|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको राजनीतिक संक्रमण र अन्योलतालाई चिर्दै गठन भएको स्थिर सरकारले मुलुकमा सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोलेको बताएकी छन्। राष्ट्रपति भण्डारीले राष्ट्रलाई समुन्नत बनाउने यस महत्वपूर्ण अवसरको पूर्ण सदुपयोग गर्न सबै राजनीतिक दल, प्रवुद्ध वर्ग र आम समुदायको एकता, सक्रिय सहयोग र सहकार्यको आवश्यकता रहेको औँल्याइन्।

निर्वाचन दिवस–२०७५’ को अवसरमा निर्वाचन आयोगद्वारा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक संक्रमणको अन्त्य, संविधानको घोषणा र तीनै तहको निर्वाचन सम्पन्न गरी देशलाई निश्चित दिशा प्रदान गर्न राजनीतिक दल, नागरिक समाज र सबै नेपालीको उत्साहपूर्वक सहभागिता स्मरणीय रहेको उल्लेख गरिन्। मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमद्वारा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको लक्ष्य लिएको बताउँदै समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय संकल्प, मुलुकको आर्थिक सामाजिक समृद्धिको संवैधानिक मार्गचित्र अनुकूल भएकाले सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई एकबद्ध भएर अघि बढ्न आग्रह गरिन्।  

निर्वाचनलाई अझै स्वच्छ, स्वतन्त्र र मर्यादित रुपमा सम्पन्न गरेर लोकतन्त्रलाई थप सुदृढ बनाउँदै लैजान आवश्यक कानून निर्माण र नवीन प्रविधिको प्रयोग गरी निर्वाचन व्यवस्थापनमा अझ बढी व्यावसायिक कुशलता अभिवृद्धितर्फ आयोग अघि बढ्ने राष्ट्रपति भण्डारीको आग्रह छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.