|

कालिकोट : जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका १ को सेरीज्युलामा पहिरोका कारणले बस्ती नै विस्थापित भएको छ। गाउँभन्दा माथि सडक खन्दा बस्ती नै जोखिममा परेको हो।

ग्रामीण कृषि सडक निर्माण गर्ने क्रममा डोजरले बढी कटान गर्दा सेरीज्युला गाउँका २५ घरपरिवार जोखिममा परेका छन्। गाउँमाथि सडक निर्माण भएको र सडक निर्माणका क्रममा डोजरले ठूल्ठूला ढुंगा कटान गरेका कारणले बस्ती जोखिममा परेको वडा अध्यक्ष भरत बिकले बताए। ‘गाउँमाथि सडक निर्माण गर्दा तलको बस्ती जोखिममा पर्‍याे’, उनले भने,‘सडक विकास नभएर विनास पनि रहेछ।’

गाउँमाथिबाट पहिरो आउने उच्च जोखिम भएका कारणले २५ घरपरिवार अहिले गोठमा बस्न थालेको र बस्ती उच्च जोखिममा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। ‘अहिले गाउँमाथिबाट पहिरो आउने उच्च जोखिम रहेको छ’ उनले भने,‘अहिले त्यो गाउँका २५ घरपरिवार गोठ र आफन्तकोमा बस्न थालेका छन्।’

गाउँमाथिबाट ठूल्ठूला ढुंगा खस्ने उच्च जोखिम रहेकाले बस्तीलाई सुरक्षित बनाउनका लागि ढुंगा फुटाउनका लागि रक्षा मन्त्रालय र गृहमन्त्रालयमा आग्रह गरिएको वडा अध्यक्ष भरत बिकले बताए। ‘ढुंगा फुटाउनका बिष्फोटक पदार्थ आवश्यक भएकाले जिल्ला प्रशासन कार्यालयमार्फत रक्षा र गृह मन्त्रालयमा आग्रह गरिएको छ।’ उनले भने,‘अहिले गाउँ नै उच्च जोखिममा रहेका कारणले गाउँलाई सुरक्षित स्थानमा राखिएको छ।’ 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.