|

चितवन : राष्ट्रपतिले निष्पक्ष भूमिका निर्वाह नगरेको, दलगत आग्रहबाट प्रभावित भएको राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शम्शेर जबराले आरोप लगाएका छन्।

‘राष्ट्र प्रमुखले कुनै पक्ष लिन पाइन्न। दशैंमा टिका लगाउँदा नागरिकलाई घुँडा टेकाउन पाइन्न। दल विशेष प्राथमिकता दिन पाइन्न। बहुदलीय प्रजातन्त्रमा राष्ट्रपति निष्पक्ष नरहेको कारण राष्ट्र प्रमुखका लागि, त्यही पुरानो संस्था, राजसंस्थामा फर्काउनु पर्छ भन्ने हामीलाई लागेको छ’, अध्यक्ष राणाले भने। चितवन कार्य समितिले नारायणघाटमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राणाले संविधान प्रति केही असहमति रहेको स्पष्ट पारे।

राप्रपा (संयुक्त) ले सनातन हिन्दु राष्ट्रको सडक तताउने अध्यक्ष राणाले घोषणा गरे। हिन्दु राष्ट्रको आन्दोलनका लागि वडा तहसम्म संगठन दुरुस्त राखेर तयार रहन कार्यकर्तालाई निर्देशन दिए। राप्रपा (संयुक्त) मूलधार राप्रपा भएको र यसमा सम्पूर्ण राष्ट्रवादीहरु समाहित हुने अध्यक्ष राणाले उद्घोष गरे। राणाले भने, ‘एकता प्रक्रियाले अझ बृहत आकार ग्रहण गर्नेछ। यसमा अझ बढी चरणवद्ध रुपमा राष्ट्रवादी समावेश हुनेछन्। राप्रपाको मूलधार राप्रपा (संयुक्त) नै हो। यो एकजुट भएको पार्टी अब कहिले फुट्ने छैन।’

राप्रपा (संयुक्त) का अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकार पाँच हजार वर्षको सभ्यता मास्न लागी परेको आरोप लगाए।  ‘नेकपा सरकार, प्रधानमन्त्रीलाई होली वाइन खान फुर्सद छ। तर अश्वमेघ यज्ञमा सहभागी हुन प्रधानमन्त्री, राष्ट्रपति कसैलाई फुर्सद भएन। गरिवी र अशिक्षाको आडमा धर्म निरेपक्षको शासनकालमा धर्म परिवर्तन गरेर नेपाली सभ्यता, हिन्दु, बौद्ध सभ्यता मास्ने क्रम जारी छ। यसमा वर्तमान सरकारले नेतृत्व गरेको छ’, डा. लोहनीले भने।

हिन्दु राष्ट्रको पहिचान पुन:स्थापनाको आवश्यकतामा सबै धर्मको सम्मान कायम रहने, कुनै धर्मको अवमूल्यन नहुने लोहनीले स्पष्ट पारे। लोहनीले संवैधानिक राजसंस्था मान्दैमा पच्छगामी नहुने विचार प्रस्तुत गरे।

सम्बोधनकै क्रममा अध्यक्ष लोहनीले भने, ‘संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र अनुसरण गर्दा पच्छगामी हुने हो भने, प्रगतिशील भन्ने साथीहरुलाई मेरो प्रश्न छ, के त्यसो भए बेलायत, जापान, नर्वे, स्वीडेन र अष्ट्रेलियाहरू पच्छगामी हुन् त?’

संवैधानिक राजसंस्था र सर्वधर्म सापेक्ष सनातन हिन्दु राष्ट्र प्रति राप्रपा (संयुक्त) कटिवद्ध रहेको लोहनीले प्रष्ट गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.