|

पोखरा : निकै महत्वका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजना पोखरा विमानस्थलमा अहिले युद्धस्तरमा काम भइरहेको छ। पोखरा विमानस्थलमा सबै भन्दा धेरै समय लाग्ने धावनमार्ग निर्माणको काम अहिले तेस्रो चरणको काम भइरहेको छ। विमानस्थल निर्माण कम्पनीले सन् २०१९ भित्रै ६० प्रतिशत काम सक्ने र सन् २०२० मा बाँकी ४० प्रतिशत काम सक्ने पटकपटक बताउँदै आएको छ।

चीन सरकारको स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्न सन् २०२१ जुलाई १० गते सम्मको सम्झौता गरेपनि तोकिएको समयसीमाभन्दा ६ महिनाअघि नै सक्ने गरी काम भइरहेको चिनिया कम्पनी सीएएमसीईका साइड म्यानेजर झुले बताए।

रनवे, टर्मिनल भवन र एप्रोनको निर्माण धमाधम

विमान स्थल निर्माणमा अहिले विभिन्न क्षेत्रको विभिन्न चरणमा काम भइरहेको छ। ‘विमानस्थलको धावनमार्ग, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने काम भइरहेको छ,’ ठेकेदार कम्पनीका नेपाली जनसम्पर्क अधिकारी कृष्ण चापागाईंले भने, ‘हाम्रो अहिलेको निर्माणको प्रगती अपेक्षा गरेअनुसार नै भएको छ। धेरै समय लाग्ने कामहरूको प्रगती नै राम्रो भएपछि हामी पनि हौसिएका छौँ।’ पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ सय जना र नेपाली तीन सय जना मजदुरले धमाधम गरिरहेका छन्।

यसै वर्ष ६० प्रतिशत काम सकिन्छ

सन् २०१७ को नोभेम्वरदेखि विमानस्थलको निर्माण शुरू भएको हो। सन् २०१९ भित्र ६० प्रतिशतभन्दा काम सकिने र सन् २०२० भित्र बाँकी सबै काम सकिने झुले जानकारी दिए। अहिले धावनमार्ग तेस्रो चरणको काम अन्तिम अबस्थामा पुगेको उनले बताए।  ‘फागुन महिनाभित्र तेस्रो चरणको काम सकिन्छ,’ उनले भने, ‘यो वर्षको असारसम्म धावनमार्गको काम सकिन्छ।’  

१४ हजार वर्ग मिटरमा बन्ने टर्मिनलको पनि धमाधम काम भइरहेको छ। ८ हजार वर्ग मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार वर्ग मिटर आन्तरिक उडानका लागि गरी १४ हजार वर्ग मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो। टर्मिनल भवनको क्षमता वार्षिक ५ लाख यात्रु रहेको छ।

आइकाओको मापदण्ड अनुसार निर्माण

चीन सरकारको करिब २२ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माणाधिन विमानस्थल अन्तर्राष्ट्रिय उड्यन संस्था आइकाओको फोरडी मोडलमा बनिरहेको छ। निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन्। दुई हजार ५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने विमानको यात्रु क्षमता १ सय ९२ जनासम्मको हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.