|

काठमाडौं : सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक पारित हुने/नहुने अन्योल छ। संसदमा कायम ५९४ सदस्य संख्याको दुई तिहाई मत सत्तारुढ गठबन्धनसँग स्पस्ट नभएका कारण विधेयक पारित हुनेमा आशंका उब्जिएको हो।

विधेयक पारित हुन दुई तिहाइ अर्थात ३९६ मत आवश्यक पर्छ। तर सत्तारुढ गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नेकपा संयुक्तसँग हाल ३२९ मत मात्र छ। संविधान संशोधन हुन वर्तमान सत्ता गठबन्धनलाई ६७ मत अपुग छ। माओवादी केन्द्रबाट सांसद भएकी सभामुख ओनसरी घर्तीले मत बराबर भएमात्र निर्णयक मत दिनेछिन्। त्यसैले संसदीय अंक गणितमा उनको गणना हुँदैन।

असन्तुष्ट मधेसी मोर्चा आबद्ध दलहरुले आफूसँग रहेको ४४ मत कता दिने भनेर स्पस्ट गरेका छैनन्। यदि अन्तिम अवस्थामा उनीहरुले संशोधन विधेयकको समर्थन गरे भने पनि पारित गर्न २३ मत अपुग हुन्छ। तर मोर्चा आवद्ध सद्‍भावनाका सांसद सञ्जयकुमार साह निलम्बनमा परेकाले मत दिन पाउँदैनन्।  

१४ सिट रहेको फोरम लोकतान्त्रिकदेखि साना दलले समेत संविधान संशोधन विधेयकलाई समर्थन गरिसकेका छैनन्। फोरम लोकतान्त्रिकले विधेयकको पक्षमा मत दिएमा पनि ९ मत पुग्दैन। साना ९ दलसँग १२ मत छ। यो १२ मत पक्षमा परेमा मात्र संविधान संशोधन हुन्छ। एकजना स्वतन्त्र सांसद छन्। 

प्रमुख प्रतिपक्षी नेकपा एमाले, माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा र नेपाः राष्ट्रिय पार्टी संविधान संशोधन दर्ता गर्नु अघिदेखि नै स्पष्ट विपक्षमा उभिएका छन्। यी सबैको मत जोड्दा १९५ हुन्छ। 

संसदमा दर्ता भएको संशोधन विधेयक पारित गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मधेसी मोर्चाआवद्ध दलहरु, फोरम लोकतान्त्रिकसहित एक /दुई सिटे पार्टीका सांसदको समर्थन जरुरी छ। त्यो समर्थन जुटाउन प्रधानमन्त्री प्रचण्ड र उनको सरकार सफल हुन्छ या विफल थाहा पाउन केही दिन कुर्नैपर्छ। 

संसदको अंक गणित  
कांग्रेस २०७
एमाले १८२
माओवादी केन्द्र ८२
राप्रपा ३७
संघीय समाजवादी फोरम १५
फोरम लोकतान्त्रिक १४
तमलोपा ११
सद्धभावना ५
नेकपा माले ५
नेमकिपा ४
तमसपा ३
राष्ट्रिय जनमोर्चा ३
नेकपा संयुक्त ३
रामसपा ३
जनमुक्ति पार्टी लोकतान्त्रिक २
नेपाल परिवार दल २
थरुहट तराई पार्टी २
मधेस समता पार्टी १
नेपाः राष्ट्रिय पार्टी १
बहुजन शक्ति पार्टी १
अखण्ड नेपाल पार्टी १
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट १
खम्बुवान राष्ट्रिय पार्टी १
नेपाली जनता दल १
फोरम गणतान्त्रिक १
संघीय सद्धभावना पार्टी १
जनजागरण पार्टी १
नेपाल सद्भावना पार्टी १
दलित जनजाति पार्टी १
स्वतन्त्र १ 
जम्मा ५९४

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.