका अनुसार संघमा मात्र सेवा समूह रहेका परराष्ट्र, न्याय र महालेखापरीक्षक सेवा समूहको पनि समायोजनको प्रक्रिया प्रारम्भ भएको छ। सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.