|

काठमाडौं : सिद्धकाली चोक भक्तपुर। बुधबार बिहान ९ बजे। दुई बच्चा विद्यालय हिड्ने तयारीमा थिए। बच्चाहरूलाई सुशील थापाको घर थाहा छ? मैले सोधें। उनीहरूले सुशील थापा भनेकै मेरो बुबा हो भनेर जवाफ दिए। जसलाई म खोज्दै त्यहाँ पुगेको थिएँ। उनकै सन्तान भेटेपछि उनलाई सोधें, 'कहाँ जान लागेको? उनीहरूले भने, 'स्कुल।'

पढेर के बन्ने? यो प्रश्न सोधेपछि बच्चाले भने, 'समाजसेवी।' समाजसेवी भनेको थाहा छ? यो प्रश्न सुनेको ती बच्चाले कपाल मिलाउँदै भने, 'अर्कालाई सहयोग गर्ने।' अरू नबोली उनले बैनिको हात समातेर विद्यालय लागे। म उनीहरूको बुबाआमा भेट्न उनीहरूको डेरा तिर लागेँ। सुशील खाना खाएर आराम गर्दै थिए। उनकी पत्नी कपडा मिलाउँदै थिइन्।

सुशील दिनभर धुप बेच्न शहरका गल्ली चहार्छन्। पहिले कमाई राम्रै हुन्थ्यो अचेल धेरै दृष्टिविहीनहरूको दैनिकी नै धुप बेच्ने भएकोले व्यापार शुन्य प्राय छ। भन्छन्, 'कहिलेकाहीँ गाडीभाडा समेत उठ्दैन। कहिलेकाहीँ ५ सय कमाई हुन्छ। त्यो दिन संसारको सबैभन्दा धनी म हुँ भन्ने लाग्छ।'

'कहिलेकाहीँ गाडीभाडा समेत उठ्दैन। कहिलेकाहीँ ५ सय कमाई हुन्छ। त्यो दिन संसारको सबैभन्दा धनी म हुँ भन्ने लाग्छ।'

टाइफाइड बिग्रेर सानैमा दृष्टिविहीन हुन पुगेका थापाको स्थायी घर अछाम हो। ११ वर्ष अघि काठमाडौ आए उनी। बुबाको मृत्युले गर्दा दश कक्षा भन्दा धेरै पढ्न पाएनन्। दृस्टिविहीनहरूलाई जीवनयापनमा सहज होस् भनेर तालिम दिने व्यवस्था काठमाडौंमा हुन्छ भनेर आएको बताउँछन् उनी।

छ महिना तालिम लिए। त्यस अवधिमा खान लाउनको कुनै अभाव भएन। तालिम केन्द्रले सम्पूर्ण खर्च व्यहोर्थ्यो। त्यसपश्चात  उनी तालिमकेन्द्रबाट विदा भए। तर जाने कहाँ? उनलाई केही अत्तोपत्तो थिएन। आर्थिक विपन्नताले गर्दा घरबाट सहायता पाउने सम्भावना थिएन। परजीवी भएर बाँच्न उनको मनले रोक्यो। काठमाडौंमा नै संघर्ष गर्ने उच्च मनोवलले काम खोज्न थाले।

 तर दृष्टिविहिन भएका व्यक्तिलाई कसैले काम दिएनन्। उनी भन्छन्, 'बालुवा चाल्ने, इट्टा पखाल्ने काम पाउन पाए पनि इमान्दारीका साथ गर्ने थिएँ।' तर काम दिने मान्छे आजका मितिसम्म पाएका छैनन् उनले।

उनी झमझम पानी परिरहेको एक साँझ रत्नपार्कमा छेउमा थिए। काठमाडौंसँग त्यति अभ्यस्त नभएका उनी रूझेर बसे। कसैले पनि उनलाई प्रतिक्षालयमा लगेनन्। एक जना सेनाका जवान आए। उनलाई जवानले छाउनी लगेर ६ दिन राखे। धनगढीबाट उपचारका लागि छाउनी आएका सेनाका जवानले उनको हातमा ८ हजार थमाइदिए। एक जोर कपडा किनिदिए। उपचार पश्चात धनगढी लागे। उनी भन्छन्, 'एकचोटी ति मान्छेलाई हेर्ने चाहना छ।'

हातमा ८ हजार भएपछि उनले बानियाँटारमा डेरा लिए। अरू काम केही गर्न नसकेपछि उनले चार वटा कुखुराको चल्ला पाले। चार वटै चल्ला एकै पटक मरे। कुखुरा मरेपछि कुखुरा पाल्ने रहर पनि मर्‍यो। देख्न सक्ने भए जसोतसो काम पाउँथे होला। तर उनका लागि दृष्टिविहीन आँखा मुख्य कारक बनिदियो।  हरेक अवसरहरूका ढोकाहरू आँखाले बन्द गराइदियो। 

परजीवी भएर बाँच्नुपरेको पीडाले उनको दैनिकी कष्टकर बनेको छ।आफ्नो कारूणिक जीवनभन्दा पनि आफ्ना सन्तानको भविष्यले चिन्तित छन् उनी। उनका दुई छोराछोरी नजिकैको प्राइभेट विद्यालयमा पढ्छन्।  आफ्नो सन्तानलाई डाक्टर पाइलट बनाउने लक्ष्य राखेका छैनन् उनले। बस्, समाजसेवि बनिदिएर आफू जस्तै बेसहारालाई सहयोग गरिदिए पुग्छ भनिठान्छन्। ३२ वर्षको उमेर पार गर्दै गरेका सुशील भन्छन्, 'छोराछोरीको लागि सक्दो मिहिनेत गरकै छु। तर मिहिनेतले दैनिक गुजारा चल्न सकेको छैन भने उनीहरूलाई उचित शिक्षा कसरी दिन सक्छु र मैले?' तर उनीहरूको लागि आफू जे गर्न पनि तयार रहेको बताउँछन्।

