|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले अनशनमा रहेका डा. गोविन्द केसीका माग नबदलिएको दाबी गरेका छन्। उनले नेकपाका युवा नेताहरूको डा. केसीलाई हेर्ने दृष्टिकोण भने बदलिएको आरोप लगाएका छन्।

रिपोर्टर्स क्लबमा आयोजित साक्षात्करमा प्रतिनिधिसभा सदस्य विश्वकर्माले नेकपाका सांसद तथा नेताले पहिले डा. केसीका मागमा सहमति जनाएको तर सत्तामा गएसँगै बदलिएको आरोप लगाएका हुन्। उनले भने, ‘डा. गोविन्द केसीका माग ठीक छन भनेर सबैभन्दा पहिले हस्ताक्षर गर्ने योगेश भट्टराई र रवीन्द्र अधिकारी हुन्। त्यसपछि कांग्रेस नेता गगन थापा पुग्नुभएको हो।' साक्षात्कारमा सँगै रहेका भट्टराईलाई इंगित गर्दै विश्वकर्माले उक्त कुरा बताएका हुन्।

डा. केसीको १६औँ अनशनका क्रममा कंचनपुरकी निर्मला पन्तका बलात्कारी र हत्याका दोषीलाई तत्काल पत्ता लगाएर कानुनी कारबाही गर्नुपर्ने तथा द्वन्द्वकालिन समयमा भएका मानवअधिकार उलंघनका दोषीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार कारबाही गर्नुपर्ने माग राखेका छन्।  

विश्वकर्माले नेकपाका नेताहरूमा डा. केसीलाई फेल गराए आफू पास भइने भ्रम रहेको दाबी गरे। उनले भने, 'केसीलाई फेल गराएपछि योगेशजी पास हुँला भन्ने होला। तर, विवेक प्रयोग गर्ने हो भने योगेशजी सरासर झुठ बोलिरहनुभएको छ।’ उनले प्रधानमन्त्रीले सहमति गरेको विषयलाई कार्यान्वयन गर्नुपर्ने तर्क गरेका छन्।

केपी ओली नेतृत्वको सरकारले कांग्रेसका तत्कालिन सभापतिहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका अस्पताल संघीय सरकार मातहत नराख्ने निर्णय गरेकाले संसद अवरोध गरेको पनि विश्वकर्माले प्रष्टिकरण दिए।

नेकपाले माघ ११ गते बस्ने प्रतिनिधिसभाको बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास गर्ने तयारी गरिरहेको बेला कांग्रेसले के गर्छ भन्ने प्रश्नमा विश्वकर्माले भने, 'संसद अवरोध गर्ने कि नगर्ने भन्ने कुरा परिस्थिति र सभामुखको कार्यशैलीमा भर पर्छ।’ उनले सभामुख कृष्णबहादुर महराको कार्यशैली प्रतिपक्षलाई चित्ता बुझाउने नरहेको भन्दै आरोप लगाए। उनले भने, 'सभामुखको कार्यशैलीमा सत्ताको अनुहार देखियो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.