भाइ र छोरा समिति अध्यक्ष, श्रीमान र सालो डोजर सञ्चालक

|

सुर्खेत : नेपाली समाजमा एउटा उखान प्रचलनमा छ, ‘जसले मह काट्छ, उसैले हात चाट्छ।’ उसो त नेपालको  हरेक क्षेत्रमा यो उखान मिल्छ। पछिल्लो चरणमा  भने यो उखान स्थानीय सरकारका प्रायः जनप्रतिनिधिसँग मेल खाने गरेको छ। अहिले आफैँले बजेट विनियोजन गरेर जनप्रतिनिधिले काम पनि आफैँ गर्ने गरेको देखिएको छ। स्थानीय तहमा जनप्रतिनिधिहरुको विकासे बजेटमा हालिमुहाली गर्ने गरेका छन्। स्थानीय सरकार अधिकार सम्पन्न भएर नयाँ संरचनामा गए पनि स्थानीय सरकारका जनप्रतिनिधिहरुको विकासे बजेटमा पुरानै रवैया देखिएको छ।

सुर्खेतको चिङगाड गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले विकासे बजेटमा आफ्ना नजिकका नातेदार अझै एकाघरका परिवारका सदस्यलाई विकास बजेट परिचालन गर्न दिएका छन्। गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्द र उपाध्यक्ष मनमाया आचार्यले गाउँपालिका भित्रका सडक खन्ने काममा आफ्ना नजिकका मान्छेलाई काम दिएका हुन्।

स्थानीय सरकारमा भ्रष्टचार नहोस भनेर स्थानीय तहका वडा स्तर सम्मका जनप्रतिनिधिहरुलाई संविधानमै पारीश्रमीकको व्यवस्था गरे पनि स्थानीय सरकारका जनप्रतिनिधिहरुको मनपरी रोकिन सकेको छैन। संघीयता कार्यान्वयन भई तीन तहका सरकार गठनपश्चात् पनि नेता र जनप्रतिनिधिका आसेपासे नातागोता र नजिककाहरुको विकासे बजेटमा हालीमुहाली हुने गरेको छ।

अध्यक्षका भाइ र छोरा उपभोक्ता समितिमा अध्यक्ष

सुर्खेत र दैलेखाको सिमानामा पर्ने धरमपोखरादेखि सुर्खेतको चिङगाड गाउँपालिकाको मटेला ठाँटी सडक खण्डमा कच्ची सडक स्तरोन्नतिका लागि अध्यक्ष चन्दले आफ्नै भाई सर्वजित चन्दलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर काम गराएका छन्। धरमपापेखराको चाँदनी चोकबाट ठाँटीसम्मको कच्ची सडकको स्तरोन्नति गर्न गाउँपालिकाका अध्यक्षका भाइलाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको हो। उक्त योजनाको लागत बजेट ५० लाख रहेको  थियो।

यस्तै, चिङगाड गाउँपालिकाको वडा नम्बर ३ को स्थानीय निगालखोलीदेखि जाजरकोटको सीमामा पर्ने चिउदुवासम्मको सडकको ट्रयाक खोल्नको लागि गाउँपालिकका अध्यक्षका छोरा गोकुलबहादुर चन्दले उपभोक्ता समितिको अध्यक्ष भएर काम गरेका छन्।

२० लाख लागत बजेट रहेको सो सडक योजनाबाट उपभोक्ता समितिले राम्रो फाइदा निकालेको नाम नबताउने सर्तमा एक स्थानीयले बताए। ‘जाजरकोटबाट दीपकजंग शाह सांसद भएको बेला सांसद विकास कोषबाट मान्छेले खनेको ४ मिटर चौडाई भएको आधा किलोमीटर भन्दा बढी लामो बाटोमा डोजर चलाईएको छ,’ ती स्थानीयले भने ‘उपभोक्ता समितिले राम्रो पैसा बचत गरेको हामीले सुनेका छौं।’

 डोजर मालिक उपाध्यक्ष

गाउँपालिकाका उपाध्यक्ष मनमाया आचार्यका आफन्तको पनि विकासे बजेटमा हालिमुहाली देखिएको छ। उपाध्यक्षका श्रीमान भक्त बहादुर आरसीले गाउँपालिका भित्रका विकासे आयोजनामा  दुईवटा डोजरले काम गरिरहेका छन्।

सुर्खेतको चिङ्गाड गाउँपालिकाको वडा नम्बर ५को अवलचिङ्ग र वडा नम्बर १ को रजेनामा आरसीका डोजरले काम गरिरहेका हुन्। उपाध्यक्ष आचार्यका श्रीमान आरसी  सुर्खेतका डोजरका साथै होटल व्यवसायी पनि हुन्। 

यस्तै गाँउपालिकाका अध्यक्ष देवबहादुर चन्दका छोरा गोकुल बहादुर चन्द उपभोक्ता समितिको अध्यक्ष भएको निगालपानीदेखि चिउदुवा सम्मको सडक खन्नका लागि देवबहादुर चन्दका कान्छी श्रीमती तर्फका साला डोरप्रसाद शर्माको मातहतमा डोजर प्रयोग गरेका छन्। गोकुलबहादुर चन्द गाउँपालिकाका अध्यक्षका जेठी श्रीमती तर्फका जेठा छोरा हुन्।

एक करोडभन्दा साना आयोजनामा डोजर

संघीय सरकारले एक करोड भन्दा कम बजेटमा विकासे योजनामा डोजर प्रयोग गर्न नपाउने मानिसले नै खन्ने भनेर निर्णय गरे पनि सुर्खेतको चिङ्गाड गाँउपालिकामा एक करोड भन्दा कम आयोजनामा पनि डोजर प्रयोग नै गरिएको छ  चिङ्गाड गाँउपालिकाले ५० लाखभन्दा बढी बजेट भएका योजना नै बनाएको छैन।

गाँउपालिकाका अध्यक्षका भाइले उपभोक्ता समितिको अध्यक्ष भएर काम गरेको योजनामा ५० लाख र छोरा गोकुल अध्यक्ष भएर काम गरेको योजनामा २० लाख बजेट छुटटाईएको थियो।

यस्तै अहिले गाँउपालिकाका उपाध्यक्ष आचार्यका श्रीमान भक्त बहादुर आरसीका डोजरले काम गरिरहेको सडक योजना पनि ३० लाखका हुन्।    गाउँपालिकाका सुचना अधिकारी पदम जिसीले संघबाट आधिकारीक परिपत्र नआएको र रोजगार संयोजक नभएको अवस्थामा डोजर चलाउनु परेको जानकारी दिए। उनले भने ‘अब अर्को आर्थिक वर्षबाट त्यो लागु होला।’

डोजर चलाउने प्रतिस्पर्धा

चिङ्गाड गाँउपालिकाका अध्यक्षका साला डोरप्रसाद शर्मा र उपाध्यक्षका श्रीमान भक्तबहादुर आरसीका फरक-फरक डोजर रहेका छन्। पटक पटक बाटो खन्ने कामका लागि उनीहरुबीच हानाथाप र विवाद पनि हदै आएको छ। जसले गर्दा गाँउपालिकाका अध्यक्ष र उपाध्यक्ष बिच मनमुटाव पनि रहदै आएको गाउँपालिकाकै एक जनप्रतिनिधिले बताए।

योभन्दा अघि गाँउपालिका कै वडा नम्बर ६ पाम्कामा अध्यक्ष समुहका डोजर संचालक डोरप्रसाद शर्मा र भरत डाङ्गीले खनीरहेको सडकमा उपाध्यक्षका श्रीमान बाटोमा रुखहरु मासिएको भन्दै मुद्दा सम्म हालेका थिए। पछि उनिहरु विच आधा आधा काम गर्ने सहमतीमा काम सुचारु भएको थियो। 

गुणस्तर र परिणाम मुख्य कुरा हो : अध्यक्ष

यता चिङ्गाड गाँउपालिकाका अध्यक्ष देवबहादुर चन्दले गुणस्तर र परिणाम मुख्य कुरा भएको बताए। ‘हामीले क्वालिटी र क्वान्टिटी कस्तो छ हेर्ने हो,’ चन्दले भने ‘को अध्यक्ष भयो र कसको डोजर लाग्यो त्यो ठूलो कुरा होइन, लक्ष्यअनुसार काम नभए गाँउपालिकाले भुत्तानी दिँदैन।’

अध्यक्ष चन्दले थपे, ‘उपभोक्ता समिति बनाउन म गएको होइन, उपभोक्ता आफैँले सम्बन्धित वडा अध्यक्षको सहभागितामा उपभोक्ता समिति गठन गरेका हुन्, डोजर सबैले चलाएका छन्, ज-जसले जता सम्बन्ध बनाए, उतै तिरबाट डोजर चलाएका छन्, यही डोजर हुनुपर्छ भन्ने केही छैन्।’ उपाध्यक्षसँग भने सम्पर्क हुन सकेन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.