|

काठमाडौः पशुपति मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि काठमाडौं महानगरपालिकाले स्मार्ट शौचालय निर्माण गर्ने भएको छ। महानगरले जापानकाे सहयोगमा काठमाडौंमा शाैचालय निर्माण गर्न लागेको हो।

महानगरपालिकाले शौचालयसँगै सेनेटरी प्याड, पानी, बत्ती, साबुनको व्यवस्थासहित स्वचालित उपकरणयुक्त्त शौचालय बनाउन लागेको हो। महानगरले महानगरपालिका भित्रका सबै सम्पदा क्षेत्रमा यस्ता शौचालय निर्माण गर्न लागेको हो। पशुपतिलगायत महानगरका विभिन्न सम्पदाहरू स्वयम्भु, हनुमानढोका, बौद्ध क्षेत्र लगायतमा स्मार्ट शौचालय निर्माण गर्न लागिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीको संयोजकत्वमा बनेको समितिको प्रतिवेदनअनुसार ५९ नयाँ शाैचालय बनाउने र ५८ वटा पुराना शौचालयलाई व्यवस्थित गर्ने गरी काम अघि बढेको हो। स्मार्ट शौचालय आधुनिक सहरको झल्को दिने खालको हुनेछ। हाल सहरमा व्याप्त पानीको अभाव, दुर्गन्धित र अँध्यारा शौचालयलाई विस्थापित गरी स्मार्ट शौचालय निर्माण गरी सभ्य सहरको परिचय दिन लागिएको हो। महिला,अशक्त तथा अपाङ्गमैत्री शौचालय हुने प्रवक्ता डंगोल बताउँछन्।

काठमाडौं शहरमा सार्वजनिक शौचालयको अभाव छ। शौचालय भए पनि पानी पर्याप्त नभएकोले शौच गर्न समस्या भइरहेको छ। महानगरपालिका उपमेयर खड्गीले यस्ता समस्या भएको कारणले विशेषगरी महिलालाई शौच गर्न धेरै समस्या हुने गरेको बताइन्। 'महानगरको यो कामले राजधानीबासीलाई धेरै सहज बनाउने छ’ उनले भनिन्। राजधानीमा सु-व्यवस्थित शौचालय नहुनु लाजको कुरा भएको पनि उनले बताइन्। अब भने स्मार्ट शौचालय बनेपछि राजधानीबासी र आन्तरिक पर्यटक तथा बाह्य पर्यटकलाई सहज हुने उनले बताइन्।

स्मार्ट शौचालय महानगरको शुन्य लागतमा निर्माण हुँदैछ। महानगरपालिकाले संयोजन मात्र गर्ने प्रवक्ता डंगोलले बताए। स्मार्ट शौचालय निर्माण गर्न जाइकाले चासो देखाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.