एक अर्ब संकलन गरी पाँच सय विद्यार्थीलाई नि:शुल्क उच्च शिक्षा

|

सोलुखुम्बु : सोलुखुम्बु बहुमुखी क्याम्पसले मेची–काली विश्व अभियान २०७५–२०८० सञ्चालन गर्ने भएको छ। क्याम्पसको माध्यमद्वारा नेपाललाई विश्वमा चिनाउने उदेश्यले उक्त अभियान सञ्चालन गरिने क्याम्पस प्रमुख उद्धवकुमार शर्माले जानकारी दिए।

क्याम्पस स्थापना भएको २५ वर्ष पुगेको अवसरमा आयोजित रजत महोत्सवका अवसरमा अभियानको उद्घाटन गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। रजत महोत्सवका अवसरमा पाँचवर्षे महत्वकांक्षी योजनाको सुरु गरिनेछ। 'फागुन ४ गते नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अभियानको सुभारम्भ गर्ने कार्यातालिका छ।' क्याम्पस प्रमुख शर्माले भने, 'अभियानको विशिष्ट उद्देश्य छ, सबैले सहयोग गरिदिनुहोस्।'

क्याम्पस प्रमुख शर्माका अनुसार आगामी ५ वर्षभित्र ५ लाख नागरिक, ५ हजार सरकारी तथा गैरसरकारी संघसंस्था, कार्यालयहरु र कम्तीमा विश्वका २५ राष्ट्रका नागरिकलाई अभियानमा सहभागी गराएर विश्वको सबैभन्दा बढी जनसहभागितामा सञ्चालित क्याम्पसको रूपमा गिनिज बुकमा नाम लेखाउने लक्ष्य रहेको छ।

पाँच सय विद्यार्थीलाई निःशुल्क उच्च प्राविधिक शिक्षा

गरिब भएकै कारण जो कोही पनि शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले यो अभियान सुरु हुदै छ। क्याम्पस प्रमुख शर्माले भने, 'क्याम्पसले राखेको सम्पर्ण शैक्षिक योजना सफल पार्नको लागि अभियान मार्फतनै रु.१ अर्ब संकलन गर्ने हाम्रो लक्ष्य छ।' पाँच वर्षसम्म आर्थिक संकलन गर्ने छैटौँ वर्षदेखि पूर्वाधार निर्माणदेखि विभिन्न संकायको कक्षा सञ्चालन गरिने बताइएको छ। प्रथम सगरमाथा आरोही विश्वविख्यात स्व. सर एडमण्ड हिल्लारीद्वारा स्थापना गरिएको उक्त क्याम्पसमा २५ कोठे एसी जडित सुविधा सम्पन्न भवन निर्माण गरिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष आङरिता शेर्पाले बताए।

'प्रत्येक जिल्लाका गरिब जेहेन्दार तथा पिछडिएका वर्गमध्येबाट एकजना छात्र र एकजना छात्रालाई निशुल्क शिक्षा प्रदान गरिन्छ।'  क्याम्पस प्रमुख उद्धव शर्माले भने, '७७ जिल्लाबाट गरिब तथा जेहेन्दार १ छात्र र १ छात्रा गरी १५४ जना र तीन वर्षे कार्यक्रमका लागि ४६२ तथा विभिन्न राष्ट्रका २५ जना र अति पिछाडिएका समुदायबाट १३ जना गरी ५ सय जनालाई निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्नेछौ।'

'ट्राभल, टुरिजम र माउन्टेनियरिङ कोर्स पढाउने कार्यक्रम छ। ट्राभल, टुरिजम र माउन्टेनियरिङ कोर्सको लागि प्रथम वर्षमा नाम्चेबजार, दोस्रो वर्षमा सगरमाथा आधारशिविर र तेस्रो वर्षमा आधार शिविरभन्दा माथि उक्लिँदै थेसिस लेखाउँछौँ।' क्याम्पस प्रमुख शर्माले भने, 'स्नातक र स्नातकोत्तर तहमा ट्राभल, टुरिजम र माउन्टेनियरिङ कोर्स गराउने र यसमा विश्वका २५ देशका एक–एक जनालाई निशुल्क शिक्षा दिन्छौँ।'

उक्त ५ वर्षे शैक्षिक योजनाको लागि सम्पूर्ण नेपालीदेखि विदेशी नागरिक, दातृ संस्था, समजासेवी, शिक्षक, विद्यार्थीलगायत सबैलाई सहयोग गरी आवश्यक सल्लाह सुझाव गरिदिन क्याम्पस प्रमुख उद्धवकुमार शर्माले अपिलसमेत गरे।

संकलन भएको एक अर्ब कहिल्यै खर्च नहुने

पाँच सय जनालाई निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्दा वार्षिक ७ करोड खर्च लाग्ने क्याम्पसको अनुमान छ। क्याम्पसका अनुसार ६ करोड क्याण्टिन खर्च, १ करोड तलबभत्ता र अन्य विद्यार्थीले तीरेको शुल्कबाहेक व्याजबाट मात्र बार्षिक रु.७ करोड खर्च हुनेछ।

