|

पाल्पा : लुम्बिनी मेडिकल कलेज प्रभासमा निःशुल्क हेमोडाइलाइसिस सेवा सुचारु भएको छ। विश्व मिर्गौला दिवसको अवसर पारेर बिहीबार हेमोडाइलाइसिस सेवाको शुभारम्भ गरिएको हो।

लुम्बिनी मेडिकल कलेज, आरोग्य फाउण्डेश ललितपुर र रोटरी क्लव अफ पाल्पाको संयुक्त पहलमा मिर्गौला डाइलाइसिस सेवा संचालन गरिएका कलेज संचालक समितिका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले बताए। उनका अनुसार विभिन्न अस्पतालमा नियमित रूपमा डाइलाइसिस सेवा लिइरहेका नियमित बिरामीहरूले आवश्यक प्रक्रिया पुरा गरी आएमा उनीहरूको निःशुल्क डाइलाइसिस गरिने छ। एक करोडको लागतमा संचालन गरिएको हेमोडाइलाइसिस सेवाको लागि अष्ट्रेलियन राजदूतावासबाट तीनवटा मेशिन उपलब्ध भएको अध्यक्ष पोखरेलले बताए। उनले भने 'पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, अर्घाखाँची, पर्वतलगायत जिल्लाका नागरिक यो सेवाबाट लाभान्वीत हुनेछन्।'

डाक्टर तिलाचन पाण्डेले डाइलाइसिस सेवाका लागि यहाँ दक्ष, योग्य चिकित्सक रहेको  बताए। नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले महँगो खर्च गरेर डाइलाइसिस गर्न जानुपर्ने मिर्गौला पीडितको लागि ठूलो राहत मिल्ने बताए। गुणस्तरीय सेवा दिएर विरामी जीवन बचाउन चिकित्सकलाई सुझाव समेत दिए।

बिहीबार डाइलाइसिस गर्न आएका माथागढी–३ पाल्पाका इन्द्र बहादुर सारुले भैरहवा पुगेर डाइलाइसिस गर्दा बढी खर्च हुने गरेकोले अब घरबाट एक घण्टामै आएर निःशुल्क डाइलाइसिस गर्न पाएकोमा खुसी लागेको बताए।

'बिरामी अवस्थामा डाइलाइसिस गर्न टाढा जानुपर्ने बाध्यता थियो', अर्का मिर्गौला पीडित रम्भा गाउँपालिका–हुमिनका रामबहादुर कुवँरले भने, 'यो सेवा नजिक पाउँदा मजस्ता अन्य मृगौला पीडितको लागि पनि सहज हुनेभयो।'

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.