सोच्छन‍्, 'दुनियाँ साह्रै सुन्दर रहेछ। कहिलेकाहीँ हेपाइ पाउँछन् उनले। सोच्छन्, 'दुनियाँ साच्चै कुरूप छ।' सुन्दर र कुरूपले मिश्रित यो दुनियाँलाई कुनै दिन देख्न पाउँछु कि भन्ने आश भने बाँकी छ उनमा।

अभाव, दु:खबाट उनी हारेका छैनन् तर दृष्टिविहीन भएको कारण उनले संसार हेर्न पाएका छैनन्। संघर्षै संघर्षबाट पनि जीवनस्तर सुधार हुन नसकेपछि छोराछोरीलाई पढाउन आफूसँग एउटै विकल्प रहेको बताउँछन् उनी। भन्छन्, 'एउटै मृर्गौलाले पनि दश पन्ध्र वर्ष बाँचिन्छ रे। शहरमा मिर्गौला बेच्न पाइन्छ भन्ने सुनेको छु। सन्तानको उज्जवल भविष्यको लागि मिर्गौला बेच्ने साेँचेको छु।' उनको यस्तो अभिव्यक्ति सुनेपछी उनकी श्रीमतीले आँशु बगाइन्। अफसोच  ती आँशु भित्रको चित्कार सुन्ने कोहि छैन।

राज्यले पनि उनीहरूलाई केही गरेको छैन। राज्यले उनीहरूलाई एक भोटका लागि नागरिक सम्झेको छ। भन्छन्, 'सरकारका मान्छेलाई नै खान पुगेको छैन। हामीलाई के दिन्थे?' कहिलेकाहीँ सहयोग गर्ने हात पाउँछन् उनले। सोच्छन‍्, 'दुनियाँ साह्रै सुन्दर रहेछ। कहिलेकाहीँ हेपाइ पाउँछन् उनले। सोच्छन्, 'दुनियाँ साच्चै कुरूप छ।' सुन्दर र कुरूपले मिश्रित यो दुनियाँलाई कुनै दिन देख्न पाउँछु कि भन्ने आश भने बाँकी छ उनमा।

आफन्तको नजरबाट अपहेलित बने उनी। एकदिन गाउँमा हिड्दै गर्दा नजिकका आफन्तले भनेको सुने उनले, 'बरू मरे पनि हुने।' कमजोर आँखा थियो। त्यसदिन उनलाई लाग्यो कान पनि सुन्ने नभइदिएको भए हुने भन्ने लाग्यो। तर आफन्तको उक्त अमानविय तर्क सुनेपछि उनलाई आफ्नै मान्छे विराना लागे।

राज्यले एक भोटका लागि नागरिक सम्झेको, आफन्तको नजरमा निरस जिन्दगी बाँचेको र समाजको नजरमा दृष्टिविहीन असहाय रहेका  थापाको जिन्दगीमा जिवनसाथी बनेर आइपुगिन् सुनिता थापा। सुनिताको घर सिन्धुपाल्चोकमा पर्छ। उनी आँखा अलिअलि देख्छिन्।

कसरी भेट भयो उनीहरूको?

सुनिता पनि तालिमको लागि काठमाडौं आएकी थिइन २०६४ तिर। उनले हार्मोनियम, गायन सिकिन्। नौ महिनाको तालिम पश्चात उनी जस्तै अर्की साथीको आँखाको शल्यक्रिया भयो। ती साथीको शल्यक्रिया पश्चात सुनितासँगको भेटघाट हुन सकेन। शहरमा सुनिता एक्लि बनिन्। शहरमा उनको नजिकका कोही नभएपछि गाउँ फर्किन्। गाउँ फर्के पनि कमजोर आँखाले दैनिक जीवनयापन गर्न सहज हुन सकेन्।

गाउँमा पनि असहज लाग्न थाल्यो। एकदिन कोहीबाट उनले सुशीलको नम्बर पाइन्। त्यसबेला सुशील उनी जस्तै व्यक्तिहरूका लागि काम खोजिदिने गर्दथे। सुनिताले फोन गरेपछि सुशीलले भनेछन्, 'काठमाडौं आउनु बैनी धुप बेच्ने काम पाइन्छ।' उनी काठमाडौं आइन्। सुशीलको सोझो व्यवहार, मिजासिलो बोली, सहयोगी भावनाले सुनिताको दिलमा डेरा जमायो।

बाक्लिएको भेटघाटले  नयाँ मोड लियो। भेट भएको एक महिना नबित्दै दुवैले वि.सं २०६८ सालमा घरजम गरे। सुनिता भन्छिन्, 'पाँच रूपैयाँमा विवाह भयो हाम्रो।' ७ वर्षदेखि जिन्दगीका उकाला खुड्किला  मात्र हिडेका उनीहरूहरूका लागि बिसाउने चौतारी आइपुगेको छैन।

कुनै दिन बिसाउने चौतारी भेटिइ पो हालिन्छ कि भन्ने आशमा छन् दुवै। सुनिता भन्छिन्, 'अचेल त समय पनि अलि छिटो चलिदिए पनि हुन्थ्यो भन्ने लाग्छ। कारण एउटै छ छोराछोरी ठूला हुन्छन्।' यी दम्पत्तीको जिन्दगीमा खासै ठूलो सपना छैन। छोराछोरी छिट्टै ठूलो भएको महसुस गर्न मन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.