|

बाजुरा : 'खेतीपाती गरौँ। न जग्गा छ। न जमिन छ। विस्तारै उमेर ढल्किँदै गयो। यही (आफर) आरनलाई व्यवसायीकरण गरौँ आफूसँग लगानी छैन।

भएको एउटा छोरा पनि अपाङ्ग भएर थला परेको छ। अपांग छोरा र आफू पालिनै धौ–धौ भयो।' उमेरले ६० पुगिसकेका गौमुल गाउँपालिका –६ बाम्नीका गगने लवारले दुखेसो पोख्दै भने, 'अरुका फलाम चुटी औजार आँसी, कुटो, कोदालो भाँडाकुडा बनाउँने पुरानै शैलीबाट काम गरी त्यहीबाट जिवन निर्वाह गरिरहेको छु।'

लवारले ५ वर्षको नातिको साहारामा आरन चलाई परम्परागत पेशाबाट साँझ बिहान छाक टारिरहेका छन्। उनकी पत्नी बितेको ७ वर्ष जति भयो। आफूसँग भएको कान्छो छोरा जम्मै सन्तानमध्येको कान्छो हो। त्यो पनि जन्मजात हातखुट्टा नचल्ने भई अशक्त भई थला परेको छ। लाउने लुगा कपडा र खाने गास जोड्न साह्रै गाह्रो भएको लवारले बताए। उनी बस्ने गाउँमा जम्माजम्मी १४ दलित घरपरिवारहरु बस्तै आएका छन्। अधिकांश दैनिक गुजाराका लागि कोही भारततिर त कोही गाउँमै आरन पेसाबाटै जीवन निर्वाह गर्छन्।

तीन छोरा छुट्टीएर बसेका छन्। भएको सानो पाखोबारी आफू खनजोत गर्न सकिँदैन। भागमा परेको कान्छो छोरा अशक्त छ। दुःखैदुखले दिन चलाइरहेको तातो फलाम हथौडा बजार्दै उनले गुनासो गरे। 'बुढेसकाल लागेपछि छोराले पनि हेप्दारहेछन्।' निधार भरी पसिना चुहाउँदै उनले भने।

कोदालो, हसिया, कुटो लगायतका कृषि सामग्री तथा विभिन्न किसमका हातहतियार, साना छोराछोरीले लगाउने गरगहना बनाउने तथा मर्मत गदै आएका लवार यस्ता सामाग्री बनाएबापत कसैसँग नगद लिने गर्छन्, भने कसैसंग अन्नपात लिन्छन्। वर्षमा कति आम्दानी हुन्छ। त्यसको भने लेखाजोखा छैन। जेहोस् बिहानदेखि बेलुकासम्म काम गरे भने उही सिजन अनुसारको मानोपाथी अन्य थरीले छ महिनाको एक पटक दिन्छन्। सोही अनुसारको नुनतेल गरी घरव्यवहार चलाउने गरेको लोबरले सुनाए।

जिल्लामा पछिल्लो समयमा प्रायः दलित समुदायका मान्छेहरुले गर्ने (आफर) आरन पेसा व्यवसाय लोप हुँदै गएको छ। यो पेसाका लागि आवश्यक मात्रमा फलाम, आगो फुक्न पंखा, सल्लातथा पैयाँको बोक्रा (गोल) आवश्यक पर्दछ। यस्ता सामाग्री विग्रीएको खण्डमा खरिदका लागि सहरबजार तथा भारतबाट मगाउनुपर्छ। अलि भहँगोपनि भएकाले किन्न गाह्रो हुने गर्छ।

दलित समुदायका मान्छेले गरी खाने यो पेसालाई गाउँपालिकाले सहयोग गरेको खण्डमा यस  थप व्यवस्थित ढंगले आरन पेसा अघि बढाउने लवारले बताए। दलित समुदायका ज्येष्ठ नागरिकले  यस पेसालाई निरन्तरता दिइरहे पनि युवा भने यस पेसाप्रति आकर्षण छैन। युवाहरु भने वैदेशिक रोजगारी तथा अन्य काममा आकर्षित हुने गरेकाले यो पेसा अँगाल्न रुचि देखाउँदैनन्। गाउँमा  यो पेसासम्बन्धी सिप सिकेका युवा कमै भेटिन्छन्। खेती लगाउन खनजोत गर्न कुटो–कोदालो आदि घरेलु औजार यहीँ आरन पेशाबाट बनेपनि युवाहरु भने कम आकर्षित छन्।  एक त बजारमा पाइने अत्याधुनिक औजारहरु गाउँगाउँमा पुगेपछि आरन पेसा गरी खानेको पेटमा लात लागेको छ। गाउँपालिकाले बजेट विनियोजन गरेर आधुनिक ढंगले तालिम व्यवस्थापन गर्न सके युवालाई यस पेसामा आकर्षित गर्न सकिने स्थानीय कृषकहरु बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.