सल्यान : जिल्लामा सञ्चालित परम्परागत प्रविधिमा आधारित कोलहरू हराउन थालेका छन्। ग्रामीण भेगसम्म यातायातको विकाससँगै परम्परागत कोलहरू हराउन थालेका हुन्। नयाँ प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित चिउरी, उखु, अमिलो, र तोरी पेल्ने परम्परागत कोल गाउँबाटै लोप भएका छन्।
ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा डिजेल मिलको बिस्तारसँगै परम्परागत कोल लोप हुन थालेको कुमाख गाउँपालिका ६ वडागाउँका देव शर्माले बताए। तेलहन बालीको खेती गर्न कम भएसँगै बजारमा प्याकिङ गरेर खाने तेल आउन थालेपछि कोल हराउँदै गएको उनको भनाइ छ। ‘बजारमा पाइने विभिन्न किसिमका ‘प्याकिङ’ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका हुन्।’
कोल लोपसँगै सामूहिक भावनामा पनि बिस्तारै दरार पर्दै गएको उनले बताए। गाउँबाट कोल लोप हुदै गएकोमा चिन्ता व्यक्त गर्दै शर्माले भने, ‘तेलबाली लगाउन पनि छोडे। उखु लगाउन छोडे। बजारमै पाइहालिन्छ भनी भन्दै खेती गर्नै माया मारिसके।’
हिउँदको समयमा प्रायः मानिसहरू फुर्सदिला हुने भएकाले गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर प्रत्येक परिवारले पालैपालो चिउरी, तोरी पेल्ने चलन थियो। बजारमा सजिलै हरेक चिज किर्न सकिने भएपछि मानिसहरूले पनि काम गर्न छोडेको स्थानीय हरिलाल शर्माले बताए। ‘पहिले त कोल प्रायः सामुदायिक हुन्थे। गाउँभरिकै एउटै कोल भएकाले गाउँभरिका जम्मा भएर पालैपालो तेल पेल्ने र कोललका खाँबा फेर्नु परेमा समुदायका सबै जम्मा भएर ल्याउने गर्थ्यौँ', उनले सम्झिए।
विगतमा जिल्लाभर सयौंको संख्यामा रहेका यस्ता कोल अहिले लोप भइसकेका छन्। कोलमा तेल पेल्नका लागि धेरै जनशक्ति सँगै शारीरिक श्रम पनि बढी लाग्ने तर बजारमा सजिलै बजारमा तेल किन्न पाइने भएपछि कोल लोप हुने अवस्थामा पुगेको हो। गाउँघरका काठबाट हातले बनाइएका विभिन्न मेसिन हराउन थालेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।