'उक्त खर्च धान्नको लागि अभियानबाट संकलित रु.१ अर्ब रुपैँया १२ प्रतिशतसम्म ब्याज दिने बैंकमा अक्षय कोषको रूपमा जम्मा गर्छौं।' क्याम्पस प्रमुख शर्माले भने, 'आयकर कटाउँदा वार्षिक १० प्रतिशतले रु.१० करोड ब्याज प्राप्त हुन्छ, खर्च अनुमान रु.७ करोड यसरी हेर्दा रु.३ करोड त हाम्रो कोषमा जम्मा हुन्छ।'

रु.१ अर्ब रुपैयाँ संकलनको लागि रु.१ सय देखि रु.१० लाखसम्मको आर्थिक सहयोग प्याकेज ल्याइएको छ। अभियान सुरु भएको ६ वर्षदेखि सम्पूर्ण कार्यक्रम लागू हुने बताइएको छ।

२० र्षमा गरिबी अन्त्य

कार्यक्रम सुरु भएको २० वर्षमा सोलुखुम्बु जिल्लामा एक घर एक दक्ष प्राविधिक उत्पादन गर्ने लक्ष्य राखिएको छ। क्याम्पस प्रमुख शर्माले भने, 'हाम्रो उद्देश्यअनुसार ५ हजार विद्यार्थीलाई सोलुखुम्बु ल्याउने हो। यसलाई हेर्दा यहाँको हरेक कृषक उत्पादन बढाउन आवश्यक छ।'

कार्यक्रम लागू भएपछि कम्तीमा ३ देखि ४ सय कर्मचारी आवश्यक पर्ने क्याम्पसले अनुमान गरेको छ। 'अध्ययनका लागि सबै जिल्लाका हुन्छन् तर रोजगारीको लागि योग्यता पुगेका भए जिल्लालाई पहिलो प्राथमिकता दिन्छौँ।' शर्माले भने, '२० वर्षपछि हामी जिल्लामा रहेको गरिबी निर्मूल पार्छौ।'

रकम हिनामिना गरे प्रहरी खोरमा

आर्थिक पारदर्शितको हिसाबले समेत आफूहरू स्पष्ट भएको दाबी गरिएको छ। हरेक नागरिकले गरेको सहयोगलाई तत्काल क्याम्पसको वेबसाइटमा राखिने र प्रत्येक महिना स्थानीय सञ्चार माध्यम र वार्षिक रूपमा बृहत् भेला गरी सार्वजनिक सुनुवाइसमेत गरिने क्याम्पस प्रमुख शर्माले बताए।

प्राप्त सहयोगलाई विभिन्न राष्ट्रिय सञ्चार माध्यमबाट समेत सार्वजानिक गर्ने क्याम्पसले जनाएको छ। 'हामी सबैको सहयोग लिन्छौँ, अर्धकट्टी हुन्छ त्यसमा नम्बर राखिएको छ।' प्रमुख शर्माले भने, 'हामी एकपटक धन्यवाद दिनको लागि सबैलाई क्याम्पसबाट फोन गर्छौ, त्यति नै बेला थाहा हुन्छ, सहयोग रकम दुरुपयोग भयो या भएन भनेर, यदि दुरुपयोग भएछ भने प्रहरीको खोरमा पठाइन्छ।'

क्याम्पस प्रमुख उद्धवकुमार शर्माले महत्वकांक्षी योजना सार्वजानिक गर्दै सफल हुने दाबी गरे। कुनै पनि व्यक्तिले एक सय सहयोग गर्‍यो भने सोही रकमबाट सधैँभरी दक्ष जनशक्ति उत्पादन गर्ने त्यो पनि नि:शुल्क हुन्छ त्यसैले सबैले सहयोग गर्नुहुन्छ। उनले भने, 'अहिले अमेरिका, कोरिया, जापान लगायतका देशमा उपसमिति गठन भइसकेको छ, आर्थिक प्रमुख हो आर्थिक संकलन भएपछि हाम्रो अभियान सफल नहुने कुरै भएन।'

जिल्लाको पहिलो क्याम्पसमा अहिले नेपाली, स्वास्थ्य र इपिएममा एमएड सम्मको पढाइ हुन्छ। यस्तै कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन, साबिक ३ हाल ४ वर्षे बिएड १ वर्षे बिएडमा शिक्षा, ३ वर्षे बिए मानविकी, ४ वर्षे बिबिएस व्यवस्थापन संकायका पढाइ हुन्छ। यहाँ अहिले पनि सोलुखुम्बु, खोटाङ, ओखलढुंगालगायत जिल्लाका विद्यार्थीले अध्ययन गर्ने गरेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.