|

इलाम : मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको जितसँगै इलाममा जारी माईभ्याली गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। काँकडभिट्टाले विभागीय टिम त्रिुभवन आर्मी क्लबलाई टाइव्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेसँगै सेमिफाइनल भिडने टिम पक्का भएको हो।

सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी पराजित बन्यो। खेलको ५७ औँ मिनेटमा आर्मीले अग्रता कायम गरेको थियो। जितेन्द्र कार्कीले ३० यार्ड वक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लागेर जाली चुमेपछि आर्मीले अग्रता बनाएको हो। ८५ औ मिनेटमा आर्मी गोल खान पुग्यो। भिक्टर एमोबीलाई आर्मीका खेलाडीले फाउल गरेपछि काँकडभिट्टाले फ्रिकिक पाएको थियो। योगेश गुरुङको प्रहारलाई विकाश थुलुङ राईले दायाबार च्याप्दै गोल गरेर खेल बराबरीमा ल्याए।

निर्धारित ९० मिनेटमा दुवै टिमबाट १–१ गोल भएपछि १५ मिनेट थपिएको थियो। अतिरिक्त समयमा दुवै टिमबाट गोल नभएपछि निर्णय टाइव्रेकरबाट गरिएको हो। टाइव्रेकरमा झापाका विक्रम लिम्बू, योगेश गुरुङ, मिलन राई र विशाल राईले गोल गरे भने भिक्टर एमोवीको प्रहार गोलरक्षक विवश चौधरीले रोकेका थिए। आर्मीका रुपेश क्षेत्री, विकास तामाङ र दीपकुमार लामाको प्रहारले जाली चुम्दा युद्ध शाही र विवेक बस्नेतको प्रहार गोलरक्षक दिनेश थापा मगरले बचाएका थिए। टाइव्रेकरमा जित दिलाएका गोलरक्षक थापा म्यान अफ दि म्याच घोषित भए। उनले नगद १० हजार प्राप्त गरे। दुवै टिमका खेलाडीहरूमा फिनिसिङ नहुँदा खेल टाइव्रेकरसम्म पुग्यो।

पहिलो हाफमा जितेन्द्र कार्कीको फ्रिकिकमा कप्तान टेकबहादुर बुढाथोकीको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो। काँकडभिट्टाका भिक्टोरले पेनाल्टी एरिया नजिकै पाएको बललाई जाली चुमाउन सकेनन्। भिक्टोरको क्रसमा फ्रान्सिसले गोल गर्न सकेनन्। फ्रान्सिसले पेनाल्टी एरिया नजिकै दिएको क्रसलाई भिक्टरले पोष्ट भन्दा निक्कैमाथि प्रहार गरे। दोश्रो हाफमा आर्मीले पोष्ट आक्रमण बढी बुनेको थियो। विवेक बस्नेतको क्रसमा सुदिल राईको हेडर प्रहार बारमा लागेर बाहिएिको थियो। त्यसलगतै आर्मीका गोलरक्षक विवश चौधरीको हातबाट फुत्किएको बललाई विक्रम लिम्बुले जाली चुमाउन सकेनन्।

खेलपछि प्रतिक्रिया दिँदै आर्मीका प्रशिक्षक चुनबहादुर थापाले नियमति टिम सेटका ८ जना खेलाडी राष्ट्रिय टिमको क्लोज क्याम्पमा रहेको कारण पराजित हुनु परेको बताए। उनले खेलमा विपक्षीलाई दबाबमा राखे पनि स्कोर हुन नसक्दा अपेक्षा अनुरुप खेल नभएको बताए। ‘गलत मार्किङका कारण खेलको अन्त्यमा गोल खान पुग्यौँ। त्यही कारण पनि हार्नुपर्‍यो।’ स्टाइकर लाइनमा रहेका २ जना अफ्रिकी खेलाडीहरुको कारण आर्मी दबाबमा परेको थापाले बताए।

यता काँकडभिट्टाका प्रशिक्षक मिन बस्नेतले पाएका आधा दर्जन अबसरहरु सदुपयोग हुन नसकेको बताए । उनले विपक्षी टिमको गलत मार्किङको फाइदा उठाएकाले जित निस्किएको बताए। भाग्यले नभइ प्रतिस्पर्धाबाट जित निस्किएको बताए। 

शनिबार क्यामरुनी टोली दाफिन्सले विभागीय टिम नेपाल पुलिस क्लबको सामना गर्नेछ। आर्मीलाई हराएको काँकडभिट्टाले फाइनल प्रवेशका लागी हिमालयन शेर्पाको सामना गर्नेछ। जारी सिजनमा आर्मीले इटहरीमा सम्पन्न मदन भण्डारी गोल्डकपको सेमीफाइनलमा काँकडभिट्टालाई ४–१ ले हराएको थियो। आर्मीले विशाल मेमोरियल गोल्डकप, इटहरी गोल्डकप र झापा गोल्डकपको उपाधी जितेको थियो। भने काँकडभिट्टा खप्तड गोल्डकप र इटहरीमा सेमीफाइनल पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.