मोदीलाई चीनको चेतावनी : ‘तथाकथित अरुणाञ्चल’ गए सीमानामा जटिलता आउनेछ

|
अरुणाञ्चलको स्थानीय भेषभुषामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। चीनका राष्ट्रपति सी जिनपिङ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार अरुणाञ्चल प्रदेशको राजधानी गएकोमा चीनले गम्भीर आपत्ति जनाएको छ। चीनले अरुणाञ्चललाई विवादित भूमी भएको र त्यहाँ भारतीय केन्द्र सरकारको कुनै पनि गतिविधि आफूलाई सह्य नहुने चेतावनी दिएको छ। चीनले भारत सरकारबाट ‘तथाकथित अरुणाञ्चल’मा हुने कुनै पनि प्रकारको गतिविधिले सीमामा दुई देशबीचको सम्बन्ध जटिल हुने चेतावनी दिएको हो।

चीनको विदेश मन्त्रालयलाई उद्धृत गर्दै चीन सरकारद्वारा संचालित समाचार ऐजेन्सी सिन्ह्वाले लेखेको छ, ‘चीनको विदेश मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार चीन र भारत सीमाको पूर्वी क्षेत्रमा गरेको भ्रमणलाई लिएर गम्भीर आपत्ति जनाएको छ।‘

उक्त समाचार एजेन्सीलाई चीनको विदेश मन्त्रालयकी प्रवक्ता हु चुनयिङले भनेकी छन, ‘चीन र भारत सीमा विवादमा हाम्रो अडान स्पष्ट र यथावत छ।’ प्रवक्ता हुले भारतले भन्ने गरेको ‘अरुणाञ्चल प्रदेश’लाई चीनले मान्यता नदिएको बताएकी छन्।  प्रवक्ता हुले चेतावनीपूर्ण भाषामा भनेकी छन्, ‘चीन भारतसँग दुवै देशको पारस्परिक हित एवं द्विपक्षीय सम्बन्ध कायम राख्न र सीमा विवादमा फस्नबाट बच्न आग्रह गर्छ। चीन मोदीको अरुणाञ्चल भ्रमणलाई लिएर चिन्तित छ।’

चीनले अरुणाञ्चललाई दक्षिणी तिब्बतको हिस्साका रूपमा बुझ्ने गर्दछ। यो क्षेत्रमा हालैका वर्षमा चीन र भारतका सेनाबीच तनाव आइसकेको थियो। त्यसपछि दुई देशका अधिकारीहरू सीमा विवादलाई लिएर सयौँ छलफलमा भाग लिइसकेका छन्। चीनले अरुणाञ्चल प्रदेशमा भारतको केन्द्र सरकारका तर्फबाट कुनै पनि किसिमको गतिविधि हुँदा आपत्ति जनाउने गरेको छ। यता भारतले भने अरुणाञ्चल भारतको अभिन्न हिस्सा भएको र अन्य राज्यमा झैँ अरुणाञ्चलमा पनि भारतीय केन्द्र सरकारका प्रतिनिधि जाने गरेको दाबी गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाञ्चल प्रदेश भ्रमणलाई लिएर चीनबाट आएको गम्भीर आपत्तिमा भारत सरकारले छोटो प्रतिक्रिया जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘भारतीय नेता बेला बखत अरुणाञ्चल जाने गर्दछन्। अरुणाञ्चल भारतको अभिन्न अंग हो र यहाँ भारतीय नेता अन्य राज्यमा झैँ आउने जाने गर्दछन्।‘

मोदी २०१९ मा हुन लागेको लोकसभा निर्वाचनको प्रचारका लागि शनिबार अरुणाञ्चल पुगेका थिए। त्यहाँ उनले हाइवे, रेलवे र हवाइ यातायातको विकासका कुरा गरेका थिए भने अर्बौंका नयाँ योजनाको शिलान्यास पनि गरेका थिए।

चीन र भारतबीच तीन हजार ५०० किलोमिटर लामो सीमा छ। यसै अन्तर्गत अरुणाञ्चल पनि पर्दछ। सीमाका विषयमा सन् १९६२ मा यी दुई देशबीच युद्ध भएको थियो। अझै पनि यी दुई देशबीचको सीमामा विवाद कायमै छ र बेलाबेला सीमा सुरक्षामा खटिएका दुई देशका सेनाबीच तनाव पैदा हुने गरेका समाचार आउने गर्छन्।

के हो अरुणाञ्चल विवाद?

चीन र भारतलाई अलग गराउने सीमा रेखालाई ‘म्याकमोहन रेखा’ भनिन्छ। तर, चीनले भने यो रेखालाई अश्वीकार गरेको छ। चीनले अझै पनि आफ्नो कतिपय भूमी भारतसँग रहेको दाबी गर्दै आएको बीबीसीले लेखेको छ। खास गरेर तिब्बतको ठूलो हिस्सालाई भारतले आफ्नो भन्ने गरेको चीनको दाबी छ।

अरुणाञ्चमा बुद्ध धर्मावलम्बी तिब्बती मूलका मान्छेहरूको बसोबास रहेको छ।

सन् १९५० को दशकको अन्तिमतिर तिब्बत चीनमा बिलिन भएको थियो। त्यसबेला चीनले तिब्बतको करिब ३८ हजार वर्ग किलोमिटर इलाका आफ्नो बनाएको थियो।

भारतको लद्दाखसँग जोडिएको इलाका चीनसँग जोडिएको छ। चीनले त्यहाँ नेसनल हाइवे २१९ निर्माण गरेको थियो। उक्त हाइवेले लद्दाखलाई पूर्वी प्रान्त सिन्जियाङसँग जोड्ने गर्दछ। जसलाई भारत अवैध कब्जा मान्दछ। यस्तो अवस्थामा चीन र भारतबीच फेरि सीमा विवाद बल्झिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.