अराजक गतिविधि निस्तेज पार्छौं : बाँस्कोटा

|

दैलेख : जिल्लाका ११ वटै स्थानीय सरकार प्रमुखहरूसँग जिल्ला सुरक्षा समितिले संयुक्त बैठक गरेको छ। विप्लव समूहको चन्दा र राजीनामा दिने धम्कीको बारेमा कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशबिक्रम शाहसँग स्थानीय सरकारका प्रमुखहरूले सुरक्षा चुनौतीको कुरा उठाएपछि जिल्ला सुरक्षा समितिले आपतकालीन बैठक राखेको हो। बुधबार जिल्ला प्रशासन कार्यालय दैलेखमा भएको संयुक्त बैठमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी र अनुसन्धान प्रमुखको उपस्थिति रहेको थियो। 

दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख उपप्रमुखलगायत वडा अध्यक्ष सम्मलाई पदबाट राजीनामा दिन पत्राचार गरेर चन्दाको चिठी पठाएर धम्की दिएको समाचार थाहा खवरमा प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले दैलेखका ११ वटै स्थानीय तहका प्रमुख उप–प्रमुखलाई बोलाएर बैठक गरेका हुन्।

विप्लवसँग सुरक्षा चुनौती देखिएको दैलेखका स्थानीय सरकारको गुनासो 

बैठकपछि प्रजिअ बाँस्कोटाले शान्ति सुरक्षाको व्‍यवस्था गर्न दैलेखको सुरक्षा समिति तयार रहेको बताए। यस्ता गतिविधिका बारेमा तत्काल स्थानीय सुरक्षा पदाधिकारीहरुसँग समन्वय गरेर अगाडि बढ्न पनि उनले स्थानीय तहका प्रमुखहरुलाई सुझाव दिएका छन्।

उनले भने, 'तपाईंहरु ढुक्क भएर काम गर्नुहोस, अराजक गतविधिका बारेमा शंका लागे सुरक्षा निकायमा खवर गर्नुस्।'  चन्दा दिने र लिने दुवै शत्रु भएकाले त्यस्तो भएको भेटिएमा लिने दिने दुवैलाई कारबाही प्रक्रिया अगाडि बढाइने बास्कोटाले बताएका छन्।

स्थानीय सरकार प्रमुखहरुले आफूहरु जनताबाट निर्वाचित भएकोले जनताको भावनाअनुसार विकासका कामहरु गर्ने र राज्यको शासन प्रर्णालीविपरीत काम गर्ने कसैलाई पनि चन्दा वा अर्को नाममा सहयोग नगर्ने बताएका छन्। संविधानमा सबै अधिकार प्राप्त भइसकेपछि संविधानविपरीत कार्य गर्ने कसैलाई सहयोग नगर्न आफुहरुले कार्यपालिका बैठकमा कुरा उठाउने र स्थानीय र जिल्लाका सुरक्षा निकायहरु सँग समन्वय गरेर अगाडि बढ्ने बताए।

दैलेखका प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेलले विप्लवका कार्यकर्ताहरुको सबै गतिविधिहरुलाई जिल्ला सुरक्षा समितिले गहिरो गरी अनुसन्धान गरिरहेको बताए। कुनै पनि स्थानमा अराजक गतिविधिहरु हुन नदिन प्रहरी सूक्ष्म रुपमा परिचालन भएको उनको भनाइ छ। बैठकमा अन्य विभिन्न सुरक्षा रणनीतिबारे छलफल भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.