|

पोखरा : पोखरा भन्ने बित्तिकै धेरैले सम्झिन्छन् फेवाताल। पोखरा घुम्न जाने धेरैजसोको गन्तब्य फेवाताल पनि हुन्छ। स्वदेशी र विदेशी पर्यटकहरु तालमा डुंगा सयर गर्ने, किनारमा बसेर मनोरम दृश्य अवलोकन गर्ने गर्छन्।

तर फेवाताल पुरिए के होला? कहिल्यै सोच्नुभएको छ? यदि मानवीय गतिविधि र प्राकृतिक प्रकोपहरुलाई रोकथाम नगर्ने हो भने भविष्यमा यस्तो दिन पनि आउन सक्छ। 

पोखराको दक्षिणी क्षेत्रमा रहेको फेवाताल तीन तिरबाट वन क्षेत्रले घेरिएको छ भने एकतिर बजार क्षेत्र पर्छ। बजार क्षेत्र लेकसाइडबाट हेर्दा ज्यादै सुन्दर देखिन्छ फेवाताल आँखाले भ्याएसम्म पानी देखिन्छ। डुंगा चढेर पनि परसम्म पुग्न सकिन्छ। तर धेरैलाई थाहा छैन बन क्षेत्रमा हुने भूक्षय र खोलामा आउने बाढीका कारण फेवाताल बर्षेनी पुरिँदै गएको छ।

पोखराको पृथ्वीनारायण क्याम्पस प्रमुख प्रा. डा. देवेन्द्रबहादुर लामिछानेले सन् १९९७ मा फेवातालमाथि नै पीएचडी थेसिस गरेका थिए। 'फेवा लेक वाटरसेड एरियाः स्टडिज अन सेटलमेन्ट एन्ड इन्भाइरोमेन्टल एप्रिसल' शीर्षकको थेसिसमा लामिछानेले निश्कर्ष निकालेका छन् '२८७ वर्षमा फेवाताल पुरिन्छ।'

कास्कीको पञ्चासे, ढिकुरपोखरी, कास्कीकोट, साराङकोट, चापाकोटका उच्च भागमा बेला बेलामा जाने पहिरो र भूक्षयका कारण ताल पुरिँदै गएको उनले बताए। तर गत वर्ष साउनमा जस्तो पहिरो जाने हो भने ताल अझै छिटो पुरिने लामिछाने बताउँछन्। '२०७२ साल साउन १३ गतेको जस्तै पहिरो गइरहने हो भने फेवाताल धेरै छिटो पुरिनेछ' उनको अनुमान छ। लामिछानेले आजभन्दा १८ वर्ष पहिले गरेको अध्ययन अनुसार वर्षेनी एक लाख ५९ हजार ५ सय ५३ मेट्रिक टन हिलो र लेदो माटो हर्मन खोला र अन्य सहायक खोलाले बगाएर फेवामा थुपार्छन्। पछिल्लो समय यो क्रम अझै बढेको छ।

विश्व वन्यजन्तु कोषले गरेको अध्ययनले त झन् १ सय ९० वर्षमा फेवाताल पुुरिने अनुमान गरेको छ। कोषको सहयोगमा सञ्चालित हरियो वनका कार्यक्रमका संयोजक केशवप्रसाद खनालका अनुसार सन् २०१३ मा गरिएको अध्ययन अनुसार 'फेवा तालको आयु १९० वर्ष हो। उनले भने ' फेवा तालको पुरिने क्रम यही गति (वार्षिक सरदर १ लाख ८० हजार घनमिटर)  मा भए ८० प्रतिशत भाग पुरिने र फेवाताल नै मृत हुनेछ।' 

त्यस्तै जापानी सहयोग नियोग जाइकाले गरेको अध्ययन अनुसार सन् १९५० देखि २००० सम्मको ५२ वर्षको अवधिमा मात्र फेवा ताल ६.२ किलोमिटर साँघुरो भएको छ।

सन् २०१३ को अध्ययन अनुसार ४३९ हेक्टरमा फैलिएको फेवातालको सबैभन्दा गहिरो भाग लगभग २३ मिटर रहेको छ भने सरदर गहिराई ९.६ मिटर रहेको छ।

फेवा ताल पुरिनुका कारण

प्रा. डा. देवेन्द्रबहादुर लामिछानेले फेवाताल पुरिनुको मुख्य कारण पहाडी इलाकालाई मानेका छन्। पञ्चासे, ढिकुरपोखरी, कास्कीकोट, साराङकोट, चापाकोटका कमजोर भूभाग र त्यहाँ बेलाबेलामा जाने पहिरोका कारण ताल पुरिँदै गएको छ। 

वर्षेनी खोलाले बगाएर ल्याएको माटो फेवातालमा ल्याउने गरेकाले नै फेवाताल पुरिदै गएको छ। त्यस्तै अर्को कारण हो - फेवातालको उपल्लो तटीय क्षेत्रमा रहेको कृषि प्रणाली। जहाँ, धान गहुँ खेती गर्न माटो खनिन्छ, जुन माटो वर्षाको पानीले बगाएर फेवा तालमा पुर्‍याउँछ।

ताल जोगाउन के के भइरहेको छ प्रयास?

एक वर्षअघि ढिकुरपोखरी गाविस ५ को भकरजुङ वनक्षेत्रमा गएको पहिरोले फेवातालको केही क्षेत्र पुरिएको थियो। अहिले त्यस क्षेत्रमा पहिरो नियन्त्रणका लागि वृक्षारोपण र कृषि प्रणाली सुधारका कार्यक्रम सञ्चालन गरिएको छ। भकरजुङ सामुदायिक पन उपभोक्ता समुहका अध्यक्ष दुर्गाप्रसाद पौड्यालका अनुसार पहिरो नियन्त्रणका लागि हरियो वन कार्यक्रमको सहयोगमा कृषि प्रणालीमा सुधारका काम भइरहेका छन्। अलैँची र कफी खेती सुरु गरिएको छ। पौड्यालले ससाना तटबन्ध बनाएर गल्छी नियन्त्रणका काम पनि गरिदै आएको बताए।फेवाताल र पोखरा एकअर्काका पर्याय भइसकेका छन्। तर, जसै पोखरा बजार बढ्दै छ त्यसै फेवाताल भने साँघुरिदै गइरहेको छ। पोखराको सुन्दरता, फेवाताललाई जोगाउन विभिन्न सरकारी र ग्रैहसरकारी संघसंस्था काम गरिरहेका छन्।

फेवा तालको पुरिने क्रम रोक्न माथिल्लो तटीय क्षेत्रमा वनजंगलको संरक्षण, कृषl प्रणालीमा सुधारका साथै तटबन्धको व्यवस्था गर्नुपर्ने हरियो वन कार्यक्रम संयोजक खनालले बताए।

प्राध्यापक लामिछानेले भने अहिले भइरहेका संरक्षणका काम अपुग र एकीकृत नभएको बताए। 'अहिले जति काम भएको छ त्यतिले मात्र त ताल धेरै जोगिने देखिदैन। ताल संरक्षणका लागि दीर्घकालिन योजनासहित बजेट विनियोजन गर्नेकाम सरकारले गर्नैपर्ने छ' उनले भने। फेवाताल जोगाउन लामिछानेका तीन सुझाव : 

१. पहाड जोगाउने : कृषि प्रणालीमा सुधार, बाँध लगाएर पहिरो जान रोक्ने र वृक्षारोपण गर्ने।

२- वर्षाको पानीले बगाएर ल्याएको लेदो पदार्थ तालमा पुग्नबाट रोक्न तीन तहमा कृत्रिम जलाशाय बनाउने। 

३- कालावाङ पहाडदेखि ताल छेउबाट टनेल बनाउने। वर्षातमा जाने अति बाढीलाई तालमा मिसिनबाट रोक्ने। यो टनेल वर्षायाममा अति बाढी आएको बेलामा मात्र प्रयोग गर्ने। यसका लागि रकम भने धेरै लाग्छ।

कुनैबेला नेपालको अहिलेको सबैभन्दा ठूलो ताल राराभन्दा ठूलो रहेको फेवातालको आयु रफ्तारमा छोट्टिदै छ। पोखराको सुन्दरता फेवाताल पुरिनबाट जोगाउन सरोकारवाला निकायले समयमै ध्यान दिन जरुरी